राष्ट्रिय भलिबल : महिलातर्फ आर्मीकाे पहिलाे जित, पुरुषतर्फ हेल्...
चैत ६, २०८० मंगलबार
बैतडी – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मंगलबार बिहान पुनः खोलिएको छ ।
धौलीगङ्गा बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने जानकारी बाँध प्रशासनले दिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बिहानै ८ बजेदेखि बाँध खोल्ने भन्ने जानकारी आएको छ, त्यहाँको पानी सदरमुकाम पुग्न तीन घण्टा लाग्छ ।’ यस वर्षमात्रै परियोजनाको बाँध छैटौँ पटकसम्म खोलिएको हो ।
परियोजनाले पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बेलाबेलामा बाँध खुला गर्दै आएको छ । बाँधको पानी खोल्दा महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
बाँधबाट बढी मात्रामा पानी खोल्दा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउ नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
दुईसय असी मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गरेकाले नेपालतर्फ पनि सतर्कता अपनाउन सजिलो भएको हो ।
विसं २०७० मा उक्त बाँध खोल्दा दार्चुला सरमुकाममा अर्बौको धनमाल क्षति भएको थियो ।