मनाङमा उत्पादित ‘अर्गानिक’ आलुको माग बढ्दो, किसान उत्साहित

 असोज ११, २०७५ बिहिबार २०:३२:५८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हिमालपारीको जिल्ला मनाङमा अहिले आलु खन्ने चटारो छ । बारीमा लगाइएको आलु खन्न किसानलाई भ्याइनभ्याई छ । असोज महिनाभर यहाँका आलु उत्पादक किसान आलु खन्नमै व्यस्त रहन्छन् । समयमै आलु खन्न सकिए आलुले राम्रो बजार पाउँछ । 

व्यापारी, व्यवसायी, आन्तरिक पर्यटक र जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारी यहाँ उत्पादित आलुका मुख्य क्रेता हुन् ।   

‘बिस्तारै चाडपर्व नजिकिँदै छ । जिल्लामा रहेका कर्मचारी चाडपर्वमा घर फर्कन्छन् । त्यतिबेला आलु किनेर घर लैजान्छन् । आलु बिक्री हुन्छ । आम्दानी हुन्छ, त्यसैले पनि आफूहरु आलु खन्न व्यस्त छौँ,’ पिसाङ १, तलेकुकी किसान थुची लामाले भन्नुभयो ।

गाडी चलेसँगै आलुले बजार पायो

केही वर्ष अगाडि जिल्लामा उत्पादित आलुले खासै बजार पाउँदैनथ्यो । उत्पादित आलु कुहिएर जाने समस्या थियो । तर बेसीशहर–चामे सडक खुलेसँगै यहाँ उत्पादित आलुले बजार पाउन थाल्यो । उत्पादित आलु देशका विभिन्न शहरमा पुग्छन् । आलु खरिदका लागि व्यापारी – व्यवसायी मनाङसम्मै आउने स्थानीयहरु बताउँछन् । 

‘पहिले उत्पादित आलु इष्टमित्र, नातागोतालाई कोसेलीको रुपमा पठाइन्थ्यो । केही आलु घरमै खाईन्थ्यो । बीउ राखिन्थ्यो । बाँकी आलु त्यसै खेर जाने अवस्था थियो । तर सडक खुलेसँगै यहाँको आलुले बजार पाउन थाल्यो । आम्दानी पनि हुन थाल्यो,’ मनाङका आलु उत्पादक किसानहरु भन्छन् ।
आलुले लोभ्यायो ।

केही वर्ष अगाडिसम्म मनाङसम्म पुग्ने सडक थिएन । गाडी चल्दैनथ्यो । गाडी नचल्दाको त्यो अवस्थामा पनि लमजुङका व्यापारी नुनतेल तथा दालचामल खच्चडलाई बोकाएर मनाङसम्म पुग्थे । मनाङबाट फापर, आलु, करु लिएर फर्कन्थे ।  

‘गाडी नचल्दा नि नुनतेल र दालचामल लिएर व्यापारी आउँथे । त्योसँग आलु, फापर साटेर फर्किन्थे,’ पुरानो पुस्ता स्मरण गर्छन् ।

सडक बनेसँगै गाडी चल्न थाल्यो । गाडी चल्न थालेसँगै यहाँ उत्पादित आलु देशका कुनाकुनामा पुग्न थाले । मनाङमा उत्पादित ‘अर्गानिक’ आलुको स्वादले धेरैलाई लोभ्यायो । र पछिल्लो समय यसको माग ह्वात्तै बढ्यो ।

आलुको माग र मूल्य बढेसँगै मनाङमा आलु खेती गर्ने किसानको संख्यामा समेत वृद्धि भएको स्थानीय सञ्चारकर्मी नेगम परियारले बताउनुभयो । ‘यहाँको आलुको माग र मूल्य दुवै बढेको छ । आलु उत्पादन गर्ने किसानसमेत बढेका छन्,’ उहाँले थप्नुभयो ।    

मनाङको आलु: स्वादिलो र तागतिलो

उहाँका अनुसार आलु, फापर तथा करुलाई यहाँको मुख्य बालीका रुपमा लिइन्छ । जिल्लाको चारै गाउँपालिकामा आलुको खेती हुन्छ । यहाँ उत्पादित आलु स्वादिलो हुन्छ । तागतिलो हुन्छ । 

होटल व्यवसायीहरुले आलुको विभिन्न परिकार बनाएर यहाँसम्म आउने पाहुनालाई खुवाउँछन् । ‘अर्गानिक’ आलुबाट बनेका परिकारका स्वादमा पर्यटक पनि लोभिन्छन् । 

गएको वर्ष यहाँका आलु उत्पादक किसानले एक पाथी आलु एक सय रुपैयाँमा बेचेका थिए । यस वर्ष उनीहरुले एक पाथी आलु १ सय ५० रुपैयाँका दरले बेचेका छन् । ‘मनाङको आलुको माग बढेकै कारण मूल्य पनि बढेको हो,’ नेगमले भन्नुभयो ।   


 

अन्तिम अपडेट: चैत २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया