धारामा पानीभन्दा हावा बढी : एकै महिनामा उठ्यो ४९ हजारको बिल

 असोज १६, २०७५ मंगलबार १४:१६:५३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — तपाईँलाई पत्यार नलाग्ला ! नेपालमा एउटा धारमा आएको खानेपानीको मूल्य एक महिनामा ४९ हजार रुपैयाँ पुग्यो भनेर ।

तर पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा वितरण हुँदै आएको खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एउटा धाराको पानी प्रयोग गरेबापत झण्डै ५० हजार रुपैयाँ भएको बिल उपभोक्तालाई थमाएको छ ।

संस्थाले आफू खुशी महशुल बढाएको कारणले एउटै धाराको दोब्बरभन्दा बढी महशुल बिल आउन थालेको भन्दै सर्वसाधारणहरु आक्रोशित भएका हुन् । त्यस्तै खाँदबारीमा रहेको जिल्ला कारागारमा पनि अत्याधिक बिल आएको भन्दै स्थानीय अचम्मित भएका छन् । जिल्ला कारागारमा एउटा धाराको भदौ महिनाको महशुल ४८ हजार दुई सय २५ रुपैयाँको आएको छ ।

एउटा धारामा एक महिनामा कसरी यति धेरै महशुल आयो भनेर सुन्दा समेत धेरैलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । मिटर बिग्रेको हो कि भनेर नयाँ मिटर जडान गर्दा समेत महसुल नघटेपछि पानीको महशुल बिल नै आएको रहेछ भन्ने आफूलाई लागेको जिल्ला कारागारका प्रमुख विनोद अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खानेपानी संस्थामा कसरी यति धेरै बिल आयो भनेर कुरा गरेँ, त्यसको केही उपाय नलागेपछि महशुल तिर्न बाध्य भयौं ।’

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धारामा पानीको सट्टा हावा आउँदा पनि मिटर घुम्ने भएकाले पानीभन्दा हावाको शुःल्क तिर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी श्याम सारु मगरले बताउनुभयो । ‘हावाको पैसा कसरी तिर्ने, हामीले गाडी र ट्याङ्करबाट पानी बोकेर काम चलाइरहेका छौं’, उहाँले भन्नुभयो ।

खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गएको साउनदेखि खानेपानीको शुःल्कमा ५३ प्रतिशत वृद्धि गरेको छ । न्यूनतम पाँच युनिटसम्म प्रतिमहिना १ सय ५० रुपैयाँ तिर्दै आएका उपभोक्ताले शुल्क वृद्धिपछि २ सय ३० रुपैयाँ पुगेको छ ।

६ देखि १० युनिटसम्म प्रतियुनिट ४५ रुपैयाँ तिर्दै आएकाले ७० रुपैयाँ तिर्नुपर्ने भएको छ । ११ देखि २० युनिटसम्म प्रतियुनिट १ सय ५ पुगेको छ । मासिक पाँच सय तिर्दै आएका खाँदबारी–३ का उपभोक्ता छत्रमणि ओझाले तीन हजार रुपैयाँभन्दा माथि पुगेको गुनासो गर्नुभयो ।

खानेपानीको महशुल बढेपछि उपभोक्ताहरुले आफूहरुसँग छलफल नै नगरी शुःल्क बढाएको भन्दै समितिलाई दबाब दिन हस्ताक्षर संकलन गरेर बुझाइ सकेका छन् । संस्थाले तीन हजार ५ सय ९९ उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य राखे पनि अहिलेसम्म दुई हजार वटा मात्र धारा जडान गरेको छ ।
एडीबी र नगर विकासको ऋण चुक्त्ता गर्नुपर्ने भएकाले महशुल बिल बढाउन आफूहरु बाध्य भएको खानेपानी समितिका पदाधिकारीहरुले बताएका छन् । आयोजना निर्माणको चरणमा पटक–पटक डिजाइन परिवर्तन हुदाँ २५ प्रतिशत खर्च बढेकाले नगर विकास कोषसँग ऋण सम्झौता गर्दा शुःल्क वृद्धि गर्ने सहमति गरिएको संस्थाका अध्यक्ष नरेन्द्र राईले बताउनुभयो ।

अहिले भेरिएसन अर्डर र मूल्य समायोजनसहित आयोजनाको खर्च रकम झण्डै ४६ करोड ५१ लाख रुपैयाँ पुगेको जनाएको छ । सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा खानेपानीको समस्या भएपछि ४३ किलोमिटर टाढा माङसिमाको सिमाली खोलाको मुहानबाट पानी ल्याइएको छ ।

मुहान टाढा भएकाले पाइट फुट्ने बिग्रने गर्दा नियमित खानेपानी समेत वितरण हुन सकिरहेको छैन । 

जिल्ला कारागारमा भदौ महिनामा आएको खानेपानीको बिल 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया