अरिंगाल बन्ने कि मौरी ? प्रधानमन्त्रीमै देखिएन रानीमौरीको स्वभाव !

 असोज ७, २०७५ आइतबार १३:५:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

अरिंगाल र मौरी ! सामुहिक र सांगठनिक चरित्रमा समान भए पनि स्वभावमा आकाश–पातालको फरक । अरिंगालले आक्रमण गर्छ, दुःख दिन्छ । मौरीले गुन मात्रै गर्छ । मान्छेका लागि अरिंगालभन्दा मौरी नै प्यारो । 

फरक स्वभाव भएका यी दुई प्राणीको उदाहरण दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक हप्ताको अन्तरालमा आफ्ना कार्यकर्तालाई दुईथरी निर्देशन दिनुभयो । सुरुमा सरकारलाई चारैतिरबाट प्रहार भएको भन्दै आक्रोशित हुनुभएका ओलीले कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक भएर सरकारको बचाउ गर्न भन्नुभयो ।

उहाँको यो अभिव्यक्तिले कार्यकर्तालाई होइन, अरुलाई चाहिँ आक्रामक बनायो । सामाजिक सञ्जाल, चियापसल र सार्वजनिक स्थल सबैतिर अरिंगालै अरिंगालको चर्चा हुन थाल्यो, प्रधानमन्त्रीको आलोचना भयो ।

आफ्नो ‘अरिंगाले अभिव्यक्ति’को चर्को आलोचना भैरहेको थाहा पाएपछि प्रधानमन्त्रीले फेरि कार्यकर्तालाई मौरीजस्तो मेहनती बन्न निर्देशन दिनुभयो । अरिंगालजस्तो आक्रामक बन्नु भन्ने चर्चा सेलाउन नपाउँदै मौरीजस्तो मेहनती बन्नु भन्ने अर्को निर्देशनलाई पनि पार्टी कार्यकर्ता र अरुले रमाइलोको रुपमा लिए । 

भाषणमा रमाइलो र ठट्टा गर्ने स्वभाव भए पनि प्रधानमन्त्रीका हरेक अभिव्यक्तिमा केही न केही महत्वपूर्ण अर्थ र सन्देश मिसिएको हुन्छ । अरिंगाल र मौरी बन्नु भन्ने निर्देशनमा पनि यस्तै अर्थ र सन्देश छ । 

तर कार्यकर्तालाई अरिंगाल र मौरी बन्नु भन्ने प्रधानमन्त्री र उहाँको सरकार आफैं चाहिँ न अरिंगाल जति आक्रामक हुन सकेको छ, न त मौरी जति मेहनती र गुणी नै । 

‘अरिंगाल’सामु निरीह सरकार

दुई तिहाई बहुमतको बलियो सरकारले समाजको हर क्षेत्रमा देखिएको अराजकतालाई नियन्त्रण गर्न सक्नुपर्ने हो । तर अराजक गतिबिधि गर्नेहरुका अघिल्तिर सरकार पटकपटक निरीह बन्दै आएको छ ।

हत्या र बलात्कारका घटनामा संलग्न दोषीलाई पहिचान गरेर कार्बाही गर्न नसक्ने सरकारले बजारमा अराजक गतिबिधि गर्नेहरुमाथि पनि नियन्त्रण गर्न सकेको छैन । सर्सर्ती हेर्दा अरु अरिंगाल जस्ता भएका छन, सरकार अरिंगालले चिलेको बिरामी जस्तो लाचार र निरीह बनेको छ ।

केही दिनअघि केही गाडी चालकहरुले नयाँ फौजदारी ऐनको विरोध गर्दै गाडी चलाएनन् । चार दिनसम्म गाडी नचल्दा यात्रुले सास्ती खेपे । चालकको लापरवाहीबाट यात्रुको मृत्यु भए ३ देखि १० वर्ष कैद सजाय र जरिवानासमेत हुने व्यवस्थाको विरोधमा स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा बन्द गरिएको थियो । उनीहरुसँग झुकेर सरकारले ६ बुँदे सहमति गर्यो । 

फेरि खारेज भैसकेको सिन्डिकेटधारी व्यवसायीसँग सरकारले अर्को सहमति गरेर दसैँको मुखमा गाडी भाडा बढाएको छ । गएको वैशाखमै खारेज गरियो भनिएको यातायात व्यवसायी राष्ट्रिय महासंघको मागअनुसार सरकारले १० प्रतिशत भाडा बढाएको हो । 

चाडपर्व सकिएलगत्तै फेरि भाडा बढाउने सहमति भएको छ । भाडा नबढाए दसैँको लागि अग्रिम टिकट बुकिङ खुलाउन नसक्ने भनेर व्यवसायीको धम्कीपछि सरकार उनीहरुसँग निहुरियो । त्यसमाथि बन्द गरिएका समितिका बैंक खाता पनि खोल्न सरकार सहमत भएको छ ।

यी दुईवटा उदाहरणबाट प्रष्ट हुन्छ, दुई तिहाईको बलियो सरकार अझै निरीह र लाचार छ । ऐनमा संशोधन गर्ने या भाडा बढाउने विषय माग र दबाबभन्दा पनि आवश्यकताअनुसार हुनुपर्ने हो ।

दसैँको मुखमा भाडा बढाउने कार्य कुनै हालतमा स्वीकार्य हुन सक्दैन । किनकी चाडपर्वको बेला आमउपभोक्ताले सहुलियत र राहत खोज्छन् । नागरिकलाई सहुलियत दिनुपर्ने बेला सरकारले महंगीको उपहार दिएको छ ।

‘दादागिरी’ गर्नेहरुमाथि अरिंगालले जस्तो आक्रमण गर्नुपर्ने प्रधानमन्त्री, मन्त्री र सरकारका अरु निकायले हो । तर कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिने प्रधानमन्त्री आफैं समेत यो अराजकताको बिरोधमा अडिन र अरिंगालजस्तो हुन सक्नुभएन ।

खै त मौरीको रानीजस्तो व्यवहार ?

कार्यकर्तालाई मौरीजस्तो मेहनती बन्नु भनेर अर्ति दिने प्रधानमन्त्रीलाई मौरीको स्वभाव पनि प्रष्टसँग थाहा हुनुपर्ने हो । मौरीको गोलामा निकै राम्रो र संगठित श्रम विभाजन भएको हुन्छ । 

मौरीको गोलामा रानी, भाले र श्रमिक गरी तीनथरी मौरी हुन्छन् । यसमा पनि रानी र श्रमिक मौरीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । रानी मौरीले आफ्नो परिवारको कुशलतापूर्ण नेतृत्व गरेको हुन्छ । श्रमिक मौरीले फूलको रस ल्याएर मह बनाउनेदेखि गोलाको हेरचाह गर्नेसम्मका सबै काम गर्नुपर्छ । 

यसरी काम गर्ने सबै श्रमिक मौरीले रानीलाई उत्तिकै सम्मान र विश्वास गर्छन् । रानी मौरीले पनि उसैगरी सबैलाई समान व्यवहार गर्छ । रानी मौरीको कुशल व्यवस्थापन र श्रमिक मौरीको परिश्रमबाट बनेको मिठो मह मौरीले भन्दा अरुले धेरै चाख्न पाउँछन् । त्यसैले सांगठनिक र सामुहिक कामसँगै परिश्रमीको उदाहरण दिंदा सबैले मौरीलाई सम्झने गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पनि पछिल्लोपटक यसैगरी मौरी सम्झनुभयो र कार्यकर्तालाई मौरीजस्तै परिश्रमी हुन निर्देशन दिनुभयो । तर प्रधानमन्त्री आफैं रानी मौरीजस्तो हुनुहुन्छ कि हुनुहुन्न भन्ने मुख्य प्रश्न उहाँको पार्टीका धेरैले उठाउन थालेका छन् । 

विरोधी र विपक्षी मात्र होइन, स्वयं नेकपाकै कार्यकर्ता भन्छन्, प्रधानमन्त्री अझै आफ्नो सीमित गुट र स्वार्थ समूहको घेराबाट बाहिर निस्कन सक्नुभएको छैन । विपक्षीलाई समेत मिलाएर अघि बढ्नुपर्ने बेला आफ्नै नेता कार्यकर्तालाई पनि मिलाउन सक्नुभएन भन्ने गुनासो छ ।

अर्थात उहाँले रानी मौरीको जस्तो व्यवहार र भूमिका निर्वाह गर्न सक्नुभएको छैन । मौरीको गोलामा यस्तै भयो भने रानी मौरीप्रतिको विश्वास टुट्छ । नयाँ रानी मौरी जन्मन्छ र गोला विभाजन हुन्छ । 

यी सबै वास्तविकता राम्रोसँग बुझेका प्रधानमन्त्री ओली अझै काममा भन्दा भाषणमै अल्झिरहनुभएको छ । सडकमा धुलोधुवाँ, खाल्डाखुल्डी, जाम र हैरानी हटाउनुपर्ने बेला त्यता पट्टीका सबै समस्या बिर्से झैं गरेर वर्षौंपछि शुरु हुने संभावना रहेका रेल र पानीजहाजको सपना मात्र बाँड्दै हुनुहुन्छ । 

हत्या, हिंसा, बलात्कार र अराजकता जस्ता आपराधिक घटनाले नागरिक पीडित छन् । तर उहाँ यस्तो बेला पछि पाईने सुख र समृद्धिको आश्वासन मात्रै दिइरहनुभएको छ । सुरुमा उहाँबाट धेरै आशा गर्नेहरु निराश हुन थालेका छन् । दुई तिहाईको बलियो सरकारले पनि केही गर्न नसक्ने रहेछ भन्ने सबैलाई लाग्न थालेको छ ।

प्रधानमन्त्रीलाई राम्रैसँग थाहा छ, अहिले कुरा होइन काम गर्नुपर्ने बेला हो । नागरिकको विश्वास जित्नुपर्ने समय हो । अरुलाई मौरी र अरिंगाल जस्तो बन्नुपर्छ भन्नेले आफैं परेको बेला अरिंगाल र मौरीजस्तो बनेर काम गर्नुपर्ने हो । अझ रानी मौरीको भूमिका देखाउन सक्नुपर्ने हो । 

तर दिन बित्दै जाँदा नागरिकको मनमा प्रश्न पनि उठ्न थालेको छ, नागरिकको चाहना प्रधानमन्त्रीले पूरा गर्न सक्नुहोला त ?


 

अन्तिम अपडेट: कात्तिक २४, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया