रेलको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने

 असोज ९, २०७५ मंगलबार २०:१२:४४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर–जयनगर रेल्वे सेवा उद्घाटन गर्न जनकपुर आउने हुनुभएको छ । पाँचौँ पटक नेपाल भ्रमणमा आउन लागेका मोदी दोश्रो पटक जनकपुर आउने कार्यक्रम तय भएको हो ।

यसअघि गएको वैशाख २८ गते उहाँ जनकपुर भ्रमणमा आउनु भएको थियो । भारत सरकारको सहयोगमा मंसिरबाट सञ्चालन हुने जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गर्न मोदी जनकपुर आउन लाग्नुभएको हो । सम्भवतः जयनगरबाट जनकपुरका लागि छुट्ने रेलबाटै उहाँ जनकपुर आउने बताइएको छ ।

भारतको मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगानामा चुनावी माहोल बढिरहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेको हुनाले उहाँको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भारतमा चुनावको माहोल बढिरहेकाले ‘हिन्दू कार्ड’ प्रयोग गर्न मोदीले नेपाल भ्रमणलाई रोजेको चर्चा भइरहेको छ । भारतीय न्यूज एजेन्सी एएनआईका अनुसार राजकीय भ्रमणका लागि नेपाल आउन लागेका मोदी विवाहपञ्चमीको अवसर पारेर मंसिर १२ अथवा १३ गते आउने कार्यक्रम रहेको छ ।

त्रेता युगमा राम र सीताको विवाह भएको स्मरणमा जनकपुरमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाइन्छ । मंसिर १२ गते विवाहपञ्चमीसमेत परेकाले त्यही अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर–जयनगर रेल्वे सेवाको समेत उद्घाटन गर्ने जनाइएको छ । 

यससँगै मोदीले भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण समेत गर्ने श्रोतले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • Narayan Prasad Adhikari

    Sept. 26, 2018, 7:03 a.m.

    पहिलो पटक रेलवे उदघाटन गर्न पनि भारतीय प्रधानमन्त्री चाहियो है, हाम्रा देशका मन्त्रीको अब काम भएन.......

  •  0 Reply

तपाईको प्रतिक्रिया