आमासँग बोल्दाबोल्दै युएईमा गाडी दुर्घटनामा परेर पर्वतका एक युवाको मृत्यु

 असोज ८, २०७५ सोमबार १६:३४:८ | सन्तोष थापा

पर्वत – युएईमा आफैंले चलाएको गाडी दुर्घटना हुँदा पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामप्रसाद रिजालको ज्यान गएको छ । 

तीजको दिन आमालाई फोन गर्दै गाडी चलाउँदा दुर्घटनामा परेर रिजालको ज्यान गएको हो । बोल्दा बोल्दै फोन काटिएको थियो । त्यही बेला नै यामप्रसादले चलाएको गाडी दुर्घटना भएको थियो तर परिवारले भने दुर्घटनामा भएको पछि मात्रै थाहा पायो । 

८ वर्ष अघि युएई जानुभएका यामप्रसाद व्लुराइण्ड इन्टरनेशनल कम्पनीमा सुरुमा होडिङबोर्ड बनाउने  काम गर्नुहुन्थ्यो । केही समयअघि मात्रै उहाँले गाडी चलाउन थाल्नुभएको थियो । कम्पनीका अनुसार उहाँले चलाएको गाडीलाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएको हो । 

यामप्रसादको ज्यान गएको खबरपछि श्रीमती कोपिला रिजाल र आमा बुवा अचेत अवस्थामा छन् । उहाँको २० महिनाका छोरा पनि छन् । 

परिवारका ४ दाजुभाइमध्येका माइलो यामप्रसादले दाइ र भाइलाई समेत युएई लानुभएको थियो ।  यामप्रसादकै पहलमा युएई पुगेका दाजुभाइले नै गएको शुक्रबार उहाँको शव लिएर घर फर्किएका छन् । 
 


 

अन्तिम अपडेट: फागुन २९, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया