'गाउँ गाउँमा सिंहदरबार भन्थे, वडा कार्यालय पनि आएन'

 असोज ११, २०७५ बिहिबार ९:३०:३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – स्थानीय तहको चुनावपछि गाउँमै स्थानीय सरकार हुन्छ, सुविधा हुन्छ भन्ने सुनेका मध्यविन्दु नगरपालिका वडा नम्बर १४ का बासिन्दा गाउँमा वडा कार्यालय समेत  नहुँदा समस्यामा परेका छन् । मध्यविन्दु नगरपालिका वडा नम्बर १४ को वडा कार्यालय अरुणखोला बजारमा छ । 

वडाका बासिन्दालाई कुनै काम भए बजारतर्फ झर्नु पर्ने हुन्छ । एक घण्टा जीपको यात्रा गरेर वडा कार्यालय आउनुपर्ने कारण यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । जीपको भाडा पनि महंगो हुँदा वडा कार्यालय आउन निकै खर्चिलो हुने गरेको स्थानीयको गुनासो छ ।

बर्खाको समय र यातायात नचल्दा भने घण्टौंको यात्रा गर्नुपर्ने हुन्छ । स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकार आफ्नै घरदैलोमा आउँछ भन्ने सुनेका यहा“का बासिन्दा वडा कार्यालय पनि गाउँमा नआउँदा खिन्न भएका छन् ।

वडा र्काालय गाउँमा नहुँदा समस्या भएको वडा नम्बर १४ द्धारीका खेमबहादुर सुनारले गुनासो गर्नुभयो । वडा नम्बर १४ को द्धारीमा साविक राँकाचुली गाविसको भवनसमेत रहेको छ । १४ कै भेडावारीमा साविकको मैनाघाट गाविसको गाविस भवन पनि छ तर यी भवन अहिले प्रयोगविहीन बनेका छन् । 

नगरपालिका नहुँदा गाउँबाटै सेवा सुविधा पाएका बासिन्दा अहिले भने वडा कार्यालय खोज्दै १८ किलोमिटरको यात्रा जानुपर्ने बाध्यतामा छन् । ‘गाउँ गाउँमा सिंहदरबार भन्थे, हाम्रोमा त वडा कार्यालय पनि आएन’ सुनारले भन्नुभयो ।

पोखरडाँडा, भेडावारी  र छप्रादी अरुण खोलावारीको डाँडामा पर्छ भने  द्धारी, बतासा, राईकोटे, रातोमाटे, चनौटा, चनौटे गाउँ  अरुणखोला पारी पर्छ ।
 
मध्यविन्दु नगरपालिका १४ का वडा अध्यक्ष मिन बहादुर दर्लामी भने भौगोलिक विकटताका कारण बजारमा आएर वडा कार्यालय स्थापना गर्नु परेको बताउनुहुन्छ । 

अरुणखोला वारी र पारी दुवै तर्फ १४ नम्बर वडा रहेकाले एक तर्फ वडा राख्दाअर्को तर्फका बासिन्दा अरुणखोला बजार आएर फेरि पहाड तिर पुग्नु पर्छ वडा अध्यक्ष दर्लामीले  भन्नुभयो – त्यसैले बजारमा वडा कार्यालय राखेका छौँ । वडा विभाजन गर्दा भौगोलिक अवस्थालाई ख्याल नगर्दा यस्तो समस्या आएको उहा“ले बताउनुभयो ।

भौगोलिक जटिलताका कारण नगरपालिकाको १३ नम्बर वडा बासिन्दासमेत समस्यामा रहेका छन् । १३ को वडा कार्यालय पनि राजमार्गसँगै रहेको चोरमारा बजारमा रहेको छ । १३ को कोटथर, दमार पहाडको एकातर्फ छ । पहाडको अर्कोतर्फ चनौटा, मैनाघाट, दुवाकुन, मगरसंह रहेका छन् । 

कोटथरका बासिन्दा पनि वडा कार्यालय पुग्न झण्डै १५ किलोमिटरको हिँड्नुपर्ने बाध्यता रहेको छ । वडा नम्बर १३ का वडा अध्यक्ष अर्जुनप्रसाद पंगेनी पनि यहाँको समस्या भौगोलिक नै बताउनुहुन्छ । यसका लागि फेरि सिमाङ्कन गरि सहज तरिकाले वडा विभाजन गरेमात्रै यहाँको समस्या समाधान हुन्छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय समेत अरुणखोलामा वडा नम्बर १० को कार्यालयसँगै राखिएको छ ।  कर्मचारी अभावका कारण कतिपय अन्य वडाका कार्यालयसमेत एकिकृत रुपमा संचालन गर्दै आएको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया