लमजुङमा अलैँची प्रशोधन केन्द्रको आवश्यकता: निर्माणका लागि पहल सुरु

 असोज १२, २०७५ शुक्रबार १५:२५:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा अलैँची प्रशोधन केन्द्रको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।  

उत्पादित अलैँची जिल्लामै प्रशोधन गरी बेच्न सकेको खण्डमा किसानलाई फाइदा पुग्ने नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताउनुभयो ।    

उहाँका अनुसार जिल्लामा अलैँची प्रशोधन केन्द्रको आवश्यकता खड्केको छ । जिल्लामै अलैँची प्रशोधन केन्द्र स्थापना गर्न सकेको खण्डमा अलैँची विचौलियको अन्त्य हुन्छ । किसानले उत्पादन गरेका अलैँचीको गुणस्तर कायम गर्न सकिन्छ । गुणस्तरीय अलैँची अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ । लमजुङमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारत पुग्छ । 

विचौलियाको अन्त्य : किसानलाई फाइदा   

‘प्रशोधित गुणस्तरीय अलैँची निकाल्न सके अलैँचीको माग र मूल्य दुवै बढ्छ । किसानलाई फाइदा पुग्छ । विचौलियाको अन्त्य हुन्छ । त्यसैले पनि जिल्लामा अलैँची प्रशोधन केन्द्रको आवश्यकता छ,’ उहाँले दोहोर्याउनुभयो ।  

तर प्रशोधन केन्द्र निर्माणका लागि करौडौँ रुपैयाँ खर्च हुनसक्ने उहाँको भनाई छ । 

‘अलैँची प्रशोधन केन्द्र निर्माणका लागि सम्बन्धित निकायमा सहयोग मागिरहेका छौँ । धेरैले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । हामी किसानहरुले पनि सकेको पैसा संकलन गर्छौ । अबको २÷३ वर्षभित्रैमा बेसीशहरमा अलैँची प्रशोधन केन्द्र निर्माण हुनेछ भन्ने हाम्रो विश्वास छ,’ अलैँची उत्पादक किसान समेत रहनुभएका तामाङले बताउनुभयो ।

गुणस्तरीय अलैँची उत्पादनबारे किसानलाई जानकारी  

प्रशोधन केन्द्र निर्माण भएमा आफुहरुलाई फाइदा पुग्ने किसानहरुले बताएका छन् । यहाँका किसानहरुले सुधारिएको अलैँची भट्टीमा अलैँची सुकाउँदै आएका छन् । नेपाल अलैँची महासंघ लमजुङ शाखाले पनि किसानको अलैँची बगैँचामै पुगी अलैँचीको अवलोकन समेत गर्ने गरेको छ । 

किसानलाई गुणस्तरीय अलैँची उत्पादनका लागि बिरुवा लगाउनेदेखि सुकाउने र भण्डारण गर्नेसम्मको तौरतरिकाबारे बेलाबेलामा जानकारी गराउँदै आइएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले बताएको छ ।    

२५ हजार अलैँची उत्पादक किसान     

लमजुङमा अलैँची उत्पादक किसान झण्डै २५ हजारको हाराहारीमा छन् । लमजुङमा ९ सय ५० हेक्टर जमिनमा व्यावसायिक रुपमै अलैँची खेती लगाइएको छ । जिल्लामा ६ सय ५० हेक्टर क्षेत्रफलबाट अलैँची उत्पादन भईरहेको छ ।

यहाँ विशेषगरी रामशाही, गोलशाही, डम्बरशाही लगायतका जातका अलैँचीको खेती हुँदै आएको छ । लमजुङको घनपोखरा, बाँझाखेत, खुदी, भुलभुले, गौँडा, ईलमपोखरी, दूधपोखरी, बन्सार, फलेनी, ढोडेनी, पसगाउँ लगायतका ठाउँमा अलैँचीको व्यावसायिक खेती गरिएको छ ।          
 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया