प्रदेश ७ को राजधानी गोदावरी प्रस्ताव गरिएपछि धनगढी बन्द

 असोज ११, २०७५ बिहिबार १२:३२:१९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासीन्दाले विहीबार आमहडताल गरेका छन् । उनीहरुले धनगढीमा रहेको अस्थायी राजधानी कुनै पनि हालतमा अन्यन्त्र सार्न नमिल्ने बताएका छन् ।

वन माफिया र भूमाफियाको प्रभावमा परेर गरिएको सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता लिन उनीहरुले दबाब दिइरहेका छन् । कुनै पनि पूर्वाधार नभएको गोदावरीमा स्थायी राजधानी राख्नुभन्दा हालकै अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी बनाउनुपर्ने धनगढीबासीन्दाको भनाइ छ । 

सरकारले धनगढीमा पूर्वाधार निर्माणमा करोडौं रकम खर्च गरेर अहिले अन्यन्त्र राजधानी सार्ने कुरा आफूहरुलाई मान्य नहुने स्थानीय रबि खड्का बताउनुहुन्छ । आन्दोलन समन्वय समितिका संयोजक हरी रेग्मीले जनतालाई झुक्याएर आफ्नो राजनैतिक स्वार्थपूर्ति गर्नका लागि  षड्यन्त्र पूर्वक राजधानी सार्ने प्रस्ताव गरिएको बताउनुभयो । 

सामान्य ढंगबाट बारम्बार आवाज उठाउँदा समेत पूरा हुने सम्भावना नदेखिएकाले आम हडताल गर्नु परेको उहाको भनाई छ । शुक्रबार बिहान १० बजे प्रदेश सभा भवन घेराउ गर्ने कार्यक्रम राखिएको उहाँले बताउनुभयो । आफूहरुको मागको सुनुवाई नभए सम्म आन्दोलन साम्य नहुने उहाँले बताउनुभयो । 

आम हडतालले सर्वसाधारण मर्कामा परेका छन् । बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प छन् । सरकारले कैलाली सदरमुकाम धनगढीलाई अस्थायी राजधानी तोकेको छ । प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन समिति गठन गरेको थियो । समितिले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिका वडानम्बर ४ मा राख्न सुझाव दिएको छ । 

प्रदेशसभाले निर्णय लिनुभन्दा अघि धनगढीबासीन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बुधबार प्रदेश सभा अगाडि टायर बालेर प्रदर्शनसमेत गरेका थिए । 


 

अन्तिम अपडेट: फागुन २९, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया