बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुग्यो, चितवनमा २७ बाघ घटे

 असोज ७, २०७५ आइतबार १६:१३:२१ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढेको छ ।

यसअघि ५० वटा वयस्क पाटे बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा यसवर्ष ३७ वटा बाघको संख्या थपिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा  अहिले ८७ वटा वयस्क बाघ पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।

 

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा न्युनतम ८२ देखि अधिकतम ९७ वटा बाघ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा प्रकाशनका सम्बन्धमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देशभर बाघको संख्या बढिरहेका बेला चितवनमा भने बाघको संख्या घट्दै गएको छ । यसअघि १ सय २० वटा पाटे बाघ रहेको चितवन निकुञ्जमा २७ वटा बाघ घटेर ९३ वटामा झरेको छ । यसअघि चार वर्ष पहिले गरिएको बाघ गणनामा पनि १ सय २५ बाट घटेर १ सय २० मा झरेको थियो ।

सन् २००८ मा गरिएको गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ रहेकोमा सन् २०१२ मा गरिएको गणनामा ३७ वटा वयस्क बाघ रहेका थिए । सन् २०१३ मा गरिएको बाघ गणनामा ५० वटा वयस्क बाघ रहेकोमा गएको वर्ष सन् २०१७ मा गरिएको बाघ गणनामा बर्दिया निकुञ्जमा बाघको संख्या बढेर ८७ वटा पुगेको हो । 

राष्ट्रिय बाघ गणना प्रत्येक चार वर्षमा गरिने गरिन्छ । आठ वर्षअघि नेपालमा १ सय २१ वटा बाघ रहेका बेला सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने अर्थात २ सय ५० पुर्याउने नेपाल सरकारको लक्ष्य रहेको थियो ।

लक्ष्य अनुरुप बर्दिया राष्ट्रिय निकुञ्जमा हरेक गणनामा बाघको संख्या बढ्दै गएको छ । यसअघि सन् २००० मा बर्दिया निकुञ्जमा ४३ वटा बाघ रहेकोमा द्धन्द्धकालका बेला सुरक्षा कमजोरीका कारण बर्दियामा धेरै बाघ मारिए पनि पछिल्लो समयमा स्थानीयबासिन्दाको सक्रियता, बाघको राम्रो हेरचाह संरक्षणका साथै बर्दिया निकुञ्ज बाघका लागि उपयुक्त वासस्थान र बाघको आहारा प्रजाती बढेकोले पनि बाघको संख्या बढ्दै गएको निकुञ्जको भनाई छ ।

नेपालभर १ सय ९८ वटा पाटे बाघ रहेकोमा अब बाघको संख्या बढेर २ सय ३५ पुगेको निकुञ्जले जनाएको छ । चितवनमा १ सय २० बाट घटेर ९३, बर्दियामा ५० बाट बढेर ८७, सुक्लामा १७ बाट घढेर १६, पर्सामा ७ बाट बढेर १८ र बाँकेमा ४ बाट बढेर २१ गरी नेपालभर बाघको संख्या २ सय ३५ पुगेको सार्वजनिक गरिएको छ । नेपालभर न्युनतम २ सय २१ देखि अधिकतम २ सय ७४ वटा बाघ रहेको विज्ञप्तिमा उल्लेख छ । 

सन् २०१७ को डिसेम्बर १६ देखि २०१८ मार्च ११ सम्म क्यामरा ट्रयापिङ्ग प्रविधिबाट गरिएको बाघ गणनाको संख्या आइतबार सार्वजनिक गरिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका ५ सय ७७ स्थानमा क्यामरा जडान गरी २ सय ५० जना प्राविधिकद्धारा गएको वर्ष २०१७ डिसेम्बर १६ देखि बाघ गणना सुरु गरिएको थियो । 

यसअघि विश्व बाघ दिवसको अवसर पारि बाघको संख्या सार्वजनिक गरिने भनिए पनि प्राविधिकले सार्वजनिक गर्न सकिएको थिएन । देशैभर गरिएको बाघ गणनाको संख्या आइतबार सार्वजनिक गरिएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया