स्वर्गद्वारी विमानस्थल निर्माणमा ७७ करोडको योजना

 असोज ७, २०७५ आइतबार १७:३०:२७ | एलबी थापा
unn.prixa.net

प्युठान –  स्वर्गद्वारी नगरपालिका बर्जिवाङको निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि अन्तिम वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

झण्डै ६०.७९ हेक्टर क्षेत्रफल ओगटेको विमानस्थल निर्माणका लागि कुल ७७ करोड रुपैयाँ लाग्ने योजना सार्वजनिक गरिएको हो । नेपाल नागरिक उड्यन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मुल्यांकन गरी यसबारे सरोकारवालासहित स्थानीयवासीलाई जानकारी गराएको हो ।

विमानस्थल निर्माणले बर्जिवाङ चाल्नेटारका १२ र माथिल्लो दमारका २ गरी १४ घरधुरीमा प्रभाव पर्ने प्रतिवेदनमा प्रतिवेदनमा उल्लेख गरिएको छ । यहाँका १३ घरधुरीका १ सय ७ जना स्थानीयबासिन्दा प्रत्यक्ष विस्थापित हुनुपर्ने मुल्यांकनमा प्रतिवेदनमा उल्लेख छ ।

आयोजना निर्माणको क्रममा वातावरण प्रभाव मुल्यांकन टोलीका प्रमुख डा. महेन्द्रनाथ सुवेदीले  ५५.१८ हेक्टर वन अधिग्रहण गर्दा १८ प्रजातिका ६ हजार २ सय ५६ विरुवाहरु नोक्सान हुने बताउनुभयो ।  यस्तै ०.४ हेक्टर आवासलगायतका अन्य संरचनाहरुमा स्थायी रुपले असर पुग्ने उहाँले जानकारी दिनुभयो ।

उचित क्षतिपूर्ति बिना जन्मथलो नछोड्ने

लामो समयदेखि चर्चामा रहेको विमानस्थल निर्माणका लागि वातावरणीय मुल्यांकन प्रभाव प्रतिवेदन सार्वजनिक भएसँगै आयोजना स्थलका प्रभावितबासिन्दाले उचित क्षतिपूर्ति बिना आफूहरु बस्दै आएको घरवाससहितको जन्मथलो नछोड्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिवेदनमा अधिग्रहण गरिने निजी जमिनको प्रति रोपनी ३ लाखका दरले क्षतिपूर्ति दिइने प्रस्ताव गरे पनि त्यो रकम आफूहरुका लागि उचित नभएको स्थानीयको गुनासो छ । जमिन र भौतिक संरचनाको उचित क्षतिपूर्ति र रोजगारीको सुनिश्चितता भएमा मात्रै आफूहरु बसोवास गर्दै आएको गाउँ छोड्न तयार रहेको स्थानीय भोजराज खड्काले बताउनुभयो ।

प्रतिरोपनी ३ लाखका दरले क्षतिपूर्तिका लागि २ करोड ७७ लाख ५ हजार ६ सय २५ रुपैयाँ छुट्याइएको छ । त्यसैगरी पुनर्वास र पुर्नस्थापनाका लागि ३ करोड ३९ लाख ८१ हजार १  सय १० रुपैयाँ लाग्ने जनाइएको छ ।

साथै प्रतिवेदनमा अहिले भइरहेको क्षति हुन जाने अन्नबालीको ६७ हजार ६ सय ७७ गरी कुल ६ करोड १७ लाख ६२ हजार ४ सय १२ खर्च हुने प्रतिवेदनमा उल्लेख छ । आयोजनाको कुल लागत ७७ करोड मध्ये वातावरणीय प्रभाव न्यूनिकरण, अनुगमनलगायतका २०.६२ प्रतिशतबाट हुन आउने रकमबाट झण्डै १५ करोड ८८ लाख १७ हजार ८ सय २९ रुपैयाँ प्रस्ताव गरिएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया