पाँचौं ढोरपाटन राष्ट्रिय भलिबल प्रतियोगिताकाे उपाधि एपीएफलाई

 असोज ६, २०७५ शनिबार १९:२:६ | उज्यालो सहकर्मी

काठमाडाैं - गोंगबुमा रहेकाे ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार सम्पन्न फाइनलमा एपीएफले गण्डकी प्रदेशको टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

गण्डकीविरुद्ध सहज जित निकाल्ने क्रममा एपीएफले २५–१९, २५–१६ र २५–१७ को सेटमा जित हात पारेको थियो ।

अन्य दुई विभागीय टोलीले सहभागिता नजनाएको प्रतियोगितामा एपीएफ एक्लो दाबेदारको रुपमा रहेको थियो र फाइनलमा उसले त्यही अनुसारको खेल प्रदर्शन गरेको थियो ।

शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा आयोजक ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई गीताञ्जली कलेजले पराजित गरेको छ । गीताञ्जलीले २५–२२, ३०–२८ र २५–१५ को कठिन सेटमा आयोजक टोलीलाई पराजित गरेको हो ।

उपाधिसँगै एपीएफले १ लाख नगद पुरस्कार पाएको छ भने उपविजेता गण्डकीले ६० हजार र तेस्रो भएको गीताञ्जलीले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ ।

प्रतियोगिताको बिधातर्फ एपीएफका खेलाडीको बर्चस्व रह्यो । उत्कृष्ट खेलाडीसहित पाँच बिधामा एपीएफका खेलाडीहरु उत्कृष्ट रहे ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी महेन्द्र श्रेष्ठ चुनिए भने उत्कृष्ट सेटर एपीएफकै दिनेश गिरी, उत्कृष्ट स्पाइकर एपीएफका टेकराज अवस्थी, उत्कृष्ट क्वीकर र प्रशिक्षकमा एपीएफकै क्रमश: बलीराम चौधरी र ज्ञानेन्द्र बिष्ट चुनिए ।

यस्तै उत्कृष्ट सर्भर गीताञ्जलीका दौलत सिंह, उत्कृष्ट डिफेन्स गण्डकीका राजन दर्लामी मगर र उत्कृष्ट ब्लकर गण्डकीकै हरि पाण्डे चुनिए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी महेन्द्रले मोटरसाइकल पुरस्कार पाए भने बिधागततर्फ उत्कृष्ट सबैले जनही पाँच हजार पुरस्कार पाए ।

विजेता टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदकी सदस्य यानकुमारी गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, नेपाल बिद्यालय भलिबल कमिसनका नवनिर्वाचित अध्यक्ष रामबहादुर केसी, ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष मनवीर छन्त्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

एक सातासम्म चलेको प्रतियोगितामा देशभरका १६ टोलीले सहभागिता जनाएका थिए । जसलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया