जिब्रो छेडेर मनाइयो जात्रा

 असोज १०, २०७५ बुधबार ८:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भाद्र शुक्लपक्ष पूर्णिमाको दिन मंगदबार राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुर थिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नु भएको छ ।

२०६३ सालदेखि रोकिएर गएको वर्षदेखि सुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यसवर्ष उहाँले हजारौँ मानिसको अगाडि जिब्रो छेडेर टोल टोलको परिक्रमा गर्नुभएको हो । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन अनुसार चेंया पुन्हिया मेय प्वा : खनेगु जात्रा व्यबस्थापन समितिको संयोजनमा  जात्रामा मनाइएको हो । 

जिब्रो छेड्नु अघि थिमी लाय्कुका नायो पमाहरु गई हनुमान ढोका लाय्कु (दरबार)बाट राजाको चिनो (खड्ग) लिएर आएको केहिबेर पछि जिब्रो छेडिएको थियो । 

दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिहरुले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघि–पछि राखी जिब्रो छेडाउने व्यक्ति बालकले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात महाद्विप बोकेर नगरपरिक्रमा गर्नुभएको छ । 

जिब्रो छेडाएर नगरपरिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाडेपछि जात्रा सम्पन्न भएको हो । विगतमा यसदिन एकैपटक २७ जनासम्मले जिब्रो छेडाएको इतिहास उल्लेख भएको र यो जात्रालाई धेरै वर्ष पहिला पशुपति, गुहेश्वरीदेखि चाँगुनारायणसम्म लैजाने गरे पनि अहिले भने थिमिका विभिन्न टोल घुमाउने गरेको समितिका सचिव हरिसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

जिब्रो छेडाएर प्वाल बनेको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने जनविश्वास रहेको छ । जिब्रो छेडाउँदा दैवी शक्ति प्राप्त हुने समेत विश्वास रहेको उहाँले बताउनुभयो । 

जिब्रो छेडाउनु भएका बालकले भन्नुभयो– “कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस र निरन्तरता पाओस भनेर जिब्रो छेड्न तयार भएको बताउनुभयो ।”

स्थानीय युवाको पहलमा गतवर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर जात्रा संचालन गरेको र यसवर्ष आफ्ना पिताको आशोच बारेकाले वीरेन्द्रभक्तले जिब्रो छेड्न नहुने भएपछि बालकरामले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको हो । 

जात्राका लागि कर्मी नाय रामभक्त नकर्मीले फलामको १० इन्च लामो सियो बनाउनुभएको थियो । सियोलाई ४५ दिन तेलमा डुबाएर राखिएको थियो । 

२५ वर्षअघिदेखि बन्द भएर लोप हुने अबस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा गरेर दश वर्षमा तीनपल्ट जिब्रो छेडाउनु भएको थियो । त्यसपछि गएको वर्ष स्थानीय युवाले समिति नै बनाएर जात्रा जोगाउने अभियान संचालन गरेपछि यो जात्रा सुरु भएको हो । 

स्थानीयले बताएको किम्बदन्ती अनुसार प्राचीनकालमा भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले थिमीका मानिसलाई धेरै दुःख दिए । यिनीहरुलाई तान्त्रिक बिधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रमा गरेपछि दुःख दिन छोडेको र यो जात्रा संचालन गरेपछि देशमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्पको भय नहुने जनविश्वास रहेकोे २०६३ मा जिबो छेडाउनु भएका कृष्ण नानीचा श्रेष्ठले बताउनुभयो । 

जिब्रो छेडाउने व्यक्तिले आठ दिनअघिदेखि बालकुमारी मन्दिरमा ‘मु पूजा’ (मन्दिरको चारैतिर पर्दाले छोपेर गर्ने पूजा) गर्ने प्रचलन छ । आठ दिनअघिदेखि एक छाक मात्र खाएर शुद्ध भई बस्नु पर्ने, पशुपन्छीलाई छुन नहुने, जिब्रो छेडाउने एकदिन अघिदेखि श्रीमतीको अनुहार हेर्न नहुने उहाँले बताउनुभयो । 

त्यस्तै जात्राको चार दिनअघिदेखि लगातार सम्पूर्ण परिकार बनाई नगरका मानिसहरुलाई भोज खुवाइएको थियो । जिब्रो छेडाउन थिमिमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गरिएको थियो । 

जिब्रो छेड्ने जात्रा सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा नगरपालिकाले समेत आर्थिक सहयोग गरेको छ । यो जात्राका लागि गएको वर्ष १ लाख रुपैयाँ सहयोग गरेको मध्यपुरथिमी नगरपालिकाले यसवर्ष भने ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नपुग रकम चन्दा दाता स्थानीयबाट संकलन गरिने छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया