नेतामाथि कुन्जनाको आक्रोश: कसरी अनुहार देखाउनुहुन्छ ?

 असोज ८, २०७५ सोमबार १९:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

हास्यकलाकार तथा  सामाजिक अभिनयन्ताद्वय सीताराम कट्टेल र कुन्जना  घिमिरेले पछिल्लो समय कलाकारितामा भन्दा पनि सामाजिक सेवा र काम बढी गरेको कुरा त सबैलाई अवगत नै छ ।  

यो जोडीले २०७२ सालमा गएको महाभूकम्पपछि घरबारविहीन भएका केही परिवारका लागि घर समेत निर्माण गरिदिइसकेका छन्  । उनीहरुले देश र जनताका लागि गरेको कामले नागरिक नै खुशी छन् । केहीले धुर्मुस अर्थात सीताराम नै देशको प्रधानमन्त्री हुनुपर्ने सुझाव दिँदै पनि आएका छन् । उनीहरुको बारेमा यस्ता थुप्रै ट्रोलहरु पनि भइरहेका हुन्छन् । 

उनीहरुले देशको लागि गरेको काम देखेर केहीले उनीहरुले अब राजनीतिमा प्रवेश गर्नु पर्ने सुझाव समेत दिएका छन् ।  तर धुर्मुस सुन्तलीले भने अहिले नै राजनीतिमा लाग्ने विषयमा केही पनि सोचेका छैनन् ।

हालै मात्र यही विषयमा हामीले उनीहरुसँग कुराकानी गर्ने मौका पायौँ ।

यस विषयमा बोल्दै सीतारामले भने,  ‘हामीलाई राजनीतिमा लाग्ने इच्छा अहिले नै छैन । तत्काल हामीले यस विषयमा केही पनि सोचेका छैनौँ  । अनि हामीले राजनीतिमा लाग्नका लागि सामाजिक काम गरेका पनि होइनौँ ।  हाम्रो काम राजनीतिको जग खन्नका लागि हैन । काम गर्ने सिलसिलामा  अघि बढिरहँदाखेरि नेपाली दिदीबहिनी दाजुभाइहरुले हामीलाई जुन किसिमको विश्वास गर्नु भएको थियो  हामीले गरेको काम पनि विकास निर्माणकै काम हो । देश बनाउन सकिन्छ ।  विकास गर्न सकिन्छ भन्ने उदाहरण हो । इच्छाशक्ति भएको खण्डमा देश विकास गर्नको लागि पञ्चवर्षीय योजना नै बुनिरहनु पर्छ जस्तो मलाई लाग्दैन ।  हामी देशको नेतृत्व गर्न नसक्ने हैन । उनले  र मैले देश बनाउन सक्छौँ ।  त्यसको खाका त्यसको भिजन  कुन तौरतरिका अपनाएपछि देश बन्न सक्छ भन्ने कुराको मूलभूत आधार र सुत्रहरु हामीलाई थाहा भइसकेको छ  । समाज रुपान्तरण गर्न सक्नुपर्छ । समाजलाई एकीकरण गरियो भने राष्ट्र बनाउन धेरै समय लाग्दैन । भोलिको कुरा भोलिलाई नै छोडिदिउँ । भोलिका दिनमा गएर सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीले  तपाईँहरुले देश विकास गर्नुपर्छ । नेतृत्व लिनु पर्छ । देश बचाइदिनुस बनाइदिनुस भनेर सामूहिक आवाज आएको खण्डमा हामी त्यो कुरामा पछि हट्ने छैनौँ  ।’

सीतारामले यति भनिसकेपछि कुन्जनाले पनि अगाडि थपिन्,  ‘यसमा म के भन्छु भने देश बनाउन तपाईँहरु चहियो ।  देशलाई तपाईँहरुको खाँचो छ  । यस्ता कुराहरु सुन्छु । मलाई लाग्छ सकारात्मक सोच भएको मान्छे नै देश विकासको लागि  खाँचो छ ।  हामी वा अरु कोही हैन ।  देशलाई लिड गर्न सक्ने मान्छेको खाँचो छ । 

पोलिटिकल हिसाबले  सोच्दाखेरि हामीलाई एउटा हत्यारा समाउन पनि ठूलो सञ्जाल बुनेको जस्तो देखियो । कहाँबाट कहाँ, कहाँबाट कहाँ  ? 
होइन भको चाहिँ के छ ? मलाई अचम्म लाग्छ । अनि कुरा चाहिँ बाहिरबाट हस्तक्षेपसम्मका कुरा पुग्छन् । सामान्य रुपमा लिने हो भने त्यहीँको त्यहीँ एउटा हत्यारा हिँडिरहेको हुन्छ । यो चाहिँ किन कारबाही हुन सक्या छैन ।  

यो सबै राजनीतिक खिचातानी  हो । एउटाको शासनमा अर्कोले सफल हुन नदिने  । अनि अर्कोको पालो आउँछ अर्कोले  सफल हुन  नदिने  । यही कारण हत्यारा पत्ता लागेको छैन । पहिला हाम्रो आमाहरुको पालामा केही हुनेबित्तिकै सबैलाई थाहा हुन्थ्यो । ठूलो खैला बैला  हुन्थ्यो । अहिले भने यहि को यहि हत्यारा हिनिराको हुन्छ । तर कसैले समाउन सकेको छैन । 

अहिले अपराधी खुलेआम हिँड्छ । मान्छे मर्छ । हत्या हुन्छ । कसैलाई कसैको मतलब छैन ।  देशको त्यो अवस्था बन्यो । यो सबै भएको बाहिरी हस्तक्षेपले होइन । हामी बाहिरको देशको सिमाना बढाउन गएको होर हामीलाई आफ्नो देश विकास गर्न गाह्रो भएको  ?  देशमा ठाउँ नभएर विकास नगर्या हो र हामीले ? कि देश  सानो भयो ठाउँ पुगेन अनि बाहिरको सिमाना ल्याएर बढाएर विकास गरौँ भनेर देश विकासमा ढिला भएको हो र ? 

ए बाबा, त्यहीँ भत्किरहेको बाटो टाल्नलाई किन यति गाह्रो ?  एउटा दुःख परेको घरमा गएर समवेदना तपाईँले प्रकट गरिदिनुस त त्यो परिवार कति खुशी हुन्छ । एउटा नेतृत्व  तहमा बसेको मान्छेले दुःख परेकाहरुलाई सान्त्वना दिने थमथम्याउने म छु । तपाईँको अपराधीलाई म समात्छु भनेर हेर्नुस् त उहाँहरु कति खुशी हुनुहुन्छ ।
 
हाम्रो देशमा कति बालबालिकाहरु स्कुल जान पाएका छैनन् । अनि सरकारले कहिलेकाहीँ हामीसँग अािर्थक समस्या छ भनेर भनिरहेको हुन्छ । अनि हामीले पनि त हामीसँग प्रशस्त पैसा भएर समाज सेवा गर्न सुरु गरेको त होइन नि । हामीलाई सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले नै सहयोग गर्नु भएको हो ।

अनि आज सरकारले देश बनाउँछु भन्दा कुन चाहिँ नेपालीले सहयोग गर्दैन होला के ।  यो नेतृत्व तहमा हामी चाहिएको हैन । त्यहाँ बसेका मान्छेहरुले चाहिँ यति पनि किन नगर्या ? देश विकास गर्न भनेर ठूलो जटिलता देखाउँछन् मान्छे । सुटबुट लगाएर र विदेश गइरहेका हुन्छन् । घरि कहाँ घरि कहाँ गैरहेका हुन्छन् । होइन त्यो विदेशमा किन गएको ? यता बौद्ध जोरपाटीको बाटो टाल्नलाई त्यता सोध्न गएको की । काठमाडौंको क्षमता भन्दा बढी गाडीहरु भएर जाम भइरहेको छ भनेर त्यो बुझ्न गाको होकी   । मलाई अचम्म लाग्छ । 

देश विकास गर्नलाई, समाज परिवर्तन गर्नलाई राजनीति गर्नै पर्छ भन्ने छैन । घरमा छोरीले पढेपछि बाउले शुल्क तिर्दिनु परेन । छोराछोरी चाहिँ टन्न जन्माउने अनि फिस तिर्ने बेलामा नतिदिर्ने । मैले भन्न खोजेको चाहिँ देशका  यत्रा जनतालाई पाल्छु । सबैलाई सुखशान्ति दिन्ुछ भन्दै नेतृत्व तहमा बसेपछि  जनताको सानो माग पूरा गर्न नसक्नेले  त त्यहाँ बस्नु पनि किन ?

चुनाव आउँदाखेरि चाहिँ यो पार्टी उ पार्टी मेरो मान्छे तेरो मान्छे भनेर जिताउने । यही कारण घरमा लोग्नेस्वास्नीकै झगडा पर्छ ।  लोग्ने एउटा पार्टीको श्रीमती अर्को पार्टीको  । अनि यो सब देखेर बच्चाहरु ट्वाँ पर्छन् । त्यो बच्चालाई त्यहाँदेखि नै राजनीतिमा वितृष्णा हुन थाल्छ ।  राजनीति आफैमा नराम्रो होइन नि त  ।  तर यसलाई राम्रो बनाउन सकिएको छैन । 

विकास गर्ने कुरामा तपाईँको देशमा भत्किएका बाटो टाल्ने कुरामा म तयार छु । तपाईँ भोट यस्तो मान्छेलाई हाल्नुस जसले जितेर नेतृत्व तहमा पुगेपछि विकास गर्न बाध्य बनोस् । तपाईँको भोट तपाईँको सोच निष्पक्ष हुनुपर्यो । 

हामीले पनि त देशमा भूइँचालो जाला र हामीले देश विकास गरौँला भनेर सोचेका थिएनौँ । हामी त त्यतिबेला अमेरिकामा बुढाले बुढीलाई अनि बुढीले बुढालाई गाली गरेर दुई चार पैसा कमाउँदै थियौँ । एउटा सामान्य धुर्मुस सुन्तली भएर विदेश कस्तो रहेछ हेर्दै थियौँ । तर हामी त्यहाँबाट फर्केर समाज सेवी बन्यौँ । यो त हाम्रो प्लान अनुसार भएको हैन । 

राजनीतिमा पनि हाम्रो केही योजना छैन । मान्छेहरु धेरैलाई लाग्छ यी धुर्मुस सुन्तलीको पछाडि त के ठूलो  चिज छ होला भन्ने । केही पनि छैन । हामी साधारण छौँ । त्यो राजनीति भित्र जान सक्ने र त्यो बुझ्ने सोचाई पनि छैन ।  त्यो बुझ्यो भने त म ढल्ने रहेछु ।  

यतिसम्मको सोचाई अहिले विभिन्न काण्डहरुले मच्चाइरहेको छ । त्यस कारण यस्तो किसिमको राजनीति गर्नु चाहिँ छैन । तर देश विकास गर्ने ठाउँमा, काठमाडौंलाई हराभरा बनाउने ठाउँमा  आउनुस् । एक भएर काम गर्नु पर्यो भने त्यसलाई राजनीति भन्छन् की के भन्छन्  तपाईँहरुको भाषामा जान्नुस् । त्यो काममा चाहिँ हामी अघि बढ्न सक्छम् ।’

कुन्जनाले यति भनेपछि  सीतारामले पनि उनको कुरामा सही थापे । फेरि कुन्जनाले थपिन्, ‘मलाई धेरैले आक्रोशित भन्नुहुन्छ । तर  अहिले नेपालमा बस्ने सबै नेपाली आक्रोशित हुने बेला छ । कतै जानु पर्यो भने घण्टौँ जाममा बस्नुपर्छ । बाटो साँघुरो ।  गाडीको चाप बढी । अनि एउटा बाटो जाम हुनेबित्तिकै चारवटा बाटो जाम हुन्छ । न दायाँ जान सकिन्छ । न बायाँ ।  स्कुल जाने बच्चाहरु समयमा स्कुल पुग्दैनन् । अफिस  जाने आमाबुवा समयमा पुग्दैनन् । बिरामीलाई समयमा अस्पताल पुर्याउन सकिएको छैन ।  काठमाडाैंको जाममा परेपछि उम्किनै मुश्किल छ ।  

अनि त पारा तात्छ ।  हरेक नेपालीको पारा तात्ने काम भइरहेको छ । किन देश सिस्टममा चल्न सकेको छैन ।  यति पनि व्यवस्थित गर्न नसक्नेले के राजनीति गर्नु ? के नेतृत्व तहमा बस्नु ?   सम्बन्धित निकाय र सम्बन्धित वर्गलाई एउटा ठूलो प्रश्न छ, कसरी अनुहार देखाएर हिँड्न सक्नुहुन्छ ? म पोइल गएर मेरो छोरीको अगाडि मैले कसरी मुख देखाउने होला । म  कति निर्लज्ज हुन्छु होला । त्यसरी बुझिदिनु भयो भने राम्रो हुने थियो ।  देशमा जता जाउँ कतै पनि मान्छेलाई सन्तोष छैन ।  कुनै पनि नेपालीलाई सुख शान्ति छैन । जो नेतृत्व तहमा हुनुहुन्छ उहाँहरुलाई यी तीन करोड जनताको श्राप त लाग्छ लाग्छ ।’ 

 

अन्तिम अपडेट: कात्तिक २, २०७५

2 Comments

  • तुलबहादुर पुन

    Sept. 25, 2018, 7:25 a.m.

    समाजसेवाबाट राजनीतिमा लाग्नु भयो भने हजुरहरुको समाजसेवा नै सकिन्छ, तसर्थ समाजसेवा नै ठिक छ।किनकी समाजसेबाट नै धेरै गर्न सकिन्छ।राजनीतिमा लागियाे भने अपराधलाई सत्य र सत्यलाई अपराध बनाउँदा अन्तिममा हाम्रो नतिजा शुन्य हुन्छ।

  • नरविन साउद

    Sept. 25, 2018, 12:25 a.m.

    कुन्जनाजी को कुरा एकदम ठिक

तपाईको प्रतिक्रिया