सेनाले विष्फोटक पदार्थ उपलब्ध नगराउँदा सडक निर्माणको कामले गति लिएन

 जेठ २३, २०७५ बुधबार ६:५६:१७ | शंकर धामी
unn.prixa.net


दार्चुला – त्रिदेशीय सीमाक्षेत्रमा जोडिने दार्चुला तिंकर सडक निर्माणको काम तीन वर्षदेखि ठप्प जस्तै भएको छ । सात नम्बर प्रदेशमा निर्माणाधीन रणनीतिक महत्वको यस सडकमा नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा निर्माण कार्य प्रभावित बनेको हो ।

सडक निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको व्यवस्थापन गर्न नेपाली सेनासँग सम्झौता भएकोमा सम्झौता अनुसार विस्फोटक पदार्थ उपलब्ध हुन नसकेको दार्चुला तिंकर सडक योजनाले जनाएको छ । पटक पटक पत्राचार गरी विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनालाई अनुरोध गरिएको योजना कार्यालयको अभिलेख छ ।

२०७२ वैशाख १२ को भूकम्पपछि काठमाडौको स्वयम्भूमा उत्पादन हुने विस्फोटक पदार्थ आपूर्तिमा समस्या भएकाले सडक निर्माण कार्य प्रभावित बनेको दार्चुला तिंकर सडक योजनाका सुचना अधिकारी दिनेश रैखोलाले बताउनुभयो । पूर्व सम्झौताअनुसार नेपाली सेनाले आवश्यक मात्रामा विस्फोटक पदार्थ आपूर्ति गर्न नसकेको उहाँले बताउनुभयो । 

कडा चट्टानी भूबनोटका कारण तिंकर सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गर्नुको विकल्प छैन । उत्पादन कम भएकाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकिने जानकारी नेपाली सेनाबाट आएको समेत योजनाले जनाएको छ ।

दार्चुला सदरमुकामदेखि १ सय ३० किलोमिटर अगाडि चीनको सिमाना जोडिने तिंकर भञ्ज्याङसम्म सडक निर्माण गर्ने नेपाल सरकारको लक्ष्य छ । डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला आर्थिक वर्ष २०६५/०६६ देखि दार्चुला तिंकर सडक योजना सुरु गरिएको थियो ।

खलंगादेखि राप्लाको घाटिबगडसम्मको ६० किलोमिटर क्षेत्रमा टेण्डर खोली सडक निर्माणको सम्झौता समेत भइसकेको योजना प्रमुख रामचन्द्र साहले बताउनुभयो । सुन्सेरासम्मको करिब ४० किलोमिटर लामो सडकको ट्रयाक खोलिने क्रममा छ । केही स्थानमा चट्टान काट्न बाँकी रहेकाले सुन्सेरासम्म गाडी सञ्चालन भने हुन सकेको छैन । खलंगादेखि हिकिलासम्मको क्षेत्रमा भने ट्रयाक खोलिएको छ । तर राताकाठा भीरमा साघुरो र भिरालो सडक भएकाले यातायात सञ्चालन गर्नु जोखिमपूर्ण रहेको छ । 

सम्झौताको एक चौथाई मात्रै आपूर्ति

नेपाली सेनाले दार्चुला तिंकर सडक योजना निर्माणका लागि २० मेट्रिक टन विस्फोटक पदार्थ उपलब्ध गराउने सम्झौता गरेको थियो । तर सम्झौतामा उल्लेखित परिणामको एक चौथाई अर्थात ५ दशमलव ७ मेट्रिक टन जिलेटिन मात्रै उपलब्ध गराएको छ ।

२०७२ वैशाखको भूकम्प आउनुपूर्व सेनाले जिलेटिन उपलब्ध गराएको थियो । भूकम्पपछिको समयमा जिलेटिन उपलब्ध गराउन नेपाली सेना असफल देखिएको हो । दार्चुला तिंकर सडक योजनाले पटक पटक मौखिक र लिखित अनुरोध गर्दा पनि नेपाली सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेको आयोजनाका कर्मचारी बताउँछन् ।

विभिन्न मितिमा गरेर सम्झौताको एक चौथाई मात्रै जिलेटिन उपलब्ध भएको अभिलेख योजना कार्यालयमा छ । सम्झौताअनुसारको विस्फोटक पदार्थ प्राप्त गर्नका लागि सडक योजनाले १० मेट्रिक टन जिलेटिनको मूल्य समेत सेनालाई भुक्तानी गरिसकेको छ । तर १० मेट्रिक टन जिलेटिनको भुक्तानी पाएको नेपाली सेनाले सडक योजनालाई ५ दशमलव ७ मेट्रिक टन मात्रै विस्फोटक पदार्थ दिएको छ ।

नेपाली सेनाले जिलेटिन दिन नसकेपछि २०७२ भदौदेखि सडक विभाग र भौतिक योजना तथा यातायात मन्त्रालयले पहल गरेको थियो । अढाई वर्षसम्म विभाग र मन्त्रालयको पहलले परिणाम दिन सकेन । २०७४ चैत्रमा भने बझाङ जिल्लामा निर्माणाधीन कालाङगाड जलविद्युत आयोजनाबाट विस्फोटक पदार्थ सापटी लिने गृहकार्य अघि बढेको छ । 

दश मेट्रिक टन जिलेटिन सापटी लिईंदै

दार्चुला तिंकर सडक निर्माणमा नेपाली सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेपछि सडक योजनाले १० मेट्रिक टन जिलेटिन सापटी लिन लागेको छ । बझाङ जिल्लामा निर्माणाधीन कालङगाड जलविद्युत आयोजनाका लागि भण्डारण गरिएको विस्फोटक पदार्थ सापटी लिन लागिएको योजना प्रमुख रामचन्द्र साहले बताउनुभयो ।

जलविद्युत आयोजना निर्माणमा संलग्न इन्टिग्रेटेड इनर्जी म्यानेजमेन्ट गु्रप प्रालिले विस्फोटक पदार्थ सापटी दिन सकिने बताएपछि प्रक्रिया अगाडि बढिरहेको आयोजनाले जनाएको छ । विस्फोटक पदार्थको ढुवानी, भण्डारण र प्रयोगको अनुगमनमा नेपाली सेना संलग्न हुने भएकाले प्रक्रिया पूरा गर्न केही समय लागेको छ । 

प्रालिले गत चैत २२ गते सडक विभागलाई विस्फोटक पदार्थ सापटी दिन सकिने लिखित जानकारी गराएको थियो । व्यास गाउँपालिका र दुहुँ गाउँपालिकाले विस्फोटक पदार्थ व्यवस्थापनका लागि लिखित पहल गरेपछि उपलब्धि हुने अवस्थामा आइपुगेको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो ।

सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत गृह मन्त्रालय, रक्षा मन्त्रालय र नेपाली सेनासंग यसबारे पत्राचार गरिसकेको छ । नेपाली सेना र रक्षा मन्त्रालयको सहमतिमा गृह मन्त्रालयबाट यसबारे स्वीकृति प्राप्त भइसकेको दार्चुला तिंकर सडक योजना प्रमुख रामचन्द्र साहले बताउनुभयो ।

एक दुई दिनभित्रै सडक योजना, नेपाली सेना र सापटमा विस्फोटक पदार्थ उपलब्ध गराउने प्रालिबीच त्रिपक्षीय सम्झौता हुन लागेको उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

शंकर धामी

दार्चुलाका पत्रकार शंकर धामी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया