औषधि व्यवस्था विभागद्वारा गुल्मीका दुईवटा औषधि पसलमा शिलबन्दी

 असोज ११, २०७५ बिहिबार १०:२१:४० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – औषधि व्यवस्था विभागले गुल्मीका दुई वटा औषधि पसलहरुमा शिलबन्दी गरेको छ । औषधि व्यवस्था विभागका प्रतिनिधिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले गुल्मीको रुरु गाउँपालिका अन्तर्गत रिडी बजारका पपुलर मेडिकल हल र जीवन मेडिकल हलमा शिलबन्दी गरेको हो ।

अनुगमन टोलीले औषधि व्यवस्था विभागको निर्देशिका अनुसार औषधि पसलहरु संचालन नगरेको फेला पारेपछि यो पसलमा शिलबन्दी गरिदिएको हो । पसलमा शिलबन्दी गरेपछि पसल संचालकहरुलाई आवश्यक कागजातसहित एक साता भित्रमा विभागमा सम्पर्क गर्नसमेत निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले वुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी सदरमुकाम भित्र सञ्चालनमा रहेका १९ वटा र सदरमुकाम बाहिराक चार वटा गरी २३ वटा औषधि पसलहरुमा अनुगमन गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा जिल्लामा कतिपय औषधि पसलहरुले आधारभूत प्रकृया पूरा नगरी क्लिनिक संचालन गरेको भेटिएको भन्दै सदरमुकाम तम्घासका थप चार वटा औषधि पसलहरुलाई सेवा बन्द गर्न समेत निर्देशन दिएको औषधि व्यवस्था विभागका निरिक्षक एवं अनुगमन समितिका संयोजक भुपेन्द्र कुमार पौडेलले बताउनु भयो ।

बजार अनुगमनको क्रममा औषधि पसलहरुलाई पसलमा देखिएका कतिपय कमी कमजोरीहरुलाई तत्काल सुधार गरेर पसल संचालन गर्न अनुगमन समितिले निर्देशन दिएको छ । औषधि व्यवस्था विभागले केही दिनदेखि गुल्मीका औषधि पसलहरुमा छड्के अनुगमन गर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया