सरकारी कार्यालयमै हरायो वन्यजन्तुबाट पीडित नागरिकले पाउने क्षतिपूर्ति

 असोज ८, २०७५ सोमबार १४:३९:२४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – एक वर्ष बितिसक्दा पनि वन्यजन्तुको आक्रमणबाट भएको क्षति वापतको राहत रकम डिभिजन वन कार्यालय गुल्मीले किसानहरुलाई अझै उपलब्ध गराएको छैन ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोश्रो संसोधन २०७४) बमोजिम पीडितले पशुधन क्षतिवापत राहत पाउने व्यवस्था गरिएको छ । तर गुल्मी जिल्लाका १२ जना किसानहरुले भने गएको आर्थिक वर्षको राहत रकम अझैसम्म नपाएको गुनासो गरेका छन् ।

गएको आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट गुल्मीका १२ जना किसानहरुका घरपालुवा जनावरहरुमा क्षति पुगेको थियो । क्षतिवापत घटनाको प्रकृति हेरी डिभिजन वन कार्यालयले प्रति घरपालुवा जनावरको पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने प्रावधान रहेको छ ।

डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेका अनुसार पशु धनको क्षतिवापतको राहत रकम साविकको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराबाट जिल्ला वन कार्यालयको खातामा जम्मा भएको छ तर खर्च निकासा भएको छैन् । खर्च निकासा नहुँदा पीडितहरुलाई  राहत वितरण गर्न ढिलाई भएको उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय गुल्मीको तथ्यांक अनुसार गुल्मी जिल्लामा सबैभन्दा बढी चितुवाको आक्रमणबाट पशुचौपायामा क्षति पुगेको छ । गुल्मीका सातवटा स्थानीय तहहरुमध्ये गुल्मी दरबार र चन्द्रकोट गाउँपालिकाका किसानहरु चितुवाको आतंकबाट बढी प्रभावित भएको कार्यालयले जनाएको छ । 
    
 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया