लमजुङबासी भन्छन् : राष्ट्रकविको जिल्ला भनेर चिनिन पाउँदा खुशीले छाती चौडा हुन्छ

 असोज ७, २०७५ आइतबार ७:३१:२१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्माएको जिल्ला हो, लमजुङ । आफैँमा मौलिक कला, साहित्यको उर्वभरभूमि पनि हो, लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरे वि.सं. १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासंगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । उहाँले कवितासँगै गीत, नाटक, खण्डकाव्य लेख्नुभएको छ । 

हृदय छुने सिर्जना

उहाँले रचेका सबै सिर्जना नेपालीको मनमा भिजेको छ । बसेको छ । राष्ट्रकवि घिमिरेले कोरेका सबै सिर्जनामा सरलता, मिठासता भेटिने बताउनुहुन्छ, सुन्दरबजार नगरपालिका–८, अकलाका होतराज ढकाल ।

‘राष्ट्रकविका सबै सिर्जना अत्यन्त राम्रा, सरल, मिठास लाग्छन् । उहाँका सिर्जना हृदय छुने खालका छन्,’ ३१ वर्षसम्म संस्कृत÷नेपाली विषयको अध्यापन गराएका ७३ वर्षे ढकालले भन्नुभयो । 
उहाँ आफै पनि छन्दमा कविता लेख्नुहुन्छ । राष्ट्रकवि घिमिरेकै प्रभाव र प्रेरणाकै कारण आफू काव्य सिर्जनामा लागेको उहाँ बताउनुहुन्छ ।  

घिमिरेले लेखेको सबै सिर्जना मन पर्ने उहाँले बताउनुभयो । घिमिरेद्वारा लिखित ‘गौरी’ शोक खण्डकाव्यले आफूलाई रुवाएको उहाँले बताउनुभयो ।   

‘आजभन्दा १५ वर्षअगाडि घिमिरेको गौरी शोक खण्डकाव्य पढेको थिएँ । त्यो पढ्दा मन छोयो । आँखा रसायो । खण्डकाव्यले साह्रै मन छोयो,’ उहाँले स्मरण गर्नुभयो । 

लिला माइतका भुलेर घरको धन्दा तिमीले गर्‍याै  
आमाको ममता भुलेर कसरी माया मलाई गर्‍याै
छातीबाट झिकेर प्राणसरीको छोरी मलाई दियौ 
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ 

१५ वर्षअघि पढेको ‘गौरी’ खण्डकाव्यका यी श्लोक सुनाउँदै गर्दा उहाँका परेलीका डिल आँसुले लचरप्प भिजिसकेका थिए । 

‘साहित्यको माध्यमबाटै देशको शीर उचो बनाए’  

लमजुङको विकट गाउँमा जन्मेर । गोठमा गोठालो बनेर । खर्कमा बसेर । वनपाखा घुमेर हुर्केका घिमिरेले कला, साहित्यको माध्यमबाट लमजुङसँगै देशको शीरलाई उचो बनाएको उहाँ सम्झनुहुन्छ । 

घिमिरेको ‘गौरी’ खण्डकाव्य आफूलाई निकै मन परेको सुन्दरबजार नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष समेत रहनुभएका कृष्णकान्त अधिकारीले भन्नुभयो । 

गाईलाई लग्यो नि आज कसले बाच्छो छुटाइकन
पोथी पासा परिन् गुँडका बच्चा नहुर्काइकन
के हेछर्यौ वियोग धरती माता तिमी फाट हे
आमा बालकको न नाश भगवान संसार भर्ने भए 
उहाँले खण्डकाव्यका केही अंश पनि सुनाइहाल्नुभयो । 

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
.......................
गाउँछ गीत नेपाली ज्योतिको पङ्खा उचाली
जय जय जय नेपाल सुन्दर, शान्त, विशाल
......................

यस्ता कैयौँ देशभक्तिका भावले ओतप्रोत भएका गीत पनि लेख्नुभएको छ, उहाँले । मौलिक लोकगीत सुन्दै हुर्केका घिमिरेका सिर्जनामा मौलिकता पाइन्छ । देशभक्तिका भाव मात्र होइन । मायाप्रेम, मिलनविछोडका विषयमा समेत उहाँले थुप्रै गीत लेख्नुभएको छ । 

फूलको थुंगा बहेर गयो गंगाको पानीमा 
कहिले भेट होला हे राजै यो जिन्दगानीमा ।    
झरीको पछि झुल्केको घाममा निर्झर पहाडको 
भर्खरै प्रिती बसेको बेला पीर पर्यो विछोडको   
............................

बाल्यकालदेखि नै साहित्यमा कलम 

घिमिरेको रचना, नातिकाजीको संगीत र तारादेवीको श्वर भएपछि कस्तो गीत बन्छ होला ? तीन जना विशिष्ट सर्जकको संगम एउटा कालजयी रचना बन्ने नै भो । घिमिरेकै शब्दमा श्वरसम्राट नारायण गोपालले श्वर भरेको यो गीत पनि उत्तिक्कै कर्णप्रिय छ । कालजयी छ । 

आजै र राति के देखेँ सपना  
मै मरी गएको 
मै मरी गएको 
बतास दिनु हाँगाको फूल 
भुइँ झरी गएको 
भूइँ झरी गएको   
मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादलभित्र म रोइरहेको 
म रोइरहेको 
.........................

मौलिकता, राष्टप्रेम, प्रकृतिप्रेमका भाव समेटिएको पाइन्छ, कवि तथा गीतकार घिमिरेका साहित्य सिर्जनामा । उहाँका सिर्जना सुने, पढेपछि दिल छोइहाल्ने । मनमा बसिहाल्ने, ढुकढुकी बनेर । 
‘गीत, कविता, खण्डकाव्य, गीतिनाटक, कथाजस्ता अनेकौँ विधामा सशक्त कलम चलाउने घिमिरे साँच्चै बहुमुखी प्रतिभा हुनुहुन्छ’, उनीहरु भन्छन् । 

सरल र मिलनसार कवि

घिमिरेले लामो समय शिक्षण पेशामा आफ्नो समय खर्चनुभएको पनि जानकारहरु बताउँछन् । 

‘घिमिरेका सिर्जना जति सरल, मिठास लाग्छन्, उहाँको व्यवहार पनि उत्तिक्कै सरल र मिलनसार छ’, भोटेओडारका कीर्तिनाथ सापकोटाले भन्नुभयो ।   
 
‘उहाँका गीत, कविता सुन्दा आत्मबल बढेको आभाष हुन्छ । उहाँको नामबाट सिंगो लमजुङ चिनिन्छ । हामीलाई गौरवको महसुस हुन्छ,’ शिक्षण पेशासमा लामो समय व्यतित गर्नुभएका उहाँले थप्नुभयो, ‘राष्ट्रले उहाँलाई उच्च सम्मान गरेको छ । हामीलाई खुसी लाग्छ ।’  

जन्मभूमिलाई माया गर्ने कवि

जन्मेहुर्केको माटोको मायालाई कसलाई नहोला र ? त्यसैले कवि घिमिरेले लमजुङको माटोलाई असाध्यै प्यार गर्नुहुन्छ । आदर गर्नुहुन्छ । यसै भन्छन् उहाँलाई नजिकैबाट चिन्नेहरु ।

‘लमजुङप्रतिको माया उहाँको मनमा छ । लमजुङप्रतिको उहाँका सच्चा आधार छ’, केही वर्षअगाडि घिमिरेकै निवासमा पुगी घिमिरेलाई भेट्नुभएका भोटेओडारका रघुनाथ अधिकारीले भन्नुभयो ।

‘मिजासिलो व्यवहार । उस्तै हँसिलो चेहेरा । मुस्कुराउँदै बोल्ने उहाँको बानी । उहाँ साह्रै मिलनसार हुनुहुन्छ’, रघुनाथले घिमिरेको प्रसंशा गर्नुभयो । 

छन्दमै कविता लेख्ने भएनन्  

घिमिरेका गीत कवितासँगै ‘गौरी’ शोक खण्डकाव्यले आफ्नो दिल छोएको उहाँ बताउनुहन्छ । घिमिरेकै प्रभावका कारण आफूले छन्दमै कविता लेख्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले छन्दमै लेखिएको ‘मितेरी आकाश’ नामक कविता संग्रह पनि प्रकाशित गरिसक्नुभएको छ । 

राष्ट्रकवि जन्मेको लमजुङमा पछिल्लो समय छन्दमै कविता लेख्ने युवापुस्ता नभएका उहाँ बताउनुहुन्छ । ‘लमजुङ राष्ट्रकवि जन्माउने जिल्ला हो । तर पछिल्लो पुस्ताले कविताप्रति खासै रुची नदिएको जस्तो लाग्छ । छन्दमा कविता लेख्ने युवा पुस्ताको त संकट नै छ’, उहाँले थप्नुभयो ।

देशका गहना : राष्ट्रकवि माधवप्रसाद घिमिरे   

राष्ट्रकवि घिमिरे लमजुङसँगै देशका गौरव हुनुहुन्छ । गहना हुनुहुन्छ ।
    
साँच्चै  नै राष्ट्रकवि घिमिरेका गीत, कविता सुन्दै गर्दा, पढ्दै गर्दा मनमा छुट्टै आभाष हुन्छ । ऊर्जा थपिएको महसुस हुन्छ । राष्ट्रकविको जिल्ला भनेर लमजुङ चिनिदाँ सिंगो लमजुङबासी गर्व गर्छन् । खुशीले छाती चौडा बनाउँछन् । घिमिरेका कविता, गीतले सिंगो देशको माटो बोल्छ । संस्कृति बोल्छ । जनजनको भोगाई बोल्छ । त्यसैले त हो, उहाँ जनजनको मनमा हुनुहुन्छ । सबैको मानसम्मान, आदर र मायाको बीचमा हुनुहुन्छ । 

सुस्वास्थ्य, दीर्घायुको कामना सहित राष्ट्रकवि घिमिरेलाई एक सयौँ जन्मदिनको हाम्रो तर्फबाट पनि लाखौँलाख शुभकामना ।            
 

अन्तिम अपडेट: मंसिर ६, २०७५

श्यामशितल परियार

उज्यालोका लमजुङ र मनाङ जिल्ला सम्वाददाता श्यामशितल परियारलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया