विदेशबाट फर्कनेको तथ्याङ्क राख्न थालियो

 असोज १५, २०७५ सोमबार १०:१६:८ | रीतु थेबे

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केर आउनेको तथ्याङ्क राख्न थालिएको छ । सरकारले सञ्चालनमा ल्याएको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस)मा सोमबारबाट विदेशबाट फर्केर आउनेको तथ्याङ्क राख्न थालिएको हो । 

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असोज १६ गतेदेखि प्रणाली पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । श्रममन्त्री गोकर्ण विष्टले भदौ २५ गते पत्रकार सम्मेलन गरेर प्रणाली आंशिक रुपमा सञ्चालनमा आएको र असोज १६ देखि पूर्ण रुपमा सञ्चालनमा आउने घोषणा गर्नु भएको थियो । 

मन्त्रालयले घोषणा गरेको मिति भन्दा एक दिन अघि नै प्रणाली पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो । सूचना व्यवस्थापन प्रणालीको सोमबार नै मन्त्रालयका सचिव महेशप्रसाद दहालले शुभारम्भ गर्ने कार्यक्रम छ ।  

प्रणालीमा वैदेशिक रोजगारीमा जाने तथा गएर फर्किने कामदार र रोजगारीका सबै विवरण उल्लेख गरिने छ । विदेशबाट फर्केर आउनेको लगत पहिलो पटक राख्न थालिएको हो । यसअघि विदेश जानेको मात्रै तथ्याङ्क राख्ने गरिन्थ्यो । विदेशबाट फर्कने र नयाँ जाने कामदारको तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन डेस्कले राख्ने छ । 

प्रणाली अन्तर्गत श्रम मन्त्रालय र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर सेवा विभाग, अध्यागमन, विदेशमा रहेका नेपाली नियोग, म्यानपावर कम्पनी, बैंक, बीमा कम्पनी, स्वास्थ्य परीक्षण गर्ने संस्था तथा अभिमुखीकरण तालिम दिने संस्था जोडिएका छन् । 

वैदेशिक रोजगारीमा जान लागेका र काम गरिरहेका कसैले उजुरी वा गुनासो गरेमा पनि अनलाइन सिस्टमबाट थाहा पाउन सकिनेछ । यस प्रणालीबाट मन्त्रालय अन्तर्गतका कुन संस्थाका फाइल तथा काम कहाँ पुगेको छ र प्रक्रिया के भैरहेको छ भन्ने जानकारी पनि लिन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसअघि नै वैदेशिक रोजगारी नामको मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरेको छ ।

याे पनि पढ्नुहाेस् 

वैदेशिक रोजगारीमा ४३ लाख नेपाली : विशुद्ध हवाई गफ

अन्तिम अपडेट: चैत १२, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया