ब्राजिल विश्वकपका केही रोचक प्रसंग

 जेठ २३, २०७५ बुधबार १५:४५:४९ | एजेन्सी

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप आउन अब एक साता मात्रै बाँकी छ । विश्वको सबैभन्दा लोकप्रिय खेल र त्यसको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता रुसमा आयोजना हुँदैछ ।

विश्वकपका सबै संस्करण सम्झन लायक हुन्छन् । प्रत्येक संस्करणमा खेलाडी, टिम, फ्यान, प्रशिक्षकलगायत जो यो खेलसँग सम्बन्धित छन्, उनीहरुको क्रियाकलापले यो फुटबल महाकुम्भको स्तर अझ बढाइरहेको छ । त्यसैले त झन् बढी लोकप्रिय बनाइरहेको छ । सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजना गर्यो । विश्वकपको उपाधि जर्मनीले जित्यो । तर उपाधिसँगै प्रतियोगितामा यस्ता धेरै महत्वपूर्ण घटनाहरु भए जुन अनन्तकाल सम्म चर्चाको विषय रहनेछ ।

ब्राजिल विश्वकपका ७ महत्वपूर्ण घटना यहाँ प्रस्तुत छ ।

१. मारियो गोट्जेको गोल

मारियो गोट्जे विश्वकपको खेलका सुरुवाति केही खेलहरुमा पहिलो एघारमा परे पनि उनी धेरैजसो खेलमा बेन्चमा नै बसे ।

अर्जेन्टिनाविरुद्धको फाइनलमा क्लोसेको स्थानमा ८८ औं मिनेटमा मैदान प्रवेश गरेका गोट्जेको त्यो गोल जसले जर्मनीलाई सन् १९९० पछि पहिलो पटक विश्वकपको उपाधि जितायो भने गोट्जेलाई सँधै सम्झिने फुटबर समेत बनायो ।

२. ब्राजिलमाथि जर्मनीको गोल ‘अत्याचार’

सेमिफाइनलमा ब्राजिल र जर्मनीबीचको म्याच विश्वकप इतिहासकै अविस्मरणीय तथा अविश्वसनीय म्याच थियो । पाँच पटकको विश्व विजेता ब्राजिल आफ्नै मैदानमा तीन पटकको विश्व विजेता जर्मनीसँग पराजित हुनु ठूलो कुरा होइन । तर जर्मनीले हात पारेको ७–१ को जित विश्वकप इतिहासकै सबैभन्दा ठूलो अन्तरको सेमिफाइनल जित हो ।

ब्राजिलका लागि सबैभन्दा घातक त्यो १८ मिनेट बन्यो, जसमा उसले ५ गोल खाएको थियो । ११ मिनेटमा पहिलो गोल खाएको ब्राजिलले २३, २४, २६ र २९ मिनेटमा गोल खाँदा ‘बेलो होरिजोन्टे’ स्तब्ध भयो ।

३. क्लोसको विश्वकप कीर्तिमान

जर्मनीका मिरोस्लाभ क्लोस ब्राजिल विश्वकपमा ब्राजिलियन रोनाल्डोको कीर्तिमानी गोल संख्याभन्दा एक गोलले पछि थिए । भेट्रान स्टाइकर क्लोसले घानासँग २–२ गोलको बराबरी नतिजा ल्याउने क्रममा एक गोल गर्दै रोनाल्डोको १५ गोलको कीर्तिमान बराबरी गरे ।

ब्राजिलविरुद्धको सेमिफाइनलमा ७–१ को जित हात पार्ने क्रममा क्लोसले जर्मनीका लागि २३ औं मिनेटमा दोस्रो गोल गर्दै क्लोसले विश्वकपमा १६ गोलको कीर्तिमान आफ्नो नाममा सारे ।

४. रोबिन भान पर्सीको अविस्मरणीय गोल

रोबिन भान पर्सीले स्पेनविरुद्ध गरेको यो गोल प्रतियोगिताकै सर्वोत्कृष्ट गोल थियो । स्पेनले १ गोलको अग्रता लिएको खेलको ४५ औं मिनेटमा डेले ब्लाइन्डको लामो प्रहारलाई भान पर्सीले उत्कृष्ट हेडर गोल गरेका थिए । उनको त्यो गोल सामाजिक सञ्जालमा ‘नाटकीय’, ‘अविश्वसनीय’ जस्ता प्रतिक्रिया भाइरल भए ।

उनलाई ‘फ्लाईङ डचम्यान’को उपमा समेत दिइएको थियो । त्यो खेलमा नेदरल्याण्ड ५–१ ले विजयी हुँदा भान पर्सीले २ गोल गरेका थिए ।

५. टिम हवार्ड र गुइलेर्मो ओचोवाको लोभलाग्दो गोलकिपिङ

गोलकिपरको भूमिका निकै महत्वपूर्ण हुन्छ । अमेरिकी गोलकिपर टिम हवार्डले ब्राजिल विश्वकपमा कीर्तिमान नै कायम गरे ।

प्रिक्वार्टरफाइनलमा बेल्जियमविरुद्ध चलेको १२० मिनेट खेलमा हवार्डले १६ उत्कृष्ट बचाउ गर्दै विश्वकपमा इतिहास रच्न सफल भए । तर अतिरिक्त समयमा उनले २ गोल खाएपछि बेल्जियमले खेल २–१ ले जित्यो ।

गोलकिपरको कुरा गर्दा गुइलेर्मो ओचोवाको प्रदर्शन सम्झनलायक थियो । आयोजक ब्राजिलविरुद्धको खेलमा मेक्सिकोका गोलकिपर ओचोवाले उत्कृष्ट प्रदर्शन गरे । चारवटा उत्कृष्ट सेभ गरेको ओचोवा सबै सञ्चारमाध्यमहरुमा हेडलाइन बने । त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

६. कुलिङ ब्रेक

फुटबलको इतिहासमा ब्राजिलमा पहिलो पटक कुलिङ ब्रेकको थालनी गरियो । फिफाले रंगशालामा तापक्रम ३२ डिग्रीभन्दा माथि पुगेपछि दुवै हाफको ३० मिनेटमा कुलिङ ब्रेक राख्न सकिने भनेपछि फोर्टेलेजामा भएको मेक्सिको र नेदरल्याण्ड यो सुविधाको सदुपयोग गरे ।

३० औं र ७५ औं मिनेटमा भएको कुलिङ ब्रेकमा खेलाडीले पानी पिउने र तीन मिनेट आराम समेत गर्न पाएका थिए । 

 
७. थोमस मुलर र जेर्दान शाकिरीको ह्याट्रिक

ब्राजिल विश्वकपमा दुईवटा ह्याट्रिक भएका थिए । थोमस मुलरले पोचुर्गलविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । समूह सीको पहिलो खेलमा नै क्रिष्टियानो रोनाल्डोको टिमलाई स्तब्ध बनाउनका लागि मुलरले १२ औं मिनेटमा पेनाल्टी, पहिलो हाफको इन्ज्युरी समय र ७८ औं मिनेटमा गरी ह्याट्रिक गरेका थिए ।

समूह ई अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डका स्ट्राइकर जेर्दान शाकिरीले होन्डुरसविरुद्ध ह्याट्रिक गरेका थिए । उनको ह्याट्रिकमा स्वीट्जरल्याण्डले ३–० को जित हात पारेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया