न्यूयोर्कमा प्रधानमन्त्री ओलीले भने, नेपालको कसैसँग पनि शत्रुता छैन

 असोज १०, २०७५ बुधबार १५:४९:१ | रासस
unn.prixa.net

न्यूयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट देशलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले एसिया सोसाइटीले बुधबार न्यूयोर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा नेपालको कसैसँग शत्रुता नभएको कुरा बताउनुभएको हो ।

उहाँले नेपाली नागरिकले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली नागरिकले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै शहीद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ नागरिकको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गर्नुभयो । उहाँले पूर्ण बहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रधानमन्रीण  ओलीले नेपालमा जलविद्युतका लागि निकै ठूलो भण्डार रहेको र कुनै पनि लगानीकर्तालाई सही रूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताउनुभयो । उहाँले पिस कर्प कार्यक्रम सञ्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एक प्रश्नको उत्तरमा नेपालमा हिउँको तहले पृथ्वीको जमीन सिँच्न सहयोग गर्ने र समुद्रमा हुने प्रदुषणले बादलको रूपमा हिमाललाई पनि प्रदूषित पार्नसक्ने उदाहरण दिँदै नेपाली समाज विविधतायुक्त भएको र आफूले एकै परिवारमा १ सय ३५ सदस्य एकै स्थानमा बस्ने र हुर्कने गरेको समेत देखेको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि मुलुकले नचाहेसम्म ऋणको भार नबोक्ने बताउँदै नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण चाहेको बताउनुभयो ।

यस व्याख्यानको सञ्चालन अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले गर्नुभएको थियो । विश्वव्यापी परिस्थितिमा एशियाली तथा अमेरिकी नागरिक, नेता तथा संस्थाबीच आपसी समझदारी प्रवद्र्धन गर्ने तथा उनीहरूबीच साझेदारी बलियो बनाउने उद्देश्यले ‘एशिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको प्रमुख शैक्षिक संस्था हो ।

कला, व्यवसाय, संस्कृति, शिक्षा तथा नीतिका क्षेत्रमा यस सोसाइटीले अन्तदृष्ट प्रदान गर्छ, विचार सिर्जना गर्छ तथा वर्तमान चुनौतीलाई सम्बोधन गर्न सहयोग प्रवद्र्धन गर्छ र साझेदारीयुक्त भविष्य निर्माण गर्छ ।

यो गैरराजनीतिक र गैरनाफामूलक शैक्षिक संस्था हो र यसको कार्यालयहरू हङकङ, हस्टन, लस एन्जलस, मुम्बइ, न्यूयोर्क, सान फ्रान्सिस्को, सोल, साङ्घाइ, सिड्नी, टोकियो, वासिङ्टन डिसी तथा जुरिकमा रहेका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया