सुर्खेतमा प्रदेश स्तरको विमानस्थल बन्ने

 जेठ २३, २०७५ बुधबार ६:२२:१८ | रासस


सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्ने भएको छ । 

अन्तर्राष्ट्रिय स्तरका रुपमा निर्माण हुने भनिएको विमानस्थलमा बढी लागत लाग्ने भएकाले अहिले प्रादेशिक विमानस्थल निर्माण गर्ने भएको हो । 

यसअघि साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित एक दशक अघिदेखि सुर्खेतमा अध्ययन थालिएको थियो । 

अन्तर्राष्ट्रिय विमानस्थलका लागि सुर्खेतका उत्तरगंगा, रामघाट र मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो । तीमध्ये अहिलेको भेरीगंगा नगरपालिकामा पर्ने ‘मदानेचौर’ विमानस्थलका लागि उचित ठानिएको थियो । 

विमानस्थल निर्माणका लागि अध्ययन गरिरहेको नागरिक उड्डयन प्राधिकरणले लागत बढी लाग्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पछि हट्नु परेको जनाएको छ । 

प्रादेशिक स्तरको विमानस्थल बनाउन पनि कम्तीमा १० अर्ब रुपैयाँ खर्च लाग्ने प्राधिकरणले जनाएको छ । अब बन्ने भनिएको प्रादेशिक स्तरको विमानस्थलमा दुई हजार ६०० मिटरसम्म रन–वे बनाउन सकिने सम्भावना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो । 

विमानस्थल निर्माणका लागि काम शुरु भएमा आगामी पाँच वर्षभित्र नै सम्पन्न भइसक्ने उहाँले बताउनुभयो । 

विमानस्थल निर्माणको विषय अहिलेको संघीय बजेटमा समावेश गरिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले बजेटमा उक्त विमानस्थल नसमेटिए पनि प्राधिकरणले बनाउने बजेटमा समावेश गरिने आश्वासन दिनुभयो । 

पर्यटनका हिसाबले कर्णाली प्रदेशलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै उहाँले यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया