झिसमिसेमै निगुरो बेच्न हटिया पुग्छन् ताप्लेजुङका बालबालिका

 असोज १०, २०७५ बुधबार २०:४:४८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – बिहानको झिसमिसे उज्यालो भएको छ, पूर्वबाट उज्यालो फाट्दै छ ।

शनिबार सबै विद्यालय तथा सरकारी अफिसहरु बिदा भएको दिन । बिदाको दिन सहर तथा बजारका धनाढ्यहरु मनोरञ्जन गर्न कहाँ जाने र के गरेर दिन बिताउने योजना बनाएर घुम्न जाने गर्दछन् । बालबच्चालाई पार्क तथा चिडियाखानाहरुमा लगेर देखाउने उनीहरुको योजना हुन्छ ।

तर, हिमाली जिल्ला ताप्लेजुङमा स्थिति फरक छ । जिल्ला सदरमुकाम आसपासका ग्रामीण क्षेत्रका बाल बालिकाहरुले शनिबारको योजना अगाडि नै बनाइसकेका हुन्छन् । 

शुक्रबार आधा दिनमा बिद्यालय बिदा हुन्छ, अनि उनीहरु डोको बोकेर जंगलतिर लाग्छन् । जंगलमा मौसम अनुसारको जे पाइन्छ, उनीहरु संकलन गर्ने गर्दछन्  । अनि शनिबार बिहानको मिरमिरे हुँदा फुङलिङ बजारको तोक्मे डाँडामा लाग्ने हटियामा लिएर आइपुग्छन् । 

जंगलमा फल्ने कटुस होस् या अम्बा, निगुरो होस् या सिमेसाँगा, बालबालिकाहरुको शनिबारको दिन यीनै कुराहरु खोज्ने काम हुन्छ । अहिलेको सिजन डौठे निगुरोको हो । जंगल तथा खोल्सा खाल्सीमा उम्रने डौठे निगुरो खोजेर ८ देखि १२ वर्षका बालकहरु तोक्मे डाँडाको हटियामा बिहानको उज्यालो नखस्दै लस्करै बेच्न बसेका हुन्छन् ।

बिहान ५.४५ भएको छ । पानी परिरहेको छ । तर, छाता ओढेर पाथीभरा याङ्वरक गाउँपालिका १ का १२ वर्षीय सन्तोष लिम्बु आफ्नो अगाडि निगुरो राखेर बसेका छन् । 

उनी शनिबार हटिया आउन कहिल्यै बिराउँदैनन् । हप्तामा १ हजार रुपैयाँसम्मको निगुरो बेच्ने गरेको उनी बताउँछन् । 

सन्तोष कक्षा ७ मा अध्ययनरत छन्  । उनले विद्यालयमा पढ्दा चाहिने कापी कलमदेखि लिएर दैनिक उपभोग्य सामग्री निगुरो बेचेर खरिद गर्ने गरेका छन् । 
हटियामा निगुरा  बेच्न आउने उनीमात्र एक्ला होइनन् । उनीसँग सार मिलाएर ११ वर्षकी बालिका मनिसा गुरुङ पनि सँगै निगुरो किन्न आउने ग्राहकको प्रतिक्षामा छिन् । 

‘निगुरो बेचेर कापी अनि कलम किन्ने गरेको छ । कक्षा ६ मा अध्ययनरत उनी भन्छिन्,‘ के गर्ने, कापीकलम किन्नेसमेत पैसाको खाँचो हुन्छ अनि बजारमा आएर जे भेटेपनि बेच्ने गरेको छ ।’

छेउमै बसेकी अर्की रेखा गुरुङ थप्छिन्, ‘निगुरो नबेचेर के गर्ने, कापी कलम किन्ने पैसा नै हुदैन ।’ हप्तैपिछे निगुरो ल्याएर बेच्ने गरेको उनी बताउँछिन् । 

विद्यालय जान भने उनी कहिल्यै छुटाउँदिनन् । बिहान–बेलुकामात्र निगुरो खोज्ने र शनिबार ल्याएर बेच्ने गरेको उनी बताउँछिन् । 

जिल्ला आसपासका अधिकाँश बालबालिकाहरु घरायसी काममा व्यस्त रहन्छन् । अभिभावकहरुले स्कुस, सिमी, सागलगायतका सबै प्रकारका तरकारीहरु बेच्न हटिया पठाउने र अभिभावकहरु घरको काम गर्ने गर्दछन् । 

जिल्लाका ७० प्रतिशत बालबालिकाहरु घरायसी बालश्रममा व्यस्त रहेको बताइन्छ । तर त्यसलाई रोक्न सम्बन्धित निकायले चासो देखाएको छैन । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया