खारेज भएका यातायात व्यवसायीका बैंक खाता खुल्ला नहुने

 असोज १०, २०७५ बुधबार १६:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले खारेज गरिएका यातायात  व्यवसायीका बैंक खाता खुल्ला नहुने स्पष्ट पार्नु भएको छ ।

मन्त्री महासेठले  सिन्डिकेट तोकिएसँगै बैंक खाता रोक्का गरिएका सबै यातायात  व्यवसायीकाे रकम सरकारको मातहत आउने र त्यसको परिचालनका सम्बन्धमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने स्पष्ट पार्नुभयो ।

बुधबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै उहाँले खारेज गरिएका यातायात  व्यवसायीका बैंक खाता खुल्ला गर्न कानुनी रुपमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको स्मरण गराउनुभयो । 

मन्त्री महासेठले बैंक खाता रोक्का गरिएका यातायात व्यवसायीको रकम यातायात क्षेत्रकै विकासमा परिचालन गर्ने गरी सम्बन्धित निकायमा आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो ।

मन्त्री महासेठले दुर्घटना वा मृतक बीमा सम्बन्धित पक्षलाई नै दिने व्यवस्था गरिएको पनि स्पष्ट पार्नुभयो । उहाँले सवारी दुर्घटनामा परि ज्यान गएको वा घाइते भएकाहरुलाई सोझै बीमाबापतको रकम पाउने व्यवस्था सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मिलाएको जानकारी समितिलाई गराउनु भएको हो ।

मन्त्री महासेठले दसैंमा अभाव नहुने गरी सवारी साधनको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिइएको बताउनुभयो ।
बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले दसैंमा यात्रुलाई मारमा नपर्ने गरी सवारी साधनको अनुगमन गर्न आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले क्षमताभन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई प्रहरीले कडाईका साथ लागू गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । वरिष्ठ प्रहरी उपरीक्षक पन्तले भौतिक पूर्वाधार अस्तव्यस्त भएकाले उपत्यकामा ट्राफिक जामको समस्या झेल्नु परेकोतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।

बैठकमा समितिका सदस्यहरुले दसैँमा यात्रुहरुलाई सहज हुने गरी सवारी साधनको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया