शिक्षामा सघाउँदै हास्यकलाकार, कसले कसलाई पढाउँदै ?

 जेठ २३, २०७५ बुधबार १७:४९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

विभिन्न कलाकारहरुले सरकारको १ व्यक्ति १ विद्यार्थी भर्ना कार्यक्रमलाई साथ दिन विभिन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

हालै हास्य कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले दुई बालबालिकाको शिक्षादीक्षाको जिम्मेवारी लिएका छन् ।

उनीहरुले सरकारको १ व्यक्ति १ विद्यार्थी भर्ना कार्यक्रमलाई साथ दिने क्रममा यस्तो जिम्मेवारी लिएका हुन् । सिन्धुपाल्चोकका अभि ब्लोन र कञ्चन भुजेललाई १० कक्षासम्म पढाउने जिम्मा अर्जुन र कुमारले लिएका छन् ।

दुवै बालकहरुलाई सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल–८, मा रहेको श्री लागर्छे माविमा भर्ना गरिएको छ । 

सरकारको यो अभियानमा साथदिने पाँडे र जिग्रीमात्रै होइनन् । यस अघि नै केही हास्यकलाकारहरुले केही बालबालिकालाई पढाउने जिम्मा लिइसकेका छन् । 
कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कोहलपुरका आठ दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाउने जिम्मेवारी लिएका छन् ।

सरकारको ‘राष्ट्रिय भर्ना अभियान’ लाई साथ दिँदै मह जोडीले कोहलपुरमा रहेको समता स्कूलमा अध्ययन गर्ने कृति गन्धर्व, निशा परियार, वर्षा गन्धर्व, टीका सुनार, सुमित्रा परियार, कृतिका सुनार, पुष्पा परियार र सुजाता विकको पढाईका लागि अभिभावकत्व ग्रहण गरेका हुन् ।

उत्तम सञ्जेलले सञ्चालन गरेको समता स्कूलका संरक्षक मह जोडी पनि हुन् । महजोडीले वैशाखमा कोहलपुर पुगेर आठ दलित समुदायका छात्राहरूलाई स्नातकोत्तरसम्म पढाउने सम्पूर्ण जिम्मेवारी लिएका थिए ।

यसैगरी, कलाकार दीपक राज गिरीले यसअघि नै केही बालबालिकालाई पढाईरहेका छन् । उनले शिक्षामा सरकारको यो योजना आउनुअघिदेखि ८ जना अनाथ बालबालिकाको शिक्षाको खर्च बेहार्दै आएका छन् । उनको यो काममा निर्देशक दीपाश्री निरौलाले पनि केहीहदसम्म सघाउँदै आएकी छिन् ।

शिक्षाबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर सरकारले गरेको अपिलअन्तर्गत नै हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले एकजना बालकलाई पढाउने जिम्मा लिएका छन् । उनले सर्लाहीका १३ वर्षीय इन्ताज मोहसिन लाई पढाउने जिम्मालिएका हुन् ।

इन्ताजका बुवाको निधन भईसकेको छ भने उनकी आमा इँटाभट्टामा काम गर्दै आएकी छिन् । इन्ताज वर्षांैदेखि ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको एक मोटरसाइकल वर्कशपमा हेल्परको रुपमा काम गर्दै आइरहेका छन् । 

अर्का कलाकार जितु नेपालले सिन्धुपाल्चोकको ज्ञानमन्दिर नमुना माध्यमिक विद्यालय साँगाचोक मा कक्षा ५ मा अध्यनरत सोम बहादुर तामाङलाई पढाउने जिम्मा लिएका छन् । सोमले सानै उमेरमा आमा गुमाएका थिए । एक जनादिदीको विवाह भईसकेको छ र अहिले उनी विपन्न परिवारमा एक्लो बाबुसँग बसिरहेका  छन् ।

जितुले उनको कक्षा १२ सम्म पढ्दा स्कूलको मासिक शुल्क, वर्षको २ जोर ड्रेस सहित कापीकलम र खाजाखर्च समेत व्यहोर्ने गरी अभीभावकत्व ग्रहण गरेका हुन् ।
कलाकार शिवहरि पौडेलले धादिङकी एक बालिकालाई पढाउने जिम्मेवारी लिएका छन् । 

उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया