पोखरामा फेरि अर्की बालिका बलात्कृत !

 असोज १३, २०७५ शनिबार १८:३३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको पुम्दिभूम्दिमा बालिका हत्याको घटना सेलाउन नपाउदै अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ ।

१५ वर्षका किशोरले ७ वर्षकी बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ । किशोरले असोज ६ गते ‘नुहाउन जाऔं’ भनेर झरनामा लगेर बलात्कार गरेको भए पनि ४ दिनपछि मात्रै घटना प्रहरी समक्ष पुगेको छ ।

असोज ६ गते दिउँसो १२ बजेतिर मिस्त्री काम गर्ने बाबु काममा निस्किएपछि आमाले नजाउ भन्दाभन्दै ती किशोरसँग नुहाउन गएकी बालिकालाई किशोरले जबरजस्ती गरेपछि फकाउन मिठाई दिएको प्रहरीले जनाएको छ । 

घरमा फर्केपछि पनि बालिकाले कसैलाई केही नभनेको तर घर फर्केदेखि नै असहज व्यवहार देखाएकी तथा राति सुत्नेबेलामा पनि बढी चलमलाउन थालेपछि बाबु आमाले निकै कर गरेर सोध्दा दुईदिनपछि मात्रै बालिकाले घटनाबारे बताएको पारिवारीक स्रोतले जानकारी दिएका छन् । त्यसपछि बालिकाको परिवारले पश्चिमाञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डाक्टरले पनि बलात्कार भएको प्रमाणित गरिसकेका छन् । 

असोज १० गतेमात्र प्रहरीमा उजुरी दिएको र किशोरलाई प्रहरीले पक्राउ गरेको छ । तर नाबालक भएका कारण छुट्टै कक्षमा परामर्श गरेर राखेको प्रहरीले जनाएको छ । कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले बालकले घटना स्वीकार गरे पनि नाबालक, नाबालिका भएको कारण बलात्कार नभइ बाल यौन दुव्र्यवहार भएको र सजायको हकमा बयस्क व्यक्तिको तुलनामा आधा हुने बताउनुभयो । 

त्यसअघि बालिकाका बाबुआमाले किशोरलाई केरकार गर्दा सुरुमा स्वीकार नगरे पनि फकाएर धेरै पटक सोधेपछि आफूले गल्ती गरेको बताएका थिए । घटना सार्वजनिक भैसकेपछि किशोरकी दिदीले बालिकालाई सिन्दुर लगाएर बुहारी बनाएको तर बालिकाको परिवारले त्यसलाई स्वीकार नगरेको समेत बताइएको छ । 

अहिले घटना प्रहरीले अनुसन्धान गरिरहेको छ । २ कक्षामा पढ्ने बालिकालाई बलात्कार गरेको किटानी जाहेरी लिएर प्रहरीले किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी रानाले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया