अमेरिका आएको चार महिनामै गोलीको शिकार बनिन् वृन्दा

 असोज ७, २०७५ आइतबार ११:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

सतिश चापागाईं

मेरिल्याण्ड, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको एउटा नेपाली घर बिहीबारदेखि अचानक शोकमग्न छ । मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा रहेको ‘राईट एड’ कम्पनीको वितरण केन्द्रमा भएको ‘मास सुटिंग’ मा मारिएकी वृन्दा पुरीको माइती घर हो, यो । ‘वृन्दाको गोली लागेर निधन भयो’ भन्ने खबर सुनेर उनका आफन्त र साथीभाइहरु मलिनो अनुहार लिएर सान्त्वनाका शब्द ब्यक्त गर्न जम्मा भएका छन् । आउने र जाने क्रम चलिरहेको छ । बिहीबार साँझदेखि नै यो घरमा छिन मै सन्नाटा छाउँछ र छिन मै रुवाबासी !

६५  वर्षकी आमा तिलकुमारी पुरी ४१ वर्षीया आफ्नै छोरीको निधनको खबरमा यति रोइन् की उनको आँखाको आँशु नै रित्तिईसक्यो । पाँच वर्षदेखि बाल्टिमोरमा रहेका कासी गिरीले श्रीमती गुमाए । बाल्टिमोरका अति नै सक्रिय सामाजिक युवा सरोज पुरीले प्यारी बहिनी गुमाए । सुमन पुरीले दिदि गुमाए । १४ वर्षीया सृष्टि र ११ वर्षका शिरिषले आमा गुमाए । पुरी र गिरी परिवारले सधै हँसिली र मायालु परिवारको एउटा सदस्य गुमाए भने मेरिल्याण्डको नेपाली समुदायले भर्खर परिचय गर्दै गरेकी नयाँ सदस्य गुमाएको छ ।

समयभन्दा पहिले नै दैवले श्रीमान खोसेको पिडाले तिलकुमारी खुलेर हाँस्न पाइनन् । छोराछोरी पनि सधै बाहिर/बाहिर भएका थिए । चार महिना अघि वृन्दाले नाती नातिनी लिएर बाल्टिमोर आएपछि परिवारका धेरै सदस्यसँगै भएका थिए । तिलकुमारीको अनुहारमा खुशी पलाउदै गएको थियो । तर, यो खुशी लामो समय रहन पाएन । दैवका आँखा फेरि उनको खुशी माथि पर्‍याे र प्यारी छोरीलाई टिपेर लग्यो ।

खुशी लुटिएका अर्का ब्यक्ति हुन -कासी गिरी । कसको पीडा कम र कसको पीडा बढी भन्ने प्रश्न होइन तर यो घटनामा कासीलाईभन्दा पीडा कसलाई होला ? परिवारको खुशीका लागि कासीले चार चौरास गरे । तर यो खुशी धेरै रहनै पाएन, पानीको फोका जस्तो भयो ।

युवा अवस्था मै सुन्दर र सुखी परिवारको कल्पना गरेर बिहे नगर्दै कासी साउदी अरब पुगे । बिहे गर्न नेपाल आए, पर्बत कुश्माकी वृन्दासँग मागी बिहे गरे र फेरि परिवारको सुन्दर भविष्यको लागि कासी साउदी अरब नै गए । “साउदीको कमाइले घरको आर्थिक अवस्था सुधार भएको थियो, छोरी जन्मिसकेकी थिइन्। परिवारसँग रमाउन भनेर म साउदीबाट नेपाल फर्कें र पोखराबाट गैडाकोट झरें । गैडाकोटमा साथीसँग मिलेर टुबोर्ग बियरको डिलर खोलें । कमाई राम्रो नै थियो । खै के भयो–भयो वृन्दाले जानु पर्दैन भन्दाभन्दै तल्लो बाटो गरेर अमेरिका हिडें।” कासीले विगत सम्झदै भने ।

अमेरिकामै रहेका जेठान सरोजले पटक–पटक नआउन भनेका रहेछन् । सरोज भन्छन्, “मैले त मेक्सिकोमा आएपछि बल्ल थाहा पाएँ ।” कासीलाई अमेरिका आउन अरुलाई जस्तो दुख भएन रे । आएपछि पनि सजिलै प्रोसेसमा कागज बन्यो र परिवारको पेपर अप्लाई गरे । त्यो पनि समयमै भयो । कागज बनेपछि पनि वृन्दा अमेरिका आउन मानिनन । केहि समय अघि दाई सरोज नेपाल गएका बेला सम्झाएपछि कागज बनेको एक वर्षपछि उनी छोरी र छोरा लिएर चार महिना अगाडि अमेरिका आइन् ।

“अमेरिका आएपछि चार महिना यसै बित्यो । छोरी र छोराको स्कुलको प्रोसेस आफ्नो काम अनि नयाँ संसारका बारेमा श्रीमती, छोरी र छोराका प्रश्नका जवाफ दिँदादिदै समय फ्याट्ट बितेछ ।” कासीले यसो भन्दै गर्दा लाग्थ्यो उनीहरुले दैनिकी नै व्यवस्थित गर्न भ्याएका थिएनन्, जीवनको योजना त बनाउन बाँकी नै थियो । अब त यो बाँकी मात्र होइन सधैँका लागि अधुरो र अपुरो नै रहने भयो ।

बिहेगरेको लगभग बीस वर्षमा वृन्दा र कासी लगातार सँगै बस्न पाएको गैडाकोट बस्दाका तीन वर्ष मात्र हो । नत्र सधै छुट्टाछुट्टै भए । मैले कासीलाई सोधें, “वृन्दा कस्ती हुनुहुन्थ्यो ? उहाँका जीवनका इच्छाहरु के थिए ?” कासीको फुङ्ग उडेको अनुहारमा झन् अँध्यारो छायो । एक पटक टाउको समाते र भने -“उसका केहि इच्छा नै थिएनन् । यो लाउछु यो खान्छु भन्ने नै थिएन । सधै घरको काम गर्ने । रिसाएको कहिल्यै देखिन, सधै हाँसेको मात्र देखें । घरपरिवार मै रमाउने बानी थियो ।”

बृन्दाले अमेरिका आउन मन नगर्नुको कारण के थियो होला ? भनेर मैले कासीलाई अर्को प्रश्न गरें । कासीलाई घाउमा नुन हालेजस्तो भयो । नहोस पनि कसरी ? अमेरिकामा काम गर्नु पर्छ भनेर नै वृन्दा आउन मन नगरेकी थिइनन र त्यही काममा नै उनकी जीवन संगीनिको प्राण पखेरु उडेको थियो । कासीले सम्झंदै भने, “फोनमा जतिबेला पनि त्यहाँ धेरै काम गर्न पर्छ रे ! भन्ने । दिनदिनै काम गर्न पर्छ रे ! भन्ने । उनलाई यहाँ घुम्न आउन मात्र मन थियो। आएपछि पनि उसले भनेको एउटा कुरा मात्र छ की चार पाँच वर्षमा अलिकति पैसा बनाएर फर्केर गैडाकोट नै जाने । त्यही बस्ने ।” 

त्यसपछि कासीको मन भरिएर आयो । धेरैबेर बोल्न सकेनन् । आँखा छोपेर घुँक्क घुँक्क गरिरहे र भने “अब खुशी आउने भयो भनेको थिए तर यस्तो के आयो ? सोच्दै नसोचेको कल्पना नै नगरेको के भयो यस्तो ?

अमेरिकाको कामसँग डराएकी वृन्दाको अन्तत: काम गर्दागर्दै इहलिला समाप्त भयो । कम्पनि काम सुरक्षित हुन्छ भन्ने थियो । सिफोरा भन्ने कम्पनीमा गइन् । त्यसपछि सिफोरासंगै रहेको यो कम्पनिमा काम सुरु गरिन् । मात्र तीन हप्ता भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार बिहान ब्रेकफाष्टको समय थियो । क्याफेटेरियामा एउटी महिलाले अचानक बन्दुक चलाउन सुरु गरिन् । भागदौड सुरु भएको थियो । सबै जना भागे वृन्दा आफू पनि भागिन् । त्यसपछि के भयो थाहा छैन । तर बाहिर सुनेको अनुसार -‘भागदौडमा एउटा साथीको जुत्ता फुत्कियो । वृन्दाले त्यो जुत्ता टिप्न खोजिन्, दुर्भाग्य गोली लाग्यो र ढलिन् ।’

साथीहरु भित्रका भित्र नै भए । काम गर्ने ठाउँमा फोन लैजान नपाउने हुँदा भित्रबाट बाहिर खबर गर्न मिलेन । दिनभरीमा खबर जताततै भएको थियो तर वृन्दाको घरमा अलि ढिलो पुग्यो । सधैँ झैँ श्रीमान कासी पनि काममा थिए । लगभग पाँच बजेतिर अचानक कसैको फोन आयो ।

उसले सोध्यो “तपाई कासी हो ?” उनले “हो” भने ।

“तपाई वृन्दाको श्रीमान हो ?” – उताबाट अर्को प्रश्न आयो । उनले फेरी “हो” भने ।

उसले आफ्नो परिचय दियो र भन्यो ,”राइट एड भित्र गोली चलेको छ । एक पटक तुरुन्त आउनु ।” उसले सचेत बनायो – “त्यहाँ आएर कसैलाई नभेट्नु, सिधै पुलिसलाई भेट्नु ।” कासीको शरिर पुरै शितांग भयो । पैतालाबाट एकदम चिसो पसेर शरिरभरी भयो । के हो, के हो भयो ।

घर गए, छोरी र छोरा टिपे र घटनास्थलतर्फ लागे । पुलिस भएको ठाउँमा गए । पुलिसले फोटो निकालेर देखायो र सोध्यो । उनले भने ‘मेरी श्रीमती’ हो । प्रहरीले भन्यो ” सी इज डेड ।” कासीको अगाडी सबै अन्धकार छायो । जीवनको बत्ति नै झ्याप्प निभ्यो ।

त्यसपछिको कुरा बताउदै कासी बोले, “मलाई चक्कर लायो । धर्ती फनफनी घुम्यो । मैले केही सोच्नै सकिन । केही पर थिए नानीबाबु, तिनीहरुलाई हेरें, बोलाउन सकिन ।” उनले थप्दै गए, “गोजीको फोन निकालें, सरोज दाई (जेठान) लाई बल्ल बल्ल डायल गरें तर बोल्न सकिन । मुखबाट शब्द नै निस्केन । केही समयपछि भने ।

बहिनीको जीवन समाप्त भएको खबर सुन्दै गर्दा दाजु सरोज दुई घण्टा टाढा थिए । यो आपतमा उडेर जान मन थियो तर समय लाग्यो । त्योभन्दा पहिला उनले स्थानीय समाजसेवी तरुण पौडेललाई सम्झे र त्यहाँ जान अनुरोध गरे । घटना बिस्तारै एक कान दुई कान मैदान भयो । आफन्त र साथीभाई अरु पनि घटनास्थल बाहिर जम्मा भए ।

वृन्दाको मृत शरीर देख्न पनि नपाई सबैजना घर फर्किए । शुक्रबार पनि प्रहरी र सरोकारवालासँग छलफल भयो तर वृन्दाको शरिर हेर्न दिइएन । वृन्दाको मात्र होइन यस घटनामा मारिएका कसैको पनि हेर्न दिइएको छैन ।

आफन्त र परिवारको सल्लाहमा आइतबार वृन्दाको अन्त्यष्टी गर्ने कार्यक्रम तय भएको छ ।

विहिबार काममा गएकी आमा अब कहिल्यै नफर्कने खबर शुक्रबार छोरी सृष्टिलाई सुनाईयो । यो खबरपछि उनी झोक्राएर बसेकी छिन । यो बाला मनमा अहिल्यै त धेरै कुरा थाहा छैन होला तर जन्मदेखि बिहिबार बिहानसम्म सधै सँगै भएकी आमा उनले कसरी खोजिरहेकी छिन् त्यो पनि बुझ्ने कोही छैन । गुड सरेर माउले छाडेको बचेरो जस्तै छिन् उनी ।

छोरीसँग कुरा गर्नु भयो ? मैले सोधें ।

कासीले भने “मैले हेर्न पनि सकेको छैन । मैले के भनम ? कसरी भनम ?” उनी फेरि रोए ।

छोरा भने यो पुरै घटनासँग बेखबर छन् । ११ वर्षको यो बालकलाई आमा अस्पतालमा हुनुहुन्छ भन्ने मात्र थाहा छ । अरु भनिएको छैन । केहीबेर अघि बाबाको नजिकै आए र मागे- बाबा फोन दिनुस् । त्यसपछि उनी किचनको साईडमा गए र के के हेरे । फेरी केहीबेरपछि बाहिर निस्किए र भने “मेरो एउटा चप्पल खोइ ? यहाँ कति धेरै चप्पल !”

सानो मामा सुमन पुरीले आफन्तको छलफलमा भने “भान्जा सानै छन् । अमेरिका आएदेखि नै नयाँ नयाँ देखिरहेका छन् । अचानक आमाको त्यो अवस्था देख्दा के होला? मानसिक झड्का नलाग्ने गरि कसरी काम गर्न सकिन्छ?” पर एक्लै खेलिरहेका शिरिषलाई देखाउदै ठूला मामा सरोजले बीच मै भने, “हेर यति साना छन् ! केही थाहा छैन !” सरोज एकातिर फर्केर रोए, सुमन अर्कोतिर फर्केर रोए । छलफल गर्दै गरेका अरुले पनि आँशु पुछे ।

अमेरिका आउनु केही दिन अगाडी फोनमा छलफल भयो ११ वर्षको यो छोराको ब्रतबन्ध कहाँ गर्ने ? अमेरिका भएका सबैले यहीं आएर गर्ने भने तर वृन्दाले मानिनन । सबैको कुरा बेवास्ता गर्दै यहाँ आउनुभन्दा १५ दिन अगाडि बृन्दाले गैडाकोट मै छोराको ब्रतबन्ध धुमधामसँग गरिन् । उनको हतार कसैले बुझ्न सकेनन् । यस्तो हुनेछ भनेर त उनी आफैलाई पनि थाहा थिएन । भावीको लेखा मान्छेलाई के था ? तर भावीलाई यो सबै थाहा थियो ।

र, भावी कै लेखा अनुसार सन् २०१८ को सेप्टेम्बर २३ तारिख आइतबार ११ वर्षका शिरिष गिरीले आफ्नी आमाको मुखमा बलिरहेको दीयो राखेर दागबत्ती दिनेछन् ।

नेप्लिजडायस्पोरा डटकमबाट

अन्तिम अपडेट: मंसिर २९, २०७५

तपाईको प्रतिक्रिया