निजगढमा जसले रुख काट्छ, त्यो हत्यारा ठहरिन्छ : सांसद विरोध खतिवडा (भिडियो)

 असोज १०, २०७५ बुधबार १७:२५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेकपाका सांसद विरोध खतिवडा संसदमा बोल्दा धेरैको ध्यानाकर्षण हुन्छ । बुधबार पनि उहाँले धेरैको ध्यान तान्नेगरी चारवटा विषयमा कुरा उठाउनुभयो । उहाँले बजारमा व्यापारीले चिनीको भाउ बढाउन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

अहिले बजारमा चिनी किलोको ८५ रुपैयाँ पुगेको भन्दै व्यापारीले दसैँतिहारको बेला सय रुपैयाँ पुर्याउँछु भन्दै हिँडेको उहाँले सुनाउनुभयो । ‛चिनीको चास्नीमा कुन कुन झिँगा लंटपटिएका छन् समय क्रममा खुल्दै जानेछन्’, उहाँले भन्नुभयो ।

सांसद विरोध खतिवडाले निजगढ विमानस्थल निर्माणको नाममा पुर्वाधारबिना नै रुख कटान गर्न हतार गरिएको भन्दै गम्भीर आपत्ति जनाउनुभयो । निजगढ अन्तराष्ट्रिय विमानस्थलको डीपीआर तयार नहुदै, निर्माण लागत, खर्च कसले व्यहोर्ने टुंगो नभई रुख काट्न हतार भएको भन्दै भन्नुभयो, ‘दौरा न सौराको खल्ती भनेको यही हो । रुख चाहिँ अहिले काटेर बेचिहाल्ने । अहिलेको आधुनिक युगमा सबैसँग सम्झौता गर्नुहोस् दुई महिनामा ती सग्ला रुखहरु त्यहाबाट हटाइदिन म सक्छु । लाज भन्ने कुरो हुँदैन अलिकति ? शरम हुदैन ? दिन दहाडै डाँकागिरी ? म खबरदारी गर्छु । सम्झौता र लगानीकर्ताकोे अन्तिम टुंगो नहुन्जे र डीपीआर तयार नहुन्जेल जस्ले त्यो रुखमा हात हाल्छ त्यो हत्यारा ठहर्छ ।'

उहाँले निर्मला पन्तको हत्या छानविन गर्न आयोगको प्रतिवेदन आउनुपर्छ भन्नु लज्जास्पद भएको भन्दै गम्भीर आपत्ती जनाउनुभयो । उहाँ भन्नुभयो, ‘हरेक घटनामा आयोग बनाउनुपर्छ भने राज्यको स्थायी संयन्त्रलाई तलब खुवाएर किन पालेको ? मुख देखाएर हिँड्न लाज हुने अवस्था श्रृजना भयो ।’  

यस्तै प्रतिपक्ष सांसदले नेकपामा दुई अध्यक्ष रहेकोमा चिन्ता जनाएको भन्दै उहाँले व्यंग्य गर्न पनि भ्याउनुभयो । 

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया