गोली बारुद खेलाएका ७१ वर्षीय मगर तरकारी खेती गर्दै

 जेठ २२, २०७५ मंगलबार १८:२६:१० | विमल बिष्ट

डोटी – कुनै बेला गोली बारुद बोकेर जनयुद्धमा होमिएका डोटीको केआईसिंह गाउँपालिका–१, का ७१ वर्षीय माओवादी नेता प्रताप पुनमगर अहिले तरकारी खेतीमा व्यस्त हुनुहुन्छ ।

सँगैका साथी देशको शासन प्रशासनमा व्यस्त हुँदा उहाँलाई भने गाउँघरकै कृषि खेतीको व्यस्तताले छोएको छ । डोटीको दिपायलमा रहेको पिपल्ला बजारमा उहाँले ३ रोपनी जमिन भाडामा लिएर तरकारी खेती सुरु गर्नु भएको हो । राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि उहाँ तरकारी खेतीमा लाग्नुभएको हो ।

‘निःस्वार्थ रुपमा राजनीति गर्दा पेट र परिवार पाल्न गाह्रो भयो’, प्रताप पुनमगरले भन्नुभयो, ‘परिवार र पेट पाल्नकै लागि भए पनि तरकारी खेती सुरु गरेँ ।’ उहाँको बारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी भरिभराउ छ । तरकारी खेतीबाट राम्रै आम्दानी हुन थालेको नेता पुनमगरले बताउनुभयो ।

विगतमा आफूले लडेको जनयुद्ध सम्झिँदै नेता पुनमगरले भन्नुभयो, ‘प्रचण्ड र बाबुरामले हामीलाई प्रयोग गरे, अहिलेबीच बाटोमै अलपत्र पारे । पेट पाल्नकै लागि तरकारी खेतीतिर लागियो ।’ उहाँले २०५९ साल फागुन १२ गतेबाट जनयुद्ध सुरु गर्नु भएको हो । गएको वर्षदेखि आफूले माओवादी पार्टीबाट सन्यास लिएर तरकारी खेतीको सुरुवात गरेको उहाँले बताउनुभयो ।

माओवादीबाट सन्यास लिएको बताए पनि उहाँमा राजनीति गर्ने शोख अझै हराएको छैन । माओवादी पार्टीमा आफ्नो कुनै पद नभए पनि देश र नागरिकका लागि आइपरे पुन राजनीतिमा लाग्ने उहाँ बताउनुहुन्छ ।

जनयुद्धको बेला आफू नेताहरुकै अडरअनुसार डटेर लडेको सम्झना उहाँसँग अझै ताजा छ । डोटीको छेडा, कैलालीको, खिमडी, पाण्डौनलगायतका थुप्रै घटनामा पुन मगर डटेर लडेको सम्झनुहुन्छ ।

‘डोटीको छेडा, खिमडी र कैलालीको पाण्डौन जस्ता ठूला घटनामा पनि लड्यौं, कयौं साथीले त्यही युद्धमा आफ्नै आँखा अगाडि मृत्युवरण गरे, अपांग भए’, पुन मगरले भन्नुभयो, ‘त्यो बेला हाम्रो पार्टीमा ठूलै मान–सम्मान थियो, अहिले कसैले वास्ता गरेनन्, युद्धमा लडाकू भएर लड्दा हामीलाई महान देखाइयो तर त्यसको परिवर्तन अनुभव गर्न हामी आफै बञ्चित भयौं, सारै दुःख लाग्छ ।’

आफूसँग रगत र तागत भएका बेलामा गाउँ–गाउँमा गएर सँगै जनयुद्ध लडेका तत्कालिन माओवादी केन्द्रीय नेताहरु प्रचण्ड, बाबुराम लगायतका अन्य नेताहरुले अहिले आफूलाई फोनसम्म पनि नगरेको भन्दै पुन मगरले दुखेसो गर्नुभयो ।

‘अरुको त कुरो छाडौं, सँगै गाउँ–गाउँ र जंगल–जंगल हिँडेका सहपाटी लेखराज भट्टले पनि माया मार्नुभयो’, गम्भीर हुँदै मगरले भन्नुभयो, ‘कम्युनिष्टहरुको कुर्सीले पनि नजिक र टाढा अनि धनी र गरिब भन्दो रहेछ ।’ लेखराज भट्ट २०६४ सालको चुनावमा कैलालीबाट तत्कालिन माओवादीको सांसद हुनुभएको थियो

तरकारी खेतीबाट नेता पुन मगरले मासिक ३० हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले तरकारी खेती गरेर ८ जनाको परिवारलाई राम्रैसँग पाल्दै आउनु भएको छ । राजनीतिसँग–सँगै आफ्नो उद्यम पनि गर्नु पर्ने बताउँदै मगरले भन्नुभयो, ‘जिन्दगी भर अर्काकै लागि झोला बोकेर पेट पालिँदैन ।’

एक लाख ऋण निकालेर तरकारी खेतीको सुरुवात गरेका नेता पुनमगरले अहिले करिब करिब ऋण चुक्ता गरी सकेको बताउनुभयो । उहाँको बारीमा अहिले तरकारी किन्नेको घुईँचो लाग्ने गर्दछ । उहाँको बारीमा अहिले भिण्डी, काउली, बन्द गोभी, टमाटर, धनियाँ, आलु, मुला, काक्रा, सिम्लालगायतका विभिन्न तरकारीहरुले भरिभराउ भएको छ ।

दैनिक जसो बारीमा खटिँदा समेत बजारमा तरकारीको पूर्ति गर्न नसकिएको नेता पुनमगरले बताउनुभयो । ‘बजारमा तरकारीको निकै ठूलो माग छ, जति भए पनि आपूर्ति गर्नै सकिँदैन’, बाथ, चर्म, हर्नियालगायतका रोगले पीडित भएका नेता पुनमगर भन्नुहुन्छ, ‘म रोगी बुढोले त मेहनेत गरेर पैसा कमाउन सकेको छु भने, स्वस्थ युवाले किन पैसा कमाउन सक्दैनन्, मेहनेत गर्नुहोस घरैमा सुन फल्छ, विदेश जानुपर्दैन् ।’

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया