सगुनको नयाँ लगानीकर्तामा भारतीय चर्चित मिडिया सेलिब्रेटी मन्दिरा वेदी

 जेठ २३, २०७५ बुधबार ८:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सोसल कमर्श साइट सगुनमा भारतीय ठूला मिडिया हाउससँगै सेलिब्रेटीहरु पनि लगानी गर्न जुटेका छन्। भारतको प्रतिष्ठित अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्स प्रकाशन गर्ने कम्पनीले सगुनमा लगानी घोषणा गरेको केही समयपछि भारतकी चर्चित मिडिया सेलिब्रेटी मन्दिरा वेदीले पनि लगानी गरेकी हुन्। वेदीले आफूले सगुनमा लगानी गर्न पाएकोमा खुसी व्यक्त गरेकी छिन्।

यसअlघ हिन्दुस्तान टाइम्सले सगुनमा पचास लाख डलर लगानी गरेको थियो। स्टार्ट अप कम्पनीहरुमा लगानी गर्दा त्यसबाट भविष्यमा पाइने उच्च प्रतिफललाई हेरेर अहिले भारतमा त्यस्ता कम्पनीहरुमा लगानी गर्ने ट्रेण्ड शुरु भएको छ। सगुनमा लगानी गर्न अन्य केही प्रतिष्ठीत भारतीय कम्पनीहरु पनि छलफलमा रहेका छन्।

सगुनले अमेरिकी सेक्युरिटी एक्सचेन्ज कमिसनको कानुनको अधिनमा रहेर मिनी आइपिओमार्फत लगानी जुटाइरहेको छ। यो चरणमा सगुनमा लगानी गर्न पाउने अन्तिम म्याद जुन १५ मा सकिने कम्पनीले जनाएको छ। यस चरणपछि भने कम्पनीको नयाँ भ्यालुएसन हुनेछ। शुरुवाती दिनमा भन्दा लगानीकर्ता, लगानी  र प्रयोगकर्ता बढेका कारण नयाँ भ्यालुएसन बढ्ने कम्पनीको विश्वास छ।

यस चरणमा डेविट र क्रेडिट कार्डमार्फत सगुनमा लगानी गर्न सकिन्छ। प्रत्यक्ष बैङकबाट वायर ट्रान्सफरमार्फत पनि सगुनमा लगानी गर्न सकिन्छ। सगुनमा लगानी गर्न प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर खरिद गर्नुपर्ने हुन्छ। विदेशमा लगानी गर्न पाइने कानुन नभएका कारण नेपालबाट भने सगुनमा लगानी गर्न सकिदैन। तर विदेशमा रहेका नेपालीहरुले बैङक खाता भएको हकमा सम्वन्धित देशबाट लगानी गर्न सक्छन्। लगानीसम्बन्धी थप जानकारी सगुनको वेबसाइट www.sagoon.com/invest मा गएर लिन सकिने पनि सगुनले जनाएको छ।

सगुनमा अहिलेसम्म २३ लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन्। प्रयोगकर्तामध्ये भारतमा मात्र १० लाख भन्दा बढी छन्। भारतीय नायिका श्रद्धा कपुरले सगुनको एन्ड्रोइड मोवाइल भर्सन दिल्लीमा सार्वजनिक गरेसँगै भारतीयहरुमा सगुनका बारेमा चासो बढेको हो।

सगुनमा अहिलेसम्म ३ हजार भन्दा बढी लगानीकर्ताको करिव ५० लाख डलर लगानी भएको छ। ठूला लगानीकर्तामा भने हिन्दुस्तान टाइम्सले थप पचास लाख डलर लगानी गरेको छ।

 

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया