सरकारी जागिर छोडेर हास्यकलाकार

 असोज ९, २०७५ मंगलबार १४:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

हास्यकलाकार अर्जुन घिमिरे उर्फ पाँडेको आज जन्मदिन परेको छ । 

नुवाकोट जिल्ला ओखरपौवामा अर्जुनको जन्म भएको हो । २ जना दाइ र एक जना दिदीपछि परिवारमा उनको आगमन भएको हो । उनकी  एक जना बहिनी पनि छिन् ।  अर्जुनको बाल्यकाल पनि जन्मेकै ठाउँमा बित्यो । उनले कक्षा ५ सम्मको अध्ययन पनि गाउँबाटै पूरा गरे । तर पछि काठमाडौंको नागार्जुन माध्यामिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे ।  

नागार्जुन माध्यामिक विद्यालयबाट एसएलसी गरेका उनीे त्यसपछिको अध्ययनको लागि काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा मानविकी संकायमा भर्ना भए । उनले  पत्रकारिता पढे । तर उनले पढाईलाई निरन्तरता दिन भने सकेनन् ।

उनको अध्ययन स्नातक तह तेस्रो वर्षमा पुगेर रोकियो । कारण थियो उनको व्यस्तता । उनी स्नातक तह तेस्रो वर्षमा प्रवेश गर्दासम्म कलाकारितामा व्यस्त हुन थालिसकेका थिए । उनलाई  कलाकारितामा केही गर्नुपर्छ भन्ने जोश र जाँगर थियो । त्यसै  कारण उनी कलाकारितामा बढी सक्रिय भएर अध्ययन पूरा गर्न सकेनन् ।

कलाकारिताको सुरुवात

उनलाई बाल्यकालदेखि नै कलाकार बन्ने चाहना थियो । यही कारण उनी आफूले पढ्ने विद्यालयमा त्यसताका छायाकंन हुने प्रायः सिरियलहरुको छायाँकंन हेर्ने गर्थे । 
विद्यालय स्तरदेखि नै गाउँमा विशेष अवसर पारेर अयोजना हुने कार्यक्रमहरुमा देखाइने नाटकहरुमा अर्जुनले पनि अभिनय गर्ने गर्थे । उनले  विद्यालय स्तरको अध्ययन गर्दा नै अभिनयमा डेब्यू गर्ने अवसर पाएका थिए । 

कक्षा ६ मा अध्ययन गर्दा उनले त्यसताकाको चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’मा काम गर्ने अवसर पाएका थिए । यो नै उनको डेब्यू टेलिसिरियल हो । कलाकार बन्ने सोच भएका अर्जुनलाई टेलिभिजनमा देखिन थालेपछि झन् कलाकारिताको मोहले तान्न थाल्यो । उनी कलाकारिता तर्फ झनै आकर्षित हुँदै गए र कलाकारितालाई उनले कहिल्यै पनि मर्न दिएनन् ।

सरकारी जागिर छोडेर कलाकार

अर्जुनले कलाकारितामा फाट्टफुट्ट कामहरु ग्रिरहेकै बेला सरकारी जागिर खाने अवसर प्राप्त गरे । उनले सरकारी जागिर खाए पनि  । तर उनले संकटकालमा खाएको जागिर संकटकालमै सकियो । उनका दाइ पुलिसमा कार्यरत थिए । त्यसै कारण संकटकालको बेला उनलाई दाइले आर्मीमा भर्ति हुने चाँजोपाँजो मिलाए । दाजुकै चाँजो पाँजो अनुसार उनी आर्मीमा भर्ती पनि भए । तर छोटो समयमै उनले उक्त जागिर छोडे ।

संकटकालमा उनीसँगै उनका केही साथीहरुलाई त्यसबखत जागिर छोडाइएको अर्जुन बताउँछन् । सरकारी जागिर छोडेपछि अर्जुन पूर्ण रुपमा कलाकारितामा सक्रिय हुन थाले ।  हुन पनि उनको सक्रियताले सफलता पायो ।

पाँडे बन्न गाह्रो

अहिले उनी पाँडेको रुपमा चर्चित छन् । उनको यो क्यारेक्टरलाई निकै नै रुचाइएको छ । लामो समयको संघर्षपछि उनलाई  पाँडे चरित्रले नै एउटा अब्बल कलाकारको रुपमा चिनाएको हो । दर्शक हँसाउन पाँडे बनेर अभिनय गर्ने गर्छन् । तर उनलाई यो चरित्र निर्वाह गर्न निकै नै कठिन छ ।  

धेरैजसोले त उनको यो अभिनय देखेपछि साँच्चिकै बुढो मान्छेको अभिनय हो भन्ने पनि सोच्छन् । उनको यो चरित्र हेरेर दर्शकलाई हाँस्न जति सजिलो छ त्यत्तिकै गाह्रो उनलाई यो चरित्र निर्वाह गर्न  छ । 

उनले यो चरित्र निर्वाह गर्दा धेरै कुरामा ध्यान दिनु पर्छ । बुढो देखिन उनी कुप्रिने गर्छन् जसले गर्दा उनी साच्चिकै कुप्रो परिसकेको बताउँछन् ।   अर्को कुरा उनलाई वास्तविक जीवनमा पनि पाँडेले नछोड्ने गरेको छ ।  उनी आफ्नो चरित्रमा मज्जाले डुब्ने गरेका कारण पनि वास्तविक जीवनमा कतै जाँदा पनि पाँडे चरित्र हाबी हुने गरेको उनको भनाई छ ।  तर दर्शकले दिएको जुन किसिमको माया र साथ छ उनी यो माया र साथको अगाडि यो दुःख केही पनि नभएको बताउँछन् । 

अन्तरजातीय विवाह

अर्जुनले ६ वर्ष अघि सुनिता मल्लसँग प्रेम विवाह गरेका छन् । उनको सुनितासँग अन्तरजातीय विवाह भएको हो । विवाहको समयमा अर्जुनले सिस्नो पानी नामक टेलिसिरियलमा काम गर्थे । 

अर्जुन र सुनिताकी एक छोरी छिन् । विवाह अगाडि सुनिता सौन्दर्य पेशामा आवद्ध थिइन् । उनी  विवाह अघि पार्लर सञ्चालन गर्थिन् । अर्जुनसँग विवाह गरेपछि भने सुनिता पारिवारिक काम र हेरचाहमै व्यस्त छिन् । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया