नेपाल टेलिकमको भवन अलपत्र

 असोज ९, २०७५ मंगलबार ८:१०:५४ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ – निर्माण कार्य पूरा हुन नसक्दा धादिङको नेपाल टेलिकम भवन अलपत्र बनेको छ । 

निर्माणाधीन नेपाल टेलिकम भवन चाँदनी/राम जेभी कन्ट्रक्सनले २०७० साल  चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो ।

२०७१ साल वैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म भवनले पूर्णता पाएको छैन । २ करोड २ लाख ४८ हजार ७ सय ८९ रुपैयाँ ७८ पैसामा निर्माणको सम्झौता गरिएको भवन अहिलेसम्म ३ ढलान बाहेक अरु केही काम भएको छैन । 

लामो समयदेखि निर्माण कार्य थालनी भएको भवनको बनेका संरचना जीर्ण हुन थालेका छन् । निर्माण सामाग्री यत्रतत्र छरिएका छन् । झण्डै १ सय बोराको सिमेन्ट चाङ लगाएर राखिएको छ ।

सबै सिमेन्ट काम नलाग्ने भएको छ । रड तथा चूरी तारहरुको अवस्था पनि उस्तै छ । तर निर्माण कार्य रोकिएको लामो समय भैसक्दा पनि भवन निर्माण कार्य सुरु हुन नसक्दा समस्या भएको हो ।

समय अवधि सकिएपछि ठेकेदार समय सीमा थप्न पटक–पटक आएको क्षेत्रीय निर्देशनालय त्रिपुरेश्वरले जनाएको छ । विभिन्न कागजात तथा पूरा गर्नुपर्ने प्रक्रियामा रहेको र ठेकेदारले छिट्टै निर्माण कार्य सुरुवात गर्ने जानकारी दिएको उनीहरु बताउँछन् । 

मासिक ८० हजार घर भाडा, समस्याको उस्तै चाङ

नेपाल टेलिकमको निर्माणाधीन भवनले पूर्णता पाउन नसक्दा २०७० सालदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको नेपाल टेलिकम जिल्ला शाखा धादिङका प्रमुख खगेन्द्र कटुवालले बताउनुभयो ।

‘घर बन्ला–बन्ला भन्दै कुरेको वर्षाै भयो । तर बन्ने छाँटकाट देखिएन । घर भाडा मात्रै हामी ८० हजार तिर्छाै’, कटुवालले भन्नुभयो, ‘घर साहुले आफूलाई घर चाहियो छाड्दिनुस भनेर पटक–पटक भन्नुभएको छ । कार्यालयको भवन बन्न सकेको छैन । ढलान मात्रै भएको छ । बन्ने कहिले ? सर्ने कहिले ? एकादेशको कथा हुने भो, हामी त समस्याको चपेटामा छौं ।’

त्यस्तै भवन अभावका कारण सेवाग्राहीलाई सेवा तथा सुविधा विस्तार गर्न समस्या भएको कटुवालले बताउनुभयो । ‘जमाना प्रविधिको छ, भवन अभावका कारण धादिङमा Fiber to the home (FTTH)  जस्ता प्रविधि भित्र्याउन सकिएको छैन’, उहाँले भन्नुभयो ।

सेवा विस्तारमा पनि उस्तै समस्या छ । कार्यालयमा आवश्यक सामाग्री राख्ने ठाउँ नहुँदा समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । भवनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भए काम गर्न सजिलो र कार्यालयबाट दिने सेवा तथा सुविधामा थप गुणस्तर हुने तथा सेवा विस्तार गर्न सकिने विश्वास रहेको उहाँको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया