बलात्कृत हुनबाट जोगिइन् किशोरी

 असोज ९, २०७५ मंगलबार १६:१:५९ | गोविन्द शर्मा

बाँके – बाँकेको खजुरा गाउँपालिकामा एक १४ वर्षीया किशोरी बलात्कार हुनबाट जोगिएकी छन् । 

आइतबार साँझ रुँदै चिच्चाउँदै गरेपछि  स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले किशोरीको उद्धार गर्न सफल भएको हो । बाँकेको खजूरा गाउँपालिका –२, गौघाटबाट एकजना १४ वर्षीया किशोरी काकीसँग खजूरा गाउँपालिका– ५, उढरापुर फर्कँदै थिइन् । 

बीच बाटोमा साइकलमा आउँदै गरेका व्यक्तिले काकीको अनुरोधमा बालिकालाई घर पुर्‍याइदिने भन्दै साइकलमा बसाएर ल्याए । तर उढापुरका ६५ वर्षीय  साकिर अली दर्जीले सिधा बाटोबाट घर पुर्‍याउनुको साटो बर्दियासँग सीमा जोडिएको मानखोलाको जङ्गली बाटोतर्फ लिएर गए । त्यसै क्रममा किशोरी रुँदै कराउँदै गरेपछि नजिकैका स्थानीयले उनको आवाज सुनेर खबर गरेपछि तत्काल प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक मख्खनप्रसाद यादवले जानकारी दिनुभयो । 

यादवले घटनास्थलबाटै पक्राउ गरिएका दर्जीलाई बाल यौन दुराचार मुद्धामा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

बाँकेमा पछिल्लो समय बलात्कारका एकपछि अर्को घटना भइरहँदा खजूरामा एकजना किशोरीमाथी बलात्कारको प्रयास भएको सार्वजनिक भएको हो ।  

कोहलपुरमा हजुरबुवाले १३ वर्षीया नातिनीलाई र नातेदारले ६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा दुवै जना पक्राउ भई मुद्दा चलिरहेको छ । यसैगरी नेपालगञ्जमा आफू साइबाबा भएको दावी गर्ने व्यक्ति बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया