प्रधानमन्त्रीले नियुक्त गरेका प्रमुखलाई स्वास्थ्यमन्त्रीले हटाइदिए

 असोज ९, २०७५ मंगलबार १४:३५:५२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको जेठ १४ गते भेरी अञ्चल अस्पतालको निमित्त प्रमुखको रुपमा डा. प्रकाश थापालाई नियुक्त गर्‌‌यो ।

अस्पताल सुधारका लागि डा. थापाले काम अघि बढाइरहदा साँढे ३ महिनामै (अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) परिवर्तन गरिएको छ ।  मन्त्रालयले डा. रुपानन्द अधिकारीलाई मेसुको रुपमा नियुक्त गरेको हो ।

एकजना प्रमुखले अस्पताल सुधारका लागि योजना बनाएर कार्यान्वयनमा लैजान खोजेको अवस्थामा अर्को मेसु आउनु अस्पतालको दीर्घकालिन हितमा नभएको कर्मचारीहरुको भनाई छ ।  थापाले मेसु परिवर्तनलाई आफूले स्वभाविक रुपमा लिएको बताउनुभयो ।

‘सरसफाइलगायत अल्पकालीन योजना छोटो अवधिमै पूरा भएको छ’, डा. थापाले भन्नुभयो, ‘दीर्घकालीन योजना समयमै कमभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा डा. थापालाई मेसुमा नियुक्ती गरिएको थियो । अहिले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भएपछि प्रधानमन्त्रीको निर्णय उल्टाइएको हो । 

साँढे ३ महिनाको छोटो समयमै डा. थापाले भेरी अञ्चल अस्पतालको सरसफाईसँगै सुधारका क्षेत्रमा महत्वपूर्ण सुरुवात गरेको अस्पतालमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।  अस्पताल प्रदेश सरकार मातहत गइसक्दा संघीय मन्त्रालयले  छोटो अवधीमै मेसु परिवर्तन गर्नु अनावश्यक हस्तक्षेप भएको कर्मचारीहरुको भनाई छ ।
श्रोतका अनुसार डा. थापाले आफू निकटका व्यक्तिलाई अस्पतालमा कर्मचारी नियुक्ति गर्न नमानेको र समन्वय नगरेको भन्दै फोरमको नेतृत्व असन्तुष्ट थियो । भेरी अस्पताल सुधारका लागि महत्वपूर्ण थालनी गरेका डा. थापालाई  अस्पताल अस्तव्यस्त पारेको लगायतका आरोप लगाइएको कर्मचारी श्रोतले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया