रुद्राक्षको सुरुक्षाका लागि सीसी क्यामेरा

 असोज ८, २०७५ सोमबार ९:२९:४१ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरमा पछिल्लो समय आम्दानीको स्रोत बनेको रुद्राक्षको सुरक्षाको लागि कृषकले सीसी क्यामेरा जडान गर्न थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा निकासी हुँदै आएको रुद्राक्षलाई सुरक्षा दिन उत्तरी दिङ्लामा सीसी क्यामेराको प्रयोग गर्न थालिएको हो ।

एउटा रुखबाट लाखौंको आम्दानी हुने रुद्राक्षको सुरक्षाका लागि कृषकहरु दिन रात रुखको फेदमा बस्ने गरेका थिए ।

रुद्राक्ष फल्ने समयमा रुखको फेदमा बसेर सुरक्षा दिँदै आएका कृषकहरुले सीसी क्यामेरा जडान गरेका हुन् । रुद्राक्षको बगैँचामा सीसी क्यामेरा जडान गरेर घरैमा बसेर कृषकले रुदाक्षको निगरानी गरिरहेका छन् । 

रुद्राक्षको खेती जागिर र अन्य व्यापार गर्नुभन्दा राम्रो आम्दानीको स्रोत बनेको भारतको चन्डिगढ कुरुक्षेत्र विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ गरेका व्यापारी रोसन भण्डारीले बताउनुभयो ।

अन्य व्यवसायभन्दा रुद्राक्ष व्यापार राम्रो र भरपर्दो बनेकोले आफू पनि यसै व्यवसायमा लागेको उहाँले बताउनुभयो । रुद्राक्ष सुरक्षाका लागि धेरै नागरिकहरु बगैँचामा बसेर नै सुरक्षा दिनपर्ने, रुद्राक्ष कुर्नका लागि मान्छे राखे पनि भरपर्दो नभएपछि यस वर्षदेखि सीसी क्यामरा जडान गर्न थालिएको भण्डारीले बताउनुभयो । 

लाखौंमा विक्रि हुने रुद्राक्ष कुर्नका लागि तलव दिएर कुरुवा राख्दा पनि राम्रो रुद्राक्षको दाना हराउने गरेकोले विकल्पमा सीसी क्यामेरा जडान गरिएको हो । उनले भने ‘यो चाहिँ भरोसा गर्न लायक माध्यम बनेको छ । प्राय सबैले जडान गरेका छन् ।’

सिसि क्यामेरा जडान गरेपछि रुद्राक्ष चोरी हुन छोडेको षडानन्द नपा–४ कृषक विरबहादुर तामाङ बताउनुहुन्छ । ‘अघिल्लो वर्षसम्म रुद्राक्षको बोट मुनि बस्ने ठाउँ बनाएर रातदिन बस्दै आएका थियौँ । अब यस वर्षदेखि सीसी क्यामेराले गर्दा बस्नु नपर्ने भयो ।’ उहाँ भन्नुहुन्छ ‘सीसी क्यामेरा जडान गर्दा कम जनशक्ति लाग्यो भने अर्को दुःख पनि नहुने भयो । सुरक्षा पनि भरपर्दो हुने भयो । चोरी भयो भने कसले ग¥यो भनेर पत्ता लागिहाल्ने भयो । ’

रुद्राक्षको बिक्रिबाट एकजना कृषकले बार्षिक रुपमा न्यूनतम १० लाख देखि उच्चतम २ करोडसम्म आम्दानी गर्दै आएको छन् । कुनैबेला भारतमा मात्रै निकासी हुने रुद्राक्ष अहिले चिनियाँ बजारमा निकासी हुन थालेपछि यसको मूल्य बढ्न थालेको छ । 

विशेषगरि चिनियाँहरुले रुद्राक्ष लान थालेपछि यसको माग ह्वात्तै बढेको साल्पासिलिछो–५ खाटाम्माका नरेन्द्र राईले बताउनुभयो । चिनियाँहरुले रुद्राक्षको गुणस्तर र बनोट हेरेर लाने गरेका छन् ।’ उहाँले भन्नुभयो ‘एकपटकमा झण्डै १० करोडभन्दा बढिको रुद्राक्ष उठाउने गरेका छन् त्यसैले रुद्राक्ष सुरक्षामा चुनौती थपिएपछि विकल्पमा सीसी क्यामेरा भरपर्दो माध्यम बनेको हो ।’

जिल्लाका उत्तरी क्षेत्रका साथै अधिकांश क्षेत्रमा रुद्राक्ष विस्तार गर्न थालिएको छ । रुद्राक्षको आम्दानीबाट जिल्लाको उत्तरी क्षेत्रमा कृषहरुको जिवनस्तर नै फेरिएको छ । अन्नवालीलाई जस्तो यसलाई मेहनत पनि नलाग्ने, सिजनको बेलामा मात्रै कुर्नुपर्ने भएकाले यसको  खेती सहज बनेको छ ।

फलेको बेला मात्रै चोरी हुने भएकोले कुर्नुपर्ने बाध्यता पनि सीसी क्यामेराले हटाइदिएपछि झन् सहज भएको रुद्राक्ष व्यापारी सुदेश राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ धेरै नफल्दा पनि वर्षको कम्तीमा १० लाखदेखि १५ लाख सम्म आम्दानी हुन्छ । यो त भगवानको कृपा जस्तै भएको छ ।’ घरमै बसेर राम्रो आम्दानी हुने भएकाले रुद्राक्ष खेतीतर्फ जिल्लाको अधिकांश भागका कृषकहरु आर्कषित हुन थालेका छन् । भोजपुर जिल्ला बाहेक संखुवासभा र खोटाङका कृषकहरुले समेत रुद्राक्ष खेती शुरु गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

स्थानीय तहले पनि रुद्राक्ष खेतीलाई व्यावसायीकरण गर्दै लैजाने सोच बनाएको षडानन्द नगरपालिकाका उपमेयर मेरिका राईले बताउनुभयो ।  आगामी नगरसभाले रुद्राक्ष खेतीका लागि नयाँ नीति बनाएर षडानन्द नगरपालिका क्षेत्रलाई  व्यवस्थित नर्सरी पकेटक्षेत्रको रुपमा स्थापित गरिने उहाँले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया