विदेश जानेहरुका कागज घरकालाई किन चाहियो भन्नेहरु फेरिँदै

 जेठ २३, २०७५ बुधबार १५:५६:४९
unn.prixa.net

सन्तोषकुमार राई । 

खोटाङ – ‘विदेश जानेहरुका कागजको फोटोकपी चाहिन्छ र । महिनामा तलब पठाएकै छ सञ्चो बिसञ्चो थाहा छँदैछ अनि किन चाहियो कागज ?’ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका अर्जुन खड्कालाई विदेश जानेका कागजपत्र परिवारले राख्नुपर्छ भन्ने थाहा थिएन । राख्नुपर्छ भन्ने पनि लाग्दैनथ्यो । 

वडा नम्बर ७ चिउरीडाडाँकी रमन राईका श्रीमान पनि कतार गएको ६ वर्षभन्दा धेरै भयो । तर उहाँसँग पनि श्रीमानका कुनै कागजपत्र थिएनन् । कागजपत्र राख्नुपर्छ भन्ने उहाँलाई पनि थाहा थिएन । 

यो दुई महिना अघिको कुरो । अहिले त अवस्था फेरिएको छ । कागजपत्रको के काम भन्ने अर्जुन खड्काले यसको काम थाहा पाउनुभएको छ अनि रमन राईले पनि परदेशीका परिवारले उनीहरुका कागजात राख्नुपर्ने रहेछ भन्ने बुझ्नुभएको छ । 

यो परिवर्तन नवकिरण सेवा समाज नेपालले सुरक्षित अप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालन गरेको अभिमुखिकरणपछि उनीहरुको सोच फेरिएको हो ।अभिमुखिकरणमा कागजपत्रको महत्व, विदेशमा समस्यमा पर्दा त्यसले पुग्ने सहयोग लगायतका विषयमा जानकारी गराएपछि उनीहरु फेरिएका हुन् ।

कक्षामा सहभागीलाई नै सामाजिक नक्सा बनाउन सिकाइएको थियो । नक्सामा कुन घरका व्यक्तिले विदेश जाँदा कागजपत्र छोडेका छन, करार अवधिमै फर्किएका छन कि छैनन, भागेर काम गरेका छन कि छैनन भन्ने कुराको संकेत गर्न लगाएपछि उनीहरु सचेत भएको परामर्शकर्ता तारानाथ फुयलले बताउनुभयो । यसले आफूलाई कागजपत्र नछोडेकाहरुसँग मगाउनुपर्ने, विदेश जानु अघि नै सिप सिकेर मात्रै जानुपर्ने कुरा थाहा पाएको रमन राईले बताउनुभयो । 

अहिले त अर्जुन खड्कासँगै गाउँका धेरैको बुझाइ फेरिएको छ । कागजपत्रसँगै विदेश जानु अघि र गइसकेपछि सावधानी अपनाउनुपर्ने कुरा बुझेपछि मझुवागढी नगरपालिका – पल्कुका १२ परिवारले विदेशमा रहेका परिवारका सदस्यसँग कागजपत्र मगाएका छन् । २३ परिवार रहेको गाउँका १३ घरबाट विदेश गएकामा बाँकी एक घरका परिवारले पनि कागजपत्र मगाएको पल्कु टोल विकास संस्थाका संयोजक दिनेश सुवेदीले जानकारी दिनुभयो । 

यस्तै खरबारी टोलका ३० परिवारमध्ये १४ परिवारबाट विदेश गएका छन् । तीन महिनाअघि कक्षा सञ्चालन गर्दा एक जनाले पनि कागज नछोडेमा अहिले ११ परिवारले कागजात मगाएको रिटर्नी स्वयमसेवक मानबहादुर भुजेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया