'प्राकृतिक कुचीकार’ गिद्ध संरक्षणमा सफलता

 असोज ८, २०७५ सोमबार ७:५३:३० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन राष्ट्रिय निकुञ्ज गिद्ध संरक्षणमा सफल हुँदै गएको छ । प्राकृतिक कुचीकारका रूपमा चिनिने गिद्ध नासिँदै गएपछि संख्या बढाउन निकुञ्जले प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएको छ । 

नेपालमा प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने उद्देश्यअनुसार चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र (कृत्रिम बच्चा कोरल्ने स्थान) को स्थापना गरेको हो  । निकुञ्जमा सन् २००७ बाट १४ वटा बच्चा सुरु भएको गिद्ध प्रजनन केन्द्रमा पछिल्लो समय गिद्धको संख्या बढ्दै गएको छ । 

अति संकटापन्न अवस्थामा रहेको डंगुर जातका गिद्धको संख्या बढाउन गरिएको प्रयास सफल बन्दै गएको जानकारी दिँदै निकुञ्जका साहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले प्रजनन केन्द्रमा सुरुवाती वर्षमा बच्चा कोरल्न नसके पनि पछिल्ला वर्ष गिद्धले अन्डा पार्ने र बच्चा कोरल्ने क्रम बढ्दै गएको बताउनुहुन्छ । 

निकुञ्जले गिद्ध प्रजनन केन्द्र स्थापना गरेर गिद्धको संरक्षण गर्न गरेको प्रयास सफल हुँदै गएपछि संक्षणकर्मी उत्साहित भएका छन् । प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले यस वर्षको मौसममा १८ वटा अन्डा पारेर ६ वटा बच्चा कोरल्न सफल भएको पाठकले जानकारी दिनुभयो । 

निकुञ्जको कसरा क्षेत्रमा रहेको प्रजनन केन्द्रमा अहिले ५१ वटा गिद्ध रहेका छन् । ‘गिद्धको डीएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउन सकिने भएकाले केही बच्चाको लिंग पहिचान हुन सकेको छैन ।’ पाठकले भन्नुभयो, ‘कृषि तथा वन विज्ञान विश्वविद्यालयले गिद्धको डीएनए परीक्षण गरी लिंग पहिचान गर्दै आएका छौँ, छिट्टै पहिचान गर्दैछौँ ।’

प्रकृतिबाट लोप हुन लागेको गिद्ध प्रजनन केन्द्रमा रहेको खोरमा हुर्काएर प्रकृतिमा छाडिँदै आएको छ । केन्द्रमा गिद्धको बच्चा कोरल्नुलाई प्रजाति संरक्षणमा महत्वपूर्ण उपलब्धि भएको पाठकले बताउनुुभयो । प्रकृतिमा छाडिएका गिद्धलाई रेडियो कलर जडान गरिएकाले उनीहरूको गतिविधि अनुगमन सहज भइरहेको उहाँले जानकारी दिनुभयो । गिद्ध संरक्षणका लागि भएको प्रयासमा भारत र पाकिस्तानभन्दा नेपाल सफल देखिएको खड्काले बताउनुभयो । 

गिद्ध शिकारी चरा समूह अन्तर्गत पर्ने मांसहारी पंंक्षी  हो । गिद्धले आफैँ शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ ।

हिन्दू धर्ममा गिद्धलाई शनि देवताको वाहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । 

विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् भने दक्षिण एसियामा ९ प्रजाति । नेपालमा हाडफोर, सेतो, डंगुर, सानो–खैरो, हिमाली, खैरो, राज र सुन गिद्ध गरेर आठ प्रकारका गिद्ध पाइन्छन् । डंगुर र सानो–खैरो गिद्ध लोपोन्मुख छन् । 

डाइक्लोफेनेक औषधि गिद्ध विनाशमा प्रमुख कारण बनेपछि गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र विक्रीमा प्रतिबन्ध लगाइसकेको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०७५

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया