धनगढीका मेयर वडलाई पक्राउ गर्न प्रदेश सांसदले दिए सामूहिक उजुरी

 असोज ११, २०७५ बिहिबार १८:४:४१ | निर्मला खडायत
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई पक्राउ गरिनुपर्ने भन्दै प्रदेश ७ का २० जना सांसदले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 

उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा वडलाई कारबाही गर्न माग गर्दै संयुक्त उजुरी दिएका हुन् । बुधबार प्रदेशसभा अगाडि आन्दोलनलाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिलाई लिएर मृद्धा दर्ता भएको हो । 

प्रदेशको राजधानी र नाम सिफारिस गर्न बनेको समितिले गोदावरीमा राजधानी बनाउन सिफारिस गरेपछि भएको विरोधमा प्रमुख वडले सांसदहरुलाई २४ घन्टामा धनगढी छोड्न निर्देशन दिनुभएको थियो । 

बुधबार भएको प्रदर्शनमा वडले धनगढीबाट राजधानी सारिए संसद भवनमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोडनुपर्ने  र सांसदलाई नै जलाउने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

उनीहरुले मेयरको अभिव्यक्तिपछि आफूहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले वडलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै माग गरेका छन् । 

कोही पनि व्यक्ति संविधानभन्दा माथि नहुने उनीहरुको भनाई छ । राजनैतिक विचार र असहमति राख्न सक्ने भए पनि संसद भवनमा नै आगो लगाउने जस्ता आपराधिक शब्द बोल्नुका साथै यो क्षेत्रमा दंगा फैलाउने खाले अभिव्यक्ति दिएकाले तत्काल कारबाहीको माग गरेको सांसदहरुले बताएका छन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया