सामन्ती र पूँजीवादी चिन्तनका कारण महिलामाथि दुर्व्यवहार बढेको गृहमन्त्रीको भनाई

 असोज ९, २०७५ मंगलबार १८:९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिनुभएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्टै कानुनी कठघरामा उभिने बताउनुभएको हो ।

उच्चस्तरीय छानबिन समितिले घटनाको अध्ययन अनुसन्धान गरी प्रतिवेदन बुझाइसकेकाले अब दोषी पत्ता लगाउन सरकारलाई सहज हुने उहाँको तर्क थियो । समितिले दिएको रिपोर्टको आधारमा हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन उहाँले दिनुभयो ।

मदन–आश्रितका हत्यारालाई अहिलेसम्म कानुनी कठघरामा ल्याउन नसकिएको दृष्टान्त दिँदै उहाँले निर्मला पन्तको घटनाका दोषी पत्ता लगाउनु पनि त्यत्तिकै जटिल रहेको संकेत गर्नुभयो ।

उहाँले बर्दियाका राममनोहर यादवको प्रहरीको यातनाले नभई ब्रेन ह्यामरेज (मष्तिष्कघात) भएका कारण ज्यान गएकोे दाबी गर्नुभयो । प्रहरीले यादवलाई कुनै पनि किसिमको यातना नदिएको उहाँको दाबी थियो । देशका विखण्डनकारीहरुसँग सम्बन्धित संगठनसंँग सम्बद्ध रहेकाले यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले स्पष्ट पार्नुभयो ।

वर्तमान सरकारले शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै उहाँले पछिल्लो समय तुलनात्मक रुपमा हत्या, हिंसाका घटनामा कमी आएको जिकीर गर्नुभयो ।

खुल्ला रुपमा रक्सी–जाँडको बिक्री वितरणले बलात्कारका घटना बढेको तथा लागुऔषध नियन्त्रण र निषेध नगरेसम्म महिला हिंसामा कमी नआउने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘लागुऔषधका कारोबारीहरु हत्यारा हुन् । वास्तवमा तिनीहरु बलात्कारी हुन् । यस प्रतिको कठोर कानुन बनाउन जरुरी छ । राजनीतिक संकल्प गर्नु जरुरी छ । बलात्कारीहरुलाई सखाप पार्न त्यस किसिमको ‘मेकानिजम’ पनि ‘डेभलप’ गर्नु जरुरी छ । अहिले गृहमन्त्रालयले लागुऔषधको कारोबारीलाई सखाप पार्ने अभियान अस्तिदेखि सुरु गरेको छ ।’

समााजिक र वस्तुगत आधार नसच्याएसम्म महिला हिंसाका घटनामा कमी नआउने  भन्दै उहाँले सामन्ती चिन्तन र पूँजीवादी चिन्तनले महिलामाथि दुव्र्यवहार भइरहेको बताउनुभयो ।

उहाँले चाडपर्वको अवसरमा बढ्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा कालोबजारी रोक्नका लागि आवश्यक बन्दोबस्ती गर्नुको साथै खाद्यान्नको ढुवानी गर्ने लगायतको उचित व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया