भैरव, म केमाथि व्यङ्ग्य गरौँ ?

 असोज १३, २०७५ शनिबार ९:५३:४४ | अनिल पौडेल ‘किर्ते’
unn.prixa.net

प्रिय भैरव,
तिमीले हास्य लेख्यौ व्यङ्ग्य घुसायौ
हामीलाई चटायौ, खुवायौ, चुसायौ
जय भुँडीले भुँडी बटार्दियौ
काउकुतीले भूइँमै पछार्दियौ
पछारिएका केही थान बौरिएर उठे
तिमीले छोडेको देश खोकलेर चुठे
चपाए, थुके फेरि टिपेर चुसे
कहिले तराई त कहिले पहाड, हिमालले मुख पुछे 
भनिदेऊ...
४० वर्ष पछि पनि व्यङ्ग्य नै हान्नु छ म कस्तो गोली भरौँ ?
‘महापुरुष’हरुले सिध्याए देश, भैरव अब म केमाथि व्यङ्ग्य गरौँ ?

राजनीतिले रुवायो देश
प्रशासनले पत्रु बनायो
कर्मचारीले कुहाएर फाले
कुटनीतिज्ञले खल्तीमा हाले
ठेकेदारले भेलमा ठेल्दिए
खोयाबिर्केहरुले खेल खेल्दिए
ड्राइभरहरुले भिरबाट झार्दिए
जनतालाई ट्वाल्ल पार्दिए
प्राध्यापकहरु पतकर भैदिए
शिक्षकहरु सती गैदिए
लाग्दो हो तिमीलाई स्वर्गबाट तत्काल तल झरुँ
भन भैरव...
अब म केमाथि व्यङ्ग्य गरौँ ?


तिम्रा पालामा पञ्च थिए सञ्चले खाए अघाए
त्यसपछि भोकाहरु आए गोसले झैँ देश भाग लगाए
साहित्यकार सडेर गए
राजनीतिकै बुई चढेर गए
कलाकारहरु कात्रोमा बेरिए
खेलाडीहरु डलरले फेरिए
सेनाको पनि भर छैन
पुलिसको कसैलाई डर छैन
मुठ्ठीमा देश मन्त्रीको मन्त्र
यस्तै भो भैरव, प्रजातन्त्र
अब म कस्तो तन्त्रको मन्त्र छरौँ ?
भैरव, म अब केमाथि व्यङ्ग्य गरौँ ? 

हिँड्दाहिँड्दै सडक भासिन्छ ढलभित्र छिरिन्छ
फुत्त निस्केर दौडिँदै गई सडककै कर तिरिन्छ
तराईका ठूला रुख ट्रक, ट्रयाक्टरमा भरिए
युवाजति साउदी, कतार, दुबईका गल्लीमा छरिए
देश कहिले कोशीमा बग्यो, गण्डकीमा छल्कियो
मुल्कोतिर ठेल्ने छिमेकी जाल फ्याँक्न पल्कियो

निडर हुनुपर्ने लिडरहरु देशको मिटर बुझाउन दौडिरहेछन्
व्यापारी नामका बेकारीहरु जनताकै आँशुमा पौडिरहेछन्
खोले नभेट्ने साहित्यकारहरु झोले बनेर डुक्रिए
‘अधिकारवादी’ डलरेहरु जुठो चाटेर उफ्रिए
‘समाजसेवी’ किर्नाहरु जनताकै शरीरमा गाडिए
देशभित्र कोही नेपाली छैन गुट गुटमा बाँडिए
देशप्रेमको गास घाँटीमा अड्कियो थुक्ने या निल्ने थाहा छैन
जनता अरिङ्गाल बन्नुपर्ने रे टोक्ने या चिल्ने थाहा छैन
दार्नेहरुले चिल्न अह्राए खै चिल्ने या मिल्ने थाहा छैन
लाखको पलङबाट ‘छलाङ’ मार्नेलाई के म पहिले चिल्न सुरु गरौँ ?
भैरव तिमी नै भन म अब केमाथि व्यङ्ग्य गरौँ ?


तल्लापट्टि व्यङ्ग्य गरौँ, आसन हल्लिन्छ, रासन छेकिन्छ
माथ्लापट्टि व्यङ्ग्य गरौँ वष्त्र छेकिन्छ अष्त्र देखिन्छ
मंगलमुखी हरुले जंगलमुखी बनाइदिए
रकेट उडाए बिष्टा झारिदिए
देशको क्लिभेज उदाङ्गो पारिदिए
नग्न बनाएर हात थापिरहेछन्
तिनै तस्वीर अखबारमा छापिरहेछन्
तिमीलाई थाहा छ भैरव
सदियौँदेखि यसरी नै मागिरहेछन्

सिङ्गापुर भन्नेहरु सिङ्गै पुरिने बेला भयो
समृद्ध सपना, मगन्ते विपना राष्ट्रवाद खेला भयो

सुतौँ...
सुत्दा पोल्छ छाती
उठ्दा तनाव नानाभाँती
चिन्ताबाट सुरु भएको बिहानी
तनावको तकियासाथ तन्किन्छ
अरिङ्गाल बनाउने झिँगाहरुको 
राष्ट्रवाद भनन्नन... भन्किन्छ 

तिम्रो छातीमा पोल्यो देशले
हाम्रो छातीमा सल्कियो
पराल खोज्दै आगो झोस्ने 
पहिल्यैदेखि पल्कियो
तैपनि फिस्स हाँस्यौ, स्वदेशमै रमायौँ

हामी त न स्वदेशी, न विदेशी, अदेशी भयौँ
कस्तो राष्ट्रवाद यो फोक्सोमा भरौँ ?
नेपाली हुनुको गौरवका खुट्किला माथि चढौँ या तल झरौँ            
प्रिय भैरव...
जरुर भनिदेऊ...
म अब केमाथि व्यङ्ग्य गरौँ ???


 

अन्तिम अपडेट: चैत १६, २०८०

3 Comments

  • देबी प्रसाद खनाल

    Sept. 29, 2018, 3:17 p.m.

    भैरवले देख्दैनन्,ब्यङ्य गरिएका ले पढ्दैनन्,पढेे रिसाउछन् हामीजस्ताकाे जिन्दगी त्यत्तिकै खेर जानेभाे,...चिण्डाे उँधाे न उँभाे।

  •  0 Reply
  • याेगेन्द्र दनहाल

    Sept. 29, 2018, 1:07 p.m.

    कविता मन पर्ने छ।तपाईं भाइ भैरव।याे बङ्ग्यकाे बिधामा तपाईबाट अरु कविता जन्मिन सकुन ,हाम्राे शुभकामना ।

  •  0 Reply
  • Pratap Pandey

    Sept. 29, 2018, 12:04 p.m.

    This is an amzing Kubita by Anil brother, keep up! Its a dark true yet je presented it in a funny way!

  •  0 Reply

तपाईको प्रतिक्रिया