तेह्रथुममा ग्यासको मनपरी मूल्य

 असोज ८, २०७५ सोमबार १९:०:११ | प्रकाश धौलाकोटी

तेह्रथुम – तेह्रथुमका बजारहरुमा खाना पकाउने एलपी ग्यासको मूल्य मनपरी भएको गुनासो बढेपछि प्रशासनले चासो देखाएको छ । 

जिल्ला प्रशासन कार्यालयले सोमबार ग्यास व्यवसायीहरुसँग छलफल गरी एउटै मूल्य कायम गरी कारोबार गर्न आग्रह गरेको हो । व्यवसायीहरुलाई उपभोक्ताको अधिकार समेतलाई ध्यानमा राखेर मूल्य निर्धारण गरी कारोबार गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी होमागाईले जथाभावी मूल्य नतोक्न व्यवसायीलाई ध्यानाकर्षण गराएको बताउनुभयो । चाडपर्वको मुखमा खाना पकाउने ग्यासको कारोबार बढेसँगै बजारमा ग्यासको मूल्य मनपरी निर्धारण भएको उपभोक्ताको गुनासो रहेको छ । ग्यासको ढुवानीको कारण देखाउँदै व्यवसायीहरुबीचमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । तेह्रथुमका बजारहरुमा प्रिमा, सुविधा, कोशी र कन्काई कम्पनीका ग्यास उपलब्ध रहेका छन् । 

तर म्याङलुङ बजारमै ग्यासको फरक–फरक मूल्य रहेको छ । जिल्लाका लसुने, जिरिखिम्ती र म्याङलुङबजारमा ग्यासको फरक–फरक मूल्यमा कारोबार भइरहेको पाइएको छ । खाना पकाउने ग्यासको मूल्य सरकारले प्रतिसिलिण्डर १३ सय ४५ रुपैयाँ तोकेको छ । तर तेह्रथुमका बजारहरुमा भने ढुवानीको कारण देखाउँदै व्यवसायीले प्रतिसिलिण्डर १५ सय २५ रुपैयाँदेखि १६ सय रुपैयाँसम्म लिँदै आएका छन् । 

जथाभावी बजार मूल्यका कारण दुःख पाएको उपभोक्ताको गुनासो रहेको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया