रवीन श्रेष्ठले गुमाउने भए चार वर्षपछि हुन लागेको ए डिभिजन लिग

 असोज ८, २०७५ सोमबार १६:३२:५५ | रासस
unn.prixa.net

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् । 

नेपाल पुलिस क्लबसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एसियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा घाइते भएका थिए । त्यतिबेला उनको ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको थियो ।

त्यसपछि निरन्तर मैदान बाहिर रहेका उनी १८औँ एसियन खेलकुद प्रतियोगिताको तयारीका लागि थाइल्याण्ड गएको टोलीमा समावेश थिए । थाइल्याण्डमा त्यहाँको यु–२३ टोलीसँगको खेलमा उक्त चोट पुनः बल्झिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् । 

घुँडाको चोटका कारण उनले यसपटकको लिग गुमाउने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताउनुभयो । पुलिस क्लबले असोज १३ गतेदेखि सुरु हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा बुझाएको अन्तिम खेलाडी नामावली सूचीमा श्रेष्ठको नाम समावेश छैन ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया