१० वर्षपछि माडी पुल निर्माणको जिम्मा एसियाटिक राज जेभी कन्ट्रक्सन कम्पनीलाई !

 असोज ९, २०७५ मंगलबार १४:४:२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सदरमुकाम लिवाङ र पश्चिम भेगका ६ गाउँपालिकालाई जोड्ने माडी खोलामा पुलको जिम्मा १० वर्षपछि फेरि अर्काे निर्माण कम्पनीलाई जिम्मा दिइएको छ ।

२०६५ सालमा टेन्डर आह्वान गरी लामा/एडी/धर्मेन्द्र जेभी कम्पनीलाई पुल निर्माणको जिम्मा दिइएको भए पनि त्यस कम्पनीले निर्माण नगरी अलपत्र पारेकाले त्यस कम्पनीसँगको टेन्डर खारेज गरेर १० वर्षपछि एसियाटिक राज जेभी कन्ट्रक्सनलाई पुल निर्माणको जिम्मा दिइएको हो ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख सुरेश न्यौपानेका अनुसार पुल निर्माणका लागि कार्यालयले २०६५ सालमा ३ करोड ९२ लाखमा निर्माणको जिम्मा दिएको थियो । तर त्यस कम्पनीले १ करोड ६८ लाख ९२ हजारको काम गरी लामो समयसम्म पुल अलपत्र पारेकाले पहिलाको कम्पनीलाई कारबाही गरी अर्काे कम्पनीलाई जिम्मा दिइएको हो ।

‘पहिलाको कम्पनीलाई कालो सूचीमा राखेर नयाँ टेन्डर प्रक्रियाबाट पुल निर्माण सुरु भएको छ’, न्यौपानेले भन्नुभयो । त्यस कम्पनीले १ करोड ६० लाख ७३ हजार रुपैयाँ भुक्तानी समेत लगेको कार्यालयले जनाएको छ ।

अबको डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी जम्मा ३ करोड ३५ लाख ९७ हजार रुपैयाँमा एसियाटिक राज जेभीलाई जिम्मा दिइएको डिभिजन प्रमुख न्यौपानेको भनाई छ ।

लामो समयसम्म पुल निर्माण हुन नसकेपछि केही वर्षयता माडीखोलामा अस्थायी रुपमा बेलीब्रिज जडान गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया