अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन

 असोज १५, २०७५ सोमबार १७:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सार्वजनिक लेखा समितिले चिनीलगायत दसैंका लागि अति आवश्यक बस्तुहरुमा गरिएको अस्वाभाविक मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यक बस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

दसैंको मुखैमा अतिआवश्यक बस्तुहरुको अस्वभाविक मूल्य वृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिनुभयो । बैठकले कालो बजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ ।

समितिले दसैंको बस टिकटमा कृतिम अभाव सृजना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कारबाही गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ ।

यात्रुहरुलाई सहज ढंगले यात्रा गर्न पाउने गरी दसैंमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको सभापति शाहले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले व्यवसायीहरुले सरकारलाई समेत झुक्याएर चिनीको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो । समितिका सदस्य विरोध खतिवडाले आयातमा रोक लगाएर चिनीको मूल्य वृद्धि गरिएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले उखु किसानहरुको बक्यौता रकम तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । समितिका अर्का सदस्य हृदयश त्रिपाठीले चिनीको मूल्य वृद्धि गरेर सरकारले निर्लज्जता प्रस्तुत गरेको स्पष्ट पार्नुभयो ।

समितिका सदस्यहरुले मूल्य वृद्धि गर्ने तर त्यसको चित्त बुझ्दो जवाफ नदिने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया