‘जहाज छिर्न नदिएर ईयूले हामीलाई हेपेको छ, तत्काल फुकुवा गर्नुपर्छ’

 असोज १२, २०७५ शुक्रबार १४:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली युनियनले नेपाली जहाज छिर्न नदिएर नेपालाई हेपेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण आइकाओले नेपालको आकाश र विमान सुरक्षित रहेको भन्दै सुरक्षा सूचीबाट हटाए पनि ईयूले हपेर कालोसूचीमा राखेको उहाँले दावी गर्नुभयो ।

उज्यालो अनलाइनसँगको कुराकानीमा मन्त्री अधिकारीले भन्नुभयो, ‘१ सय ९३ भन्दा धेरै देशको हवाई सुरक्षा हेर्ने आईकाओले नेपाललाई कालोसूचीबाट हटाउँछ, नेपाल पुरस्कृत हुन्छ, दक्षिण एसियामा नेपालको सेफ्टी निक्कै राम्रो छ, तर ईयूले किन प्रतिबन्ध जारी राखेको छ त ?’

नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउन राष्ट्रपतिमार्फत पनि प्रयास भैरहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

‘एयरबसले बनाएको जहाज युरोपको आकाश हुँदै लिइरहेका छौँ, युरोपमै बनेका हेलिकप्टर किनेका छौँ, हामीमाथि किन यस्तो दृष्टि, सानो देश भनेर तपाईँहरुले हेपेको हो ? भनेर मैले कैयौँपटक भनेको छु, हामी कुन कुरामा कमी भयौँ भनेर उहाँहरुले स्पष्ट जवाफ दिनु पनि सक्नुभएको छैन, सेफ्टीको बारेमा हामीले जम्मै मापदण्ड पूरा गरिसकेका छौँ नि’, मन्त्री अधिकारीले भन्नुभयो ।

ईयूले कुनै एउटा घटनाबाट प्रेरित भएर नेपाललाई हेपेको पनि मन्त्री अधिकारीले बताउनुभयो ।

यसकारण नेपाली जहाज प्रतिबन्ध

नेपालले हवाई सुरक्षामा खेलबाड गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले २०७० सालको मंसिरमा नेपाललाई गम्भीर सुरक्षा चासो रहेको देशमा सूचीकृत गरेको थियो ।

आईकाओको गम्भीर सुरक्षा चासो र सन् २०१० देखि २०१२ सम्म नेपालमा भएका हवाई दुर्घटनाको संख्या र त्यसमा भएको मानवीय क्षतिलाई मध्यनजर गरेर युरोपियन युनियन ईयूले पनि आफ्नो आकाशमा नेपाली जहाज प्रवेशमा रोक लगायो । उसले सकभर नेपाल यात्रामा नजान पनि आफ्ना नागरिकलाई आग्रह गरेको थियो । 

आईकाओले भनेका ८ वटा सुरक्षा मापदण्ड पूरा गर्दै गएको जुलाई अर्थात २०७४ सालको साउनदेखि नेपाल गम्भीर सुरक्षा चासो भएको देशबाट मुक्त भयो । आईकाओका उडान सुरक्षा मापदण्ड परिपालना दर नेपालले ५५ प्रतिशतबाट बढाएर ६६ प्रतिशत पु¥याएपछि गम्भीर सुरक्षा चासोबाट मुक्त भयो ।

विश्वभरकै हवाई क्षेत्रको नियामक निकाय मानिएको आईकाओले नै नेपाली विमान र आकाश सुरक्षित छ भनेको छ, तर युरोपियन युनियनले भने नेपाली विमानलाई प्रतिबन्ध जारी राख्नुलाई शंकाको विषयले हेरिएको छ ।

केही समय भित्रै चीनमा नेपाली जहाज

युरोपेली युनियनले नेपाली  आकाश र जहाजलाई प्रतिबन्ध लगाएकाले नेपाली जहाज त्यहाँ जान पाउँदैनन् । तर चीनले प्रतिबन्ध त लगाएको छैन, तैपनि नेपाली जहाजले चीनमा उडान गर्न पाएका छैनन् ।  अहिले चिनियाँ जहाजले दैनिक ७ वटा उडान नेपालमा गर्छन, तर नेपाली जहाजले एउटा पनि उडान चीनमा गर्न पाएका छैनन् । मन्त्री अधिकारीले भने अबको केही समयमै नेपाली जहाजले चीनमा उडान गर्ने बताउनुभएको छ ।

‘म आइसकेपछि चीन उडानको लागि धेरै पहल भएका छन, उनीहरु हामीलाई स्लट दिन सकारात्मक छन्, चिनियाँ सरकारले प्लान नै बनाएर नेपाली जहाजलाई रोकेको होइन, यसमा कुटनीतिक प्रयास पनि भैरहेको छ, लामो समय लाग्दैन’, उहाँले भन्नुभयो ।

अहिले चीनका ४ वटा विमान कम्पनीले नेपालमा उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाइना एअरले दैनिक २ वटा, चाइना इस्र्टनले हप्तामा १ एक दिनबाहेक २ वटा, अनि चाइना साउदर्नले पनि दैनिक २ वटा उडान गरिरहेका छन् । तिब्बत एयरले हप्तामा ५ वटासम्म उडान गर्दै आएको छ । नेपालबाट चीनका जहाजले दैनिक ७ वटा उडान गर्दै आएका छन् । चीनका मात्रै जहाजले उडान गर्ने भएपछि भाडा पनि महंगो रहेको छ ।

भारतको नयाँदिल्ली जत्तिकै टाढा रहेको ल्हासाबाट काठमाडौंसम्मको भाडा ५० हजार रुपैयाँभन्दा धेरै रहेको छ । यदि नेपाली जहाज पनि चीन उड्ने हो भने प्रतिस्पर्धाका आधारमा यो भाडा २० हजार रुपैयाँसम्म झार्न सकिने नेपाली व्यवसायीको भनाई छ ।

तर नेपालका जहाजले भने चीनमा उडान गर्न पाइरहेका छैनन् । नेपाल वायुसेवा निगमबाहेक हिमालयन एअरलाइन्सले पनि चीनमा उडानको लागि पटक–पटक अनुरोध गरेको छ । तर चीनका एयरपोर्टले अहिले ‘स्लट’ छैन भन्दै पन्छिने गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया