दुई सातापछि सञ्चालनमा आयो बेनी–जोमसोम सडक

 असोज ८, २०७५ सोमबार १२:३८:४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक झण्डै दुई हप्तापछि आइतबारबाट सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित काभ्रेभिरमा सडक माथिबाट आएको पहिरोका कारण बेनी–जोमसोम सडक गत भदौ २७ गतेदेखि अवरुद्ध बनेको थियो । 

बेनी–जोमसोम कालीगण्डकी करिडोर आयोजनाको पहलमा शर्मा गजुरमुखी जेभी कम्पनी प्रालिको मेसिन प्रयोग गरी नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ गरेर पहरा फुटाएपछि यातायात सेवा सुचारु भएको हो । पहिरोले अवरुद्ध बनाएको झण्डै ५० मिटरभन्दा बढी सडकको बीचमा पर्ने पहरा काटेर ट्र्याक खोलेपछि यातायात सञ्चालनमा आएको बेनी–जोमसोम कालीगण्डकी करिडोर आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । 

गएको भदौ महिनाको अन्तिम साता परेको भारी वर्षाका कारण बेनी–जोमसोम सडकको विभिन्न भागमा पहिरोले क्षति पुर्‍याएको थियो । सडकको अन्य स्थानमा यसअघि नै मर्मत गरेर सडक खुलाइए पनि दानाको काभ्रेभीरमा भने सडक खुलाउन १२ दिनको समय लाग्यो । अहिले अवरुद्ध सडकको पहरा काटेर चौडा र फराकिलो बनाइएको छ । सडक सञ्चालनमा आएपछि आइतबारको साँझदेखि नै बेनी–जोमसोम सडकमा सिधा सवारी यातायात सञ्चालन भएको सुपरभाइजर शेरचनले बताउनुभयो ।

जम्मा ७६ किलोमिटर रहेको बेनी–जोमसोम सडकमा पहिरोले सडक भत्काएपछि मुस्ताङ पुग्ने यात्रुहरु जोखिम मोलेर वारपार गर्न बाध्य भएका थिए । बेनीदेखि काभ्रेसम्म सिधा यातायात सञ्चालनमा आए पनि काभ्रेको भिरमा सडक नखुल्दा मुस्ताङ जाने यात्रुहरु पैदल हिँडेर भीर पार गर्नुपर्दा ज्यान हत्केलामा राख्नुपर्ने अवस्था थियो । नेपाली सेनाले यात्रुहरुलाई आवतजावतमा सहयोग पुर्‍याएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दी आवत–जावत गर्ने पर्यटक, तीर्थयात्री, सर्वसाधारण र यात्रुले सास्ती बेहोरेका थिए । 

राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भीरमा पहिरो तथा नदी कटानका कारण गत भदौ २७ गतेदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समेत समस्या भएको थियो ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै बेनी–जोमसोम सडकमा दैनिक ६०० भन्दाबढी सवारीसाधनहरु गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । बेनी–जोमसोम सडकमा दिनहुँ बस, जिप, स्कारपिओ, बोलेरो, ट्रक, ट्याक्सी, मोटरसाइकल र ट्याक्टर गुड्ने गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया