मानो पुरा नभएर होला मलेसियामा त्यो दिन बाँचियो

 असोज १३, २०७५ शनिबार १२:१८:४९ | मेरो कथा मेरो भोगाई

विष्णुराज थापा क्षेत्री । 

अहिले म भारतको मुम्बईमा छु । तर केही वर्ष पहिला म मलेसिया गएको थिएँ । म मलेसियाको सेलेङगर भन्ने ठाउँमा काम गर्थें । आइतबार काम बिदा हुन्थ्यो । बिदाको दिन कहिले काहीँ घुम्न बाहिर निस्किन्थ्यौं । 

एक पटक बिदाको दिन साथीसँग भेट्न नजिकैको बजारसम्म पुग्नु थियो । गुल्मीको एक जना साथी र म जाँदा ट्याक्सीमा गयौं । साथीसँग भेटेर दुई घण्टापछि फर्किने भयौं । जाँदा ट्याक्सीमा गएकाले फर्किंदा हिँडेरै फर्किने भयौं । 

बाटोको एक ठाउँमा झाडी थियो । हामी त्यहाँ आइपुगेपछि तीन चार जना मान्छे त्यही झाडीबाट निस्किए । उनीहरुले साथीको घाँटीमा तरवार तेस्र्याए अनि लाइटर आडा भनेर सोधे । उनीहरुको भाषाले उनीहरु तमिल हुन भन्ने हामीले ठम्यायौं । हामीले लाइटर छैन भन्यौं । 

उनीहरुले हाम्रो खानतलासी गर्न थाले । तीमध्ये एक जनाले हामीसँग भएका मोबाइल, सामान निकाल्न थाल्यो । मेरो पर्समा भएको नेपाली पैसा पनि छोडेनन् तिनीहरुले । उनीहरुले त्यो पनि मलेसियाकै रिंगिट भन्ने सोचे होला ।

अँध्यारो पनि भइसकेको थियो । गर्धनमा तरवार थियो । यदी थोरै मात्रै चलाइदिएको भए हामी सकिन्थ्यौं । भएको सबै लुटेपनि धन्न तरवार चाहिँ चलाएनन् । हामी बाँच्यौं । 

सायद मानो पुरा भएको थिएन होला । त्यही भएर बाँच्यौं । अहिले त्यतिबेला बोनसमा पाएको त्यही जिन्दगी जिउँदैछु । अहिले पनि बसाइ त परदेशमै छ, भारतमा । कहिलेकाहीँ त यसरी परदेश हिँड्दा हिँड्दै पराइभूमीमै प्राण त्याग्नुपर्ने हो कि भन्ने लाग्छ । त्यसैले सरकारलाई म नेपालीका यस्ता दिन अन्त्य गर्दै देशमै रोजगारीको वातावरण बनाइदेओस भन्न चाहन्छु । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

2 Comments

  • Raaz Lama

    Oct. 7, 2018, 4:56 p.m.

    हावापानी र भौगोलिक हिसाबले मलेसिया राम्रो देश भए पनि सुरक्षाको हिसाबले यो देश रोजगारीको लागि अरु देशहरु भन्दा धेरै नै चुनौतीपूर्ण देश भएको नेपाल सरकारलाई र रोजगारमा जाने कामदार आफैलाई थाहा हुँदा हुँदै फेरि पनि यहीँ देशमा आफ्नो श्रम बेच्न नेपाली युवाहरू तछाड मछाड गरिरहेका छन् ! यो देशको सुरक्षानितिको बारेमा अन्तर्राष्ट्रिय मानवअधिकार संगठनका पहलमा अन्तर्राष्ट्रिय बहस हुन जरुरी देखिन्छ ! होईन भने यो देशमा बिदेशी कामदार बराम्बार लुटियो र मारियो भन्ने समाचार सुन्नु कुनै नौलो र अनौठो मान्नुपर्ने अवस्था देखिदैन !

  •  0 Reply
  • kailo kaji

    Sept. 30, 2018, 8:16 a.m.

    मलेसियामा तेस्ता घटना त सामान्य हुन।।पहिला कुटाइ खायर बल्ल लुटिने चलन रहेछ यहाँ ।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया