सोडापानी बेचेर विदेशको भन्दा राम्रो कमाई

 असोज १०, २०७५ बुधबार १२:४:४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – दुई चार पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने के छ र ? मनमा लगाव र तनमा जाँगर भए नेपालमै बसेर पनि राम्रो कमाई गर्न सकिन्छ । देशमै मेहनत गरेर यसैगरी कमाउनेहरुमध्येमा पर्नुहुन्छ, सिन्धुपाल्चोकका कुमार कोइराला । 

६ वर्ष मलेसियामा काम गरेर फर्किएका कोइराला अहिले काठमाडौंमा सोडापानी बेचेर दैनिक दुई हजार रुपैयाँ कमाउनुहुन्छ । यही कमाईबाट उहाँले घरखर्च चलाउनुभएको छ । राम्रो वचत पनि गरिरहनुभएको छ ।

‘कुनै कुनै दिन त सोच्दै नसोचेको कमाई पनि हुन्छ’, उहाँले भन्नुभयो, ‘नयाँ वर्षको दिन यही सोडा बेचेर १० हजार रुपैयाँ कमाई भएको थियो ।’ अरुबेला पनि दैनिक दुईहजार रुपैयाँको हाराहारीमा व्यापार हुने गरेको उहाँले सुनाउनुभयो ।

अहिले ३८ वर्ष पुगेका कोइरालाले चार कक्षासम्म मात्र पढ्न पाउनुभयो । बेलामा पढ्न नपाएपछि काम खोज्नुपर्यो । गाउँमा काम गर्ने ठाउँ २०५७ सालमा उहाँ मलेसिया जानुभयो । उहाँले गाडीको सिसा बनाउने कम्पनीमा काम पाउनुभयो । तर सोचेजस्तो कमाई भएन । 

‘बढी पैसा कमाउने आशामा विदेश गइयो, तर भनेजस्तो कहाँ हुँदो रहेछ र’ उहाँले भन्नुभयो, ‘केमिकलसँग काम गर्दा अलिकति छोइयो भने छाला डढ्थ्यो । त्यही पनि मासिक तलब ६ सय रिंगिट भनेर लगेको थियो, तर ४ सय रिंगिट मात्र दियो ।’

विदेश जाँदा लगेको ८५ हजार रुपैयाँ ऋण तिर्न एक वर्ष लाग्यो । विदेशमा हुँदा घरपरिवार र सानो छोराको चिन्ताले झनै पिरोल्थ्यो । 
‘विदेश गएपछि यता छोराछोरी बिग्रेलान्, नपढ्लान भन्ने चिन्ता हुँदो रहेछ । ६ वर्ष बिदेश बसेर फेरि म नेपाल फर्किएँ । कमाई पनि खासै राम्रो थिएन’ उहाँले

आफ्नो अनुभव सुनाउनुभयो, ‘हातमा सीप र राम्रो पढेलेखेको नभएपछि काम पाउन पनि गाह्रो हुन्छ ।’ 

विदेशबाट फर्किएपछि कुखुरापालन गर्नुपर्यो भनेर उहाँले भैंसेपाटीमा ढआई लाखमा एउटा फर्म किन्नुभयो । तर त्यो फर्म पनि सुँगुर पालन गरिरहेको ठाउँमा भएको हुँदा कुखुरापालन राम्रो फस्टाउन सकेन । ‘सँुगुरको गन्धले कुखुरालाई असर गर्ने रहेछ’ उहाँले भन्नुभयो, ‘त्यही पनि आफ्नै साथीले ठग्यो । एक लाख पर्ने फर्मको मैले अढाई लाख रुपैयाँ तिरें ।’

कुखुरापालनबाट पनि नभएपछि उहाँले काठमाडौंमै ज्याला मजदुरी गर्न थाल्नुभयो । त्यसबाट पनि सन्तुष्टि मिलेन । त्यसपछि उहाँले सडकमा बसेर सोडा बेच्न थाल्नुभयो । 

उहाँ बिहान ८ बजे लगनखेलमा रहेको एक सोडाको फ्याक्ट्रीबाट एक सिसीको ९ रुपैयाँमा सोडा किनेर ल्याउनुहुन्छ । गाडामा राखेर यातायात कार्यालय वरपर सडकमा बस्नुहुन्छ । सोडामा कागती अनि नुन मिसाएर ४० रुपैयाँमा बेच्नुहुन्छ । एक सिसीमा उहाँलाई कागती र नुनको मूल्य कटाएर २५ रुपैयाँ जति नाफा हुन्छ । 

‘दिनमा ५० सिसी जति बिक्री हुन्छ । कहिले यो भन्दा पनि बढी हुन्छ’ उहाँले भन्नुभयो, ‘यही कामले काठमाडौंजस्तो महंगीको ठाउँमा बसेर दुई छोरा पढाउनेदेखि लिएर घरपरिवार चलाउन सजिलो भएको छ ।’

अहिले श्रीमती र दुई छोराको साथमा उहाँ काठमाडौंको भैंसेपाटीमा बस्दै आउनुभएको छ । जेठो छोरा ९ कक्षामा र कान्छो छोरा दुई कक्षामा पढ्छन् । श्रीमतीले घरको काम हेर्नुहुन्छ । कुखुरापालनको लागि भनेर किनेको फर्ममा अहिले ६ वटा बाख्रा र २५ वटा कुखुरा छन् । 

‘यो कात्तिकमा कुखुरा फर्मको सम्झौता पनि सकिन्छ । त्यसपछि अरु कुनै काम गर्नुपर्यो भन्ने सोचेको छु’ उहाँले हाँस्दै भन्नुभयो, ‘अब अलि ठूलै व्यवसाय गर्नपर्यो ।’
 

अन्तिम अपडेट: चैत ७, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया