निर्मला पन्त हत्या प्रकरण : घटनास्थलबाट बरामद भएको कपडासमेत जलाइएको गृहमन्त्रीको खुलासा

 असोज १०, २०७५ बुधबार २०:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शव भेटिएको ठाउँबाट बरामद भएको कपडासमेत जलाएको पाइएको खुलासा गर्नुभएको छ । 

राज्य व्यवस्था समितिको बैठकमा आज मन्त्री थापाले घटनास्थलमा भेटिएको पीडितको कपडासमेत जलाएको पाएकाले यो घटना झनै रहस्यमय भएको बताउनुभयो । शवको मुुचुल्कामा नक्कली औँठा छाप भेटिएको दावी पनि उहाँले गर्नुभयो । प्रहरीले साउन ११ गते मुचल्का उठाइएको भए पनि मुचुल्कामा निर्मलाको बुबाको औँठाछाप भेटिएको छ । 

निर्मलाको बुबा छोरीको हत्याको खबर सुनेर १२ गते मात्र कञ्चनपुर आएको भए पनि ११ गतेको मुचुल्कामा उहाँको औँठाछाप हुनु स्वत नक्कली भएको गृहमन्त्री थापाले बताउनुभयो । शव भेटिएकै दिन ११ साउनमा घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल प्रहरीले पानीमा पखालेको भिडियो नै सार्वजनिक भएको थियो । हत्याको अनुसन्धानका क्रममा प्रहरीबाट धेरै नै लापर्वाही भएको मन्त्री थापाले स्वीकार गर्नुभएको छ । 

पन्तको हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार बुझाएको प्रतिवेदनका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उहाँले बताउनुभयो । गृहमन्त्री थापाले बलात्कार तथा हत्याका थुप्रै घटनाका अभियुक्त पक्राउ गरेको भन्दै सरकार र प्रहरीको इमान्दारितामा शंका नगर्न पनि आग्रह गर्नुभयो । 

१० साउनमा साथीको घरमा पढ्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Samir gautam

    Sept. 26, 2018, 9:23 p.m.

    खासमा दोषी चाहिं को हो ? त्यो नै मुख्य कुरा हो यहाँ ...अब यात धेरै दिन बितिसक्यो , के पत्ता लाग्ला र दोषी ?

  •  0 Reply

तपाईको प्रतिक्रिया