कांग्रेस सांसदले मागे गृहमन्त्री थापाको राजीनामा

 असोज १०, २०७५ बुधबार १६:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ ।

मुलुकभर श्रृंखलावद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो । 

कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भइरहेको  तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति गम्भिर आपत्ति जनाएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भइसकेको छ ।’

एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उहाँले दिन प्रतिदिन हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारबाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भिर आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘बिडम्बना छ । यो सरकार । यो शासनकालमा अपराधी त कानुनसँग डरायो न सरकारसँग डरायो ।’

उहाँले हिंसा नियन्त्रणमा प्रतिपक्षी दलले सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले महिला हिंसाका घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले महिलाविरुद्धका हिंसा र अस्मितामा प्रश्न चिन्ह खडा भएको उल्लेख गर्नुभयो । ‘सरकारले अपराधीलाई समातोस् । त्यो अपराधीले सरकारको भय त्रास डरबाट उन्मुक्ति हुन नपाओस्’, उहाँले भन्नुभयो, ‘त्यसको लागि प्रमुख प्रतिपक्षी दल कहाँ सहयोग गर्न सक्छ, हामी सहयोग गर्न तयार छौं । महिलाविरुद्धका हिंसाका घटनालाई राजनीतिकरण नगरियोस् ।’

उहाँले दसैँ तिहारको बीचमा मूल्य वृद्धि गरेर सरकारले गरिब नागरिकको ढाड सेक्न काम गरेको आरोप लगाउनुभयो । गरिब नागरिकले दसैँ तिहार नबनाउनका लागि सरकारले इन्धन, यातायात, खाद्यान्न र करको दायरा बढाएको भन्दै उहाँले सर्वत्र छाएको मूल्यवृद्धि आफूहरुलाई स्वीकार्य नहुने चेतावनी पनि दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया